द्वन्द्वपीडित , गर्भवती ,सुत्केरी ,जेष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा

रुकुम पश्चिम –  द्वन्द्वपीडित तथा विभिन्न लक्षित वर्गलाई नगर बस र एम्बुलेन्स निःशुल्क रुपमा प्रयोगमा ल्याइएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षको २०७८/ ७९ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम साउन महिनाबाटै नगरपालिकाले बस भाडा र एम्बुलेन्स भाडा नलिने भएको हो ।

विशेष अवस्थाका विभिन्न व्यक्ति र उनीहरूका परिवारलाई यो सुविधा दिने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अहिले ३ वटा नगर बस सञ्चालन गरिरहेको छ भने २ वटा एम्बुलेन्स नगरपालिकाले चलाउदै आएको छ  । सेवामा सहजता ल्याउन थप २ नगर बस खरिदको तयारी गरिएको नगरप्रमुख विशाल शर्माले बताउनुभयो  । उहाँका अनुसार गर्भवती र सुत्केरी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते, अपांग, सहिद परिवार र सहिद परिवारका सदस्यहरूले यो सेवा निःशुल्क सुविधा पाउने शर्माले बताउनुभयो  ।

यसैगरी पूर्ण अशक्त, अति अशक्त भएका व्यक्तिहरू र अति विपन्न परिचयपत्र प्राप्त गरेकालाई पनि निःशुल्क सेवा दिइने छ ।
नगर बस र एम्बुलेन्समा यात्रा गर्दा निःशुल्क सुविधा लिनका लागि केही मापदण्ड समेत निर्धारण गरिएको छ । सो सेवा पाउनका लागि निशुल्क पाउनुपर्ने वडा कार्यालयको सिफारिस, गर्भवतीलागि स्वास्थ्य संस्थामै गर्भ चेकजाँच गरेको र सुत्केरीका लागि स्वास्थ्य संस्थामै सुत्केरी भएको प्रमाणपत्र आवश्यक पर्ने छ ।

ज्येष्ठ नागरिकको हकमा पनि नगरपालिकाले प्रदान गरेको परिचयपत्रका आधारमा सवारीसाधान चढन पाइने छ । सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते तथा अपांगहरूको हकमा पनि उक्त पुष्टि हुने खालको परिचयपत्र चाहिने मापदण्डमा उल्लेख छ । यि सबै कागज हेर्ने जिम्मा चालक र सहचालकले नै गर्ने छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!