जाजरकोट कुशे –जुम्लाको इमिल्चाघारी जोड्ने सुरुङ मार्ग निर्माण गरिने

हेमन्त केसी
जाजरकोट – जाजरकोट– जुम्ला छिटो छरितो पुग्नका लागि सुरुङ मार्गको सम्भाव्यता अध्ययनको काम सुरु भएको छ ।
जाजरकोटको कुशे गाउँपालिका –८ साङटा देखि जुम्ला तातोपानी गाउँपालिका– ८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिँएको पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।
जाजरकोट सदरमुकाम – पाँचकाटिया हुँदै कुशे – ८ साङटाबाट जुम्ला तातोपानी इमिल्चाघारी सडक लिनको लागि सम्भाव्यता अध्ययन गर्न सडक डिभिजन चौरजहारीले प्रक्रिया सुरु गरेको छ । अर्को तीर जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानीसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जुम्ला जोड्ने सडक निर्माण कार्य जारी रहेको छ ।
त्यस्तै जाजरकोट – डोल्पा सडक खण्डको नलगाड नगरपालिकाबाट बारेकोट हुँदै जुम्ला जोड्ने अर्को सडक बारेकोट जोडिसकेको छ । पाँचकाटिया कायदापाखा सिल्पाचौर लिम्सा सडक खण्डको प्रदेश सरकारको सहयोगमा निर्माण कार्य जारी रहेको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताउनुभयो । यो आवमा पनि सो सडक निर्माणका लागि बजेट बिनियोजन भइसकेकोले काम निरन्तर जारी रहने प्रदेशसभासदस्य सिंहले जानकारी दिनुभयो । जुम्ला जानका लागि सबै भन्दा छोटो रुट मध्यको सुरुङ मार्ग नै हुने भएकोले यो निर्माण कार्यलाइ बढी जोड गरिएको छ । जुम्ला सडक जोड्नका लागि अब दुइ रुटको विकास भइरहेको सिंहले बताउनुभयो ।
साङटाबाट इमिल्चाघारी सम्मा अहिलेको लम्वाइ झण्डै १० किलोमिटर रहेको छ । सुरुङ निर्माणका लागि झण्डै ५ किलोमिटर भन्दा कम प्वाल बनाउनुपर्ने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । हिडेर झण्डै ७ घण्टामा अग्लो डाडा पार गर्न सकिन्छ भने सुरुङ मार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताउनुभयो । लम्विनी – दाङ, हुँदै जाजरकोट जुम्लाबाट रारा जोड्नका लागि यो सडक सबै भन्दा छोटो हुने भएकाले काम सुरु गर्न लागिँएको छ ।
अहिले जाजरकोट सदरमुकामबाट बारेकोट– ४ को दह सम्मा सडकको कच्ची कटान कार्य पुरा भएको छ । हलुका सवारीसाधन समेत सञ्चालन भइरहेका छन् । सदरमुकाम खलंगाबाट पाँचकाटिया हुँदै सुरुङ मार्ग निर्माण स्थल सम्मा सडक निर्माण कार्य जारी रहेको छ ।
कम क्षतीमा छिटो सडक निर्माण गरी जुम्ला जानका लागि सुरुङ मार्ग निर्माणको कामको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । जुम्ला र जाजरकोट सँगै जोडिएपनि अग्ला हिमालहरु पार गर्नुपर्दा धेरै समय खर्चीनु पर्ने अबस्था रहेको छ । हिमालमा सडक निर्माण गर्दा त्यहाँको पर्यवरर्णीय सुन्दरता गुम्ने खतरा भएकाले सुरुङ मार्ग निर्माणको लागि पहल थालिएको प्रदेशसभा सदस्य सिंहले बताउनुभयो । ३३७०११३८ नम्वरको शीर्षक अनुसार राजमार्ग स्तरउन्नती तथा पूर्णस्थापना कार्यक्रम अन्तरर्गत रारा राजमार्ग एनएच ५६ अनुसार कुशे पाटन जाजरकोट जुम्ला सिमानामा बिस्तृत अध्ययन योजना माग गरी काम सुरु गर्न आग्रह अनुसार सो प्रक्रिया अगाडी बढेको हो । यो प्रतिनिधिसभा सदस्य बस्नेतको चुनावी नारा समेत रहेको थियो ।
अहिले सडक बिभाग मार्फत सडक डिभिजन चौरजहारीलाइ पत्राचार गरी यो योजना निर्माणका लागि सम्भाव्यता अध्ययनको काम सुरु गर्न निर्देशन भए बमोजिमको काम सुरु भएको सडक डिभिजन चौरजहारीका प्रमुख धुर्वकुमार झाले जानकारी दिनुभयो ।
हप्ता दिन अघि मात्र कुशे गाउँपालिकाको नेकपा ( माओवादी केन्द्र) को कार्यदलले कुशेमा विकास लागि योजना बिबरण सहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) अर्थमन्त्री जनार्दन शर्मा , पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाइ भेटेर ध्यानाक्रषण पत्र बुझाएको थियो । खानेपानी , पुल ,विद्युत ,टेलिफोन टावर लगाएका एजेण्डा पत्रमा उल्लेख गरिएको थियो ।










