नार्ककै मकैको बीउमा घोगा नलाग्दा फाँडेर पशुचौपायको आहारा

-हेमन्त केसी
जाजरकोट – भेरी नगरपालिका- २ का स्थानीयबासीहरू मकैमा घोगा नलाग्दा मर्कामा परेका छन्। कृषि विकास कार्यालयले अनुदानमा दिएको मकैको बीउ रोपेका किसानहरू घोगा नलाग्दा पीडित भएका हुन्।

करिब २० लाख रुपैयाँ बराबरको अनुदान सहयोग लिएका बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा, तातोपानी र दारा लगायत क्षेत्रका सहकारी र कृषक समूहले लगाएको मकैमा घोगा नलाग्दा बोट नै फाँडेर पशुचौपायालाई खुवाएको कृषक बिर्खबहादुर कार्कीले बताए।

मकैको ब्लक क्षेत्रमा वितरण २० लाख रुपैयाँ रकममध्ये समूहलाई ३ लाख ५० हजारका दरले, व्यक्तिगत फारमलाई ५० हजार र सहकारीलाई ६ लाख रुपैयाँका दरले कृषि विकास कार्यालयले बजेट सहयोग गरेको थियो। उक्त बजेटमा कृषक समूह, सहकारीले समेत बजेटमा ५० प्रतिशत आफ्नो तर्फबाट रकम जम्मा गरेका थिए।

मकैको मूल बीउ दैलेखबाट ल्याएको र उन्नत बीउ रेडपाण्डा सहकारी संस्था भेरी- 6 तिलिङगेबाट ल्याएको कार्कीले बताए। मूल बीउ १०० किलो, उन्नत बीउ ५२० किलो खरिद गरेर ८५ जना कृषकलाई सानो चौतारी सहकारी संस्थाले बितरण गरिएको थियो।

अनुदान रकम पाएर उन्नत बीउ र मुल बीउको नाममा लगाएका अधिकांश अन्य ठाउँमा समेत यही समस्या आएको बताएको छ। बीउ दैलेख नार्कले उत्पादन गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र विकले बताए। मकैमा घोगा नलागेको सूचना आफूसम्म पनि आइपुगेकाले त्यसबारे अनुगमन हुने उनले बताए।

 





error: Content is protected !!