लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा गर्न बचत तथा ऋण सहकारीहरूलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरूलाई आग्रह गर्नुभएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसमा उद्घाटन मन्तव्य दिनुहुँदै उनले यस्तो बताए ।
बचत तथा ऋण सहकारीहरूले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले सोधेका थिए । “तपाईंहरूको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।” उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरूहरूलाई आग्रह गर्नुभयो ।
“तपाईहरूका कुनै समस्या छन र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु ।” मन्त्री शर्माले भने, “तपाईहरूले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस् । कम्तीमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस् । गरिबी निवारणमा सहयोग गर्नुस् ।” सहकारीहरूले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म व्याज लिने गरेको सुन्नमा आएको भन्दै उहाँले त्यसलाई घटाउनुपर्ने बताए । कतिपय सहकारीहरूले जनताको पैंसा ठगेर उठिबास लगाएका घटनाहरू देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे । उनले सहकारीका संस्थापकहरूले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरू तथा प्रदेश र जिल्ला बचत संघहरूमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरू आबद्ध छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरूमा ३४ लाख व्यक्तिगत सदस्यहरू आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।





error: Content is protected !!