प्राविधिक नहुँदा काम गर्नै मुस्किल

-हेमन्त केसी
जाजरकोट – विद्युतको लाइन विस्तारसँगै प्राविधिकको संख्या वृद्धी भइ काम छिटो, छरितो हुनुपर्नेमा दैनिक कर्मचारी अभावले जाजरकोटमा समस्या हुँदै आएको छ ।

११ केभी प्रशारण लाइन जाजरकोट सदरमुकाममा आउदै गर्दा १७ जना कर्मचारीले धानेको काम अहिले लाइन विस्तार तीव्र भइरहदा कर्मचारीको संख्या घटेर १३ जनामा पुगेको छ । कुल दरवन्दी संख्या ३० जनाको भएपनि हाल १३ जना कर्मचारीहरु कार्यरत रहेका छन् । ५ जना करार , ६ ज्यालादारी , ३ स्थायी कर्मचारी जिल्लामा कार्यरत रहेको जाजरकोट विद्युत प्राविधिकरणका प्रमुख विशाल लामिछानेले बताउनुभयो ।

हाल सदरमुकाममा मात्र कार्यालय रहेकोले गाउँमा लाइन विस्तार भएसँगै त्यहाँका उपभोक्ताहरु सदरमुकाम आएर शुल्क तीर्न समेत समस्या भएको छ । १०० सय रुपैयाँ शुलक तीर्नका लागि १ हजार खर्च गर्नुपर्ने बाध्यता हुँदै आएको छ । विद्युतको अहिले छेडागाड नगरपालिकाको मोर्क , नलगाड नगरपालिकाको दल्लीमा नयाँ उपशाखा राख्ने तयारी भएपनि कर्मचारी नहुँदा समस्या हुँदै आएको छ ।

लाइन विस्तारको काम तिब्र भएपनि कर्मचारी अभावले गर्दा काम गर्न चुनौती थपिँदै आएको छ । जाजरकोट , सुर्खेतको आधा भाग , सल्यानको आधा भाग समेत विद्युत प्राविकरण जाजरकोटले नै लाइन मर्मतको काम गर्नुपरेको छ । भारी ठाउँमा लाइन बिस्तारको काम गर्नुपरेपनि सवारी साधनको नाममा एक मोटरसाइकल र एक थोत्रो गाडी बिग्रिएको अवस्थामा रहेको कार्यालयले जनाएको छ । फिल्डको काम गर्दा व्यक्तिगत सवारीसाधन प्रयोग गरेर खटिनुपरेको कार्यालयले दुखेसो पोखेको छ ।

विद्युत मर्मतको काम गर्ने दक्ष प्राविधिकको संख्या भएमा काम गर्न सहज हुने कार्यालयको भनाइ छ । जिल्लाको नलगाडको प्रशासकीय केन्द्र दल्ली , छेडागाडको प्रशासकीय केन्द्र छेडागाड , भेरीको अधिकांश वडामा लाइन विस्तार भएको छ । शिवालय ,जुनिचाँदेमा ठेकेदार शान्तबहादुर बस्नेतले काम नगर्दा मोर्क गएर लाइन बिस्तारको काम रोकिएको छ । कुशे र बारेकोटमा लाइन बिस्तारको काम जिल्ला समन्वय समितिका सदस्य तथा नेपाली कांग्रेसका नेता तेजविक्रम शाहले काम दुइ वर्ष देखि नगर्दा विद्युतीकारणको काम रोकिँदै आएको छ ।

प्रदेशबाट गरिएका ठेक्काहरुमा चरम लापरवाइ भएका कारण काममा ढिलासुस्ती हुँदै आएको छ । पहुँचको भरमा ठेक्का लिने तर बीचमै छोड्दा तोकिएको समयमा काम हुँन नसकेको हो ।





error: Content is protected !!