उपल्लो डोल्पामा निर्धक्क पढाइ

डोल्पा ः कोरोना महामारीका कारण सरकाले सबै विद्यालयमा पठनपाठन रोके पनि उपल्लो डोल्पाका ३ स्थानीय तहमा निर्धक्क विद्यालय खुलेका छन् । डोल्पोबुद्ध गाउँपालिका सबै विद्यालय खुलेका छन् भने छार्काताङसोङ र सेफोक्सुन्डो गाउँपालिकामा पनि अधिकांश विद्यालयमा पठनपाठन भइरहेको छ ।

ती विद्यालयमा चार महिनादेखि नियमित पठनपाठन भइरहेको हो । माथिल्लो डोल्पाका फागुनमा नयाँ शैक्षिक शत्र सुरु हुन्छ । स्थानीय पेमा गुरुङले डोल्पोबुद्धका सबै विद्यालय भौतिक रूपमै सञ्चालन गरिएको बताए । ‘यहाँ त वैशाखदेखि नै नियमित पठनपाठन भइरहेको छ,’ उनले भने, ‘शनिबारबाहेक हरेक दिन बालबालिकाहरू विद्यालय जान्छन् ।’

गाउँमा कोरोनाको लक्षणजस्ता केही बिरामी भए पनि चेकजाँच नभएकाले सबै काम नियमित भइरहेको उनले बताए । ‘तर दैनिकी उस्तै चलेको छ,’ उनले भने, ‘सबै काम नियमित छन् ।’ उनका अनुसार गत वर्षको कोरोना महामारीका पनि उपल्लो डोल्पामा विद्यालय बन्द भएका थिएनन् । जसका कारण गत वर्ष परीक्षाहरू समयमै भएको उनले जानकारी दिए । डोल्पोबुद्धमा ६ वटा विद्यालय छन् । १ नम्बर वडा बाहेक अरु सबै वडामा एकरएक विद्यालय छन् भने ६ नम्बर वडामा २ विद्यालय छन् ।

३ नम्बर वडाको क्रिस्टल माउन्टेनमा कक्षा ९, ५ नम्बर वडाको सिद्धार्थकुलामा कक्षा ८ सम्म र ६ नम्बर वडाको इन्द्रधनुष विद्यालयमा ६ कक्षासम्म पठनपाठन भइरहेको छ । अरु ३ विद्यालयमा बाल विकासको पढाइ हुन्छ । उपल्लो डोल्पाको छार्काताङसोङ र सेफोक्सुन्डो गाउँपालिकाका केही विद्यालयमा पनि पठनपाठन भइरहेको छ । तर त्यहाँका केही व्यक्तिमा कोरोना संक्रमित भेटिएपछि सबै विद्यालय नखुलेका हुन् । कोरोना संक्रमण भए पनि खासै असर नपरेको डोल्पोबुद्ध गाउँपालिकाका प्रवक्ता क्याल्पो थापा भोटेले बताए ।





error: Content is protected !!