गोदाममै थन्कियो चामल ,नुन ः जनताले कहिले पाउने ?

हेमन्त केसी
जाजरकोट , २६ साउन ः कर्णाली प्रदेशले उपलव्ध गराएको कामका लागि खाद्यान्न कार्यक्रमको चामल डोल्पाका ४ स्थानीय तहमा कत्तै पुगेको छैन भने कत्तै आधा पुगेको छ । आर्थिक वर्ष २०७७/ ७८ विकास निर्माणको काम गरे बाफत गरिव तथा दलित समुदायलाइ बितरण गर्नुपर्ने उक्त चामल जगदुल्ला गाउँपालिकामा अहिले सम्मा पुगेको छैन ।

स्थानीयवासीले विकास निर्माणको काम गरेबार्फत प्रदेश सरकारले स्थानीय तहलाइ बजेट निकासा गरेको थियो । उक्त रकम पालिकाले सिधै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको खातामा निकासा गरी खाद्यान्न माग गरेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमै चामल ढुवानी नगर्दा काम गरेबाफत पाउनुपर्ने खाद्यान्न जगदुल्ला गाउँपालिकाका सर्बसाधारणले अहिले सम्मा पाउन नसकेका हुन् । प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीका अनुसार काम गरी सकेका जनताले चामल मागिँरहेका छन् तर चामल अहिले सम्मा आएको छैन ,समस्या भइसकेको छ । कहिले चामल पुग्न त्यो पनि थाहा हुन सकेको छैन ।
त्रिपुरासुन्दरी नगरपालिकामा चामल पुगेपनि अहिले बन्द कोठामा थनक्याएर राखिएको प्रमुख प्रशासकीय अधिकृत पित्रिभक्त गिरीले जानकारी दिनुभयो । आवको अन्तिमा प्रदेशले बजेट पठाएका कारण काम गर्न नसक्ने भएकाले सो चामल खरिद गरेर बन्द कोठामा थन्क्याएको उहाँले बताउनुभयो । अघिल्लो आवमा खरिद गरेको र बितरण गर्नुपर्ने खाद्यान्न आव २०७८/७९ मा काम गराएपछि मात्र चामल वितरण गरिने अधिकृत गिरीले बताउनुभयो ।
त्यस्तै मुड्केचुला गाउँपालिकामा ७० प्रतिशत मात्र चामल पुगेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनुभयो । ७८० क्वीन्टल चामलको कोटा निर्धारण गरिएको थियो । सबै चामल छिटो ल्याउनु भनि आफूले ताकेता गरेपनि अहिले सम्मा उक्त सबै चामल गाउँपालिकामा नपुगेको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
काइके गाउँपालिकामा चामल खरिद गरी बितरण गरेको गाउँपालिका अध्यक्ष अंगत राना मगरले बताउनुभयो । ३७२ क्वीन्टल चामल दलितलाइ ६० केजी ,निम्न बर्गलाइ ३० केजीका दरले बितरण गाउँपालिकाका १ हजार २३ घरधुरीलाइ समान तरकाले वितरण गरिएको बताउनुभयो ।
यार्सागुम्वा लगाएतका जडीवुटी संकलन गर्न नपाएका सर्बसाधारणलाइ लक्षित गरी दलित तथा निम्न बर्गका सर्बसाधारणलाइ कामको लागि खाद्यान्न नारा दिएर कर्णाली प्रदेश सरकारले डोल्पाका ४ वटा पालिकालाइ अनुदान रकम दिएको थियो ।
प्रदेशले जगदुल्लामा ५५० क्वीन्टल चामलको कोठा निर्धारण गरेको थियो । काइकेमा ३७२ क्वीन्टल , त्रिपुरासुन्दरीमा १११५ ÷६२ र मुड्केचुलामा ७८० क्वीन्टलको कोठा निर्धारण गरिएको थियो । प्रदेश सरकारले स्थानीय तहको खातामा निकासा गरेको रकम स्थानीय तहले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको खातामा जम्मा गरी चामल खरिद गर्ने सम्झौता गरेका थिए । उक्त सम्झौता अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो चामल स्थानीय तहमा लिएर बुझाउनु पर्ने सम्झौतामा उल्लेख छ ।

सदरमुकाम बाहिरका सबै खाद्य डिपो रित्तै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाको दुनै,जुफाल बाहेक अन्य सबै डिपो रित्ता रहेका छन् । नयाँ अन्न पाकि नसकेको र पुरानो सकिएको समयमा खाद्य डिपोहरु रित्तो हुँदा सर्बसाधारणहरु समस्या परेका छन् । सबै कुराले पहुँचमा रहेको सदरमुकाममा मात्र चामल पाइने तर गाउँका डिपोहरु रित्तो हुँदा सर्बसाधारणले चामल पाउन नसकेका हुन् ।

नयाँ चामल ढुवानीका लागि ठेक्का भइसकेको र दशै सम्मा मात्र नयाँ चामल ढुवानी हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख कमलराज पाण्डेले बताउनुभयो । लिकु , काइगाउँ , सहरताराका डिपोहरु रित्ता रहेका छन् । सडक सञ्जालले छुन नसकेको उपल्लो डोल्पामा खाद्य डिपोहरु पनि खाली रहेको छ । फोक्सुण्डो गाउँपालिकामा वडा ८ र ९ मा ३०० क्वीन्टल चामल वितरण कार्य जारी रहेको छ ।

१ हजार ५०० क्वीन्टल चामल फोक्सुण्डोमा वितरणको प्रदेशले उपल्वध गराएको कोटा भित्र रहेर लिँन बाँकी चामल बितरण भइरहेको छ । गत पुस , माघमा पहिलो चरणको चामल वितरण भएको थियो । हिमपातका कारण रोकिएको बाँकी चामल अहिले गइरहेको प्रदेशसभा सदस्या बीरबहादुर शाहीले बताउनुभयो ।

नयाँ चामल लिँनका लागि उपल्लो डोल्पाको तीन पालिकाका लागि प्रदेश सरकारको आर्थिक सहयोगमा बोलपत्र भइरहेको प्रदेशसभा सदस्य शाहीले जानकारी दिनुभयो । अहिले उपल्लो डोल्पामा खाद्यान्न नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कमलराज पाण्डेले बताउनुभयो । उपल्लो डोल्पामा अहिले उवा लगाएतका बाली हुकिरहेको छ । सिँचाइ सुविधा नभएको उपल्लो डोल्पामा वर्षेपानीको भरमा खेती हुँदै आएको छ । आलु , उवा र फापर लगाएका बाली मात्र वर्षेयाममा उपल्लो डोल्पामा उत्पादन हुने गर्दछ ।

आयोडिन यूक्त नुनको अवस्था
सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको ठाउँमा ढिके नुन नै प्रयोग गर्न बाध्य भएको यहाँका सर्वसाधारणले जानकारी दिएका छन् ।
जिल्लाका मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुल्ला गाउँपालिकाको काइगाउँ, त्रिपुरासुन्दरी गाउँपालिकाको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिन्जेमा आयोडिनयुक्त नुनको डिपो रहेको छ ।

त्यस्तै तिन्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाट वितरण हुने गरेको साल्टटेड्रिङ कर्पोरेशन लिमिटेड डोल्पाका प्रमुख प्रकाशबहादुर धामीले जानकारी दिनुभयो । वर्षेनि सदरमुकाम दुनै र जुफालबाट मात्र आयोडिनयुक्त नुन वितरण हुने गरेको उहाँको भनाइ छ ।

उपल्लो डोल्पाको तिन्जे डिपोमा जाने नुन केन्द्रीय कार्यालयले नै कोटा निर्धारण गर्दै आएको छ । चीनको बाटो हुँदै उपल्लो डोल्पाको क्याटो र तिन्जेमा नुन ढुवानी हुँदै आएको छ । अघिल्लो वर्ष कोभिडका कारण चीनले नाका नखोल्दा उपल्लो डोल्पामा आयोडिनयुक्त नुनको ढुवानी हुन नसकेको हो । यस वर्ष चीनबाटै त्यहाँ ढुवानी हुन सकेन । तल्लो तथा मध्य डोल्पामा नेपालगञ्जबाट नुन ढुवानी हुने गर्दछ ।

आव २०७७÷७८ लागि दुनैमा ३०० क्विन्टल, जुफालमा २०० क्विन्टल, त्रिपुरासुन्दरीको लिकुमा ४५० क्विन्टल, मुड्केचुलाको सर्मीमा ३०० क्विन्टल र जगदुल्लाको काइगाउँमा २५० क्विन्टल आयोडिनयुक्त नुनको कोटा निर्धारण गरिएको थियो तर सदरमुकाम बाहेक बाहिरका ठाउँमा ठेक्का नपर्दा सो ठाउँमा नुन ठुवानी हुन सकेको थिएन । अघिल्लो र यस आर्थिक वर्षमा सदरमुकाम दुनै र जुफालमा मात्र आयोडिनयुक्त नुन बिक्री वितरण हुँदै आएको छ । दुर्गम तथा पिछडिएका जिल्लामा सरकारले ढुवानी भाडासहित नुन अनुदानमा दिँदा प्रतिपोका रु ९ मा बिक्री हुँदै आएको छ ।

सदरमुकाम बाहिरका मुड्केचुला गाउँपालिका १५० क्वीन्टल नुन आफैँले ढुवानी र खरिद गरेर विबतरण गरेपनि अन्य ठाउँमा शुन्य रहेको थियो । अन्य स्थानीय तहले नुनको आवश्यकताका विषयमा कुनै पनि चासो नदिएको प्रमुख धामीले बताउनुभयो । यो आवको लागि नयाँ ठेक्का खोलिएको उहाँले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!