नहरमा बालुवा थुप्रिदा विद्युत सेवा अवरुद्ध

नन्दा शाही
डोल्पा – जैरीगाड जलविद्युत आयोजनाको नहरमा बालुवा थुप्रिदा डोल्पाको सदरमुकाममा विद्युत सेवा अवरुद्ध भएको छ । एउटा मात्र टर्बाइनबाट सञ्चालनमा रहेको विद्युत सेवा आज बिहान देखि अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिनुभयो ।
दुइबटा टर्बाइन मध्य लामो समय सम्मा एउटामा खराबी आएपछि एउटा मात्र सञ्चालन हुँदा सदरमुकाम भरी विद्युत आपूर्ती गर्न सकिएको छैन । भारी मात्रामा अहिले विद्युतको नहरमा बालुवा भरिएपछि एक मात्र टर्बाइन समेत बन्द गर्नुपरेको हो । टर्बाइन थप्नका लागि विद्युत प्राधिकरणमा माग गरेपनि फाइल अडकिएको बताएको छ ।
विद्युत सेवा अवरुद्ध भएसँगै स्वास्थ्य सेवा कार्यालय र अन्य ठाउँमा समस्या उत्पन्न भएको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताउनुभयो । त्यस्तै स्वास्थ्य सेवा कार्यालयले खरिद गर्ने भनिएको ४० केभिएको जेनेरेटर खरिद गर्ने प्रक्रियामा रहेको स्वास्थ्य सेवा कार्यालय डोल्पामा प्रमुख अमरसिंह शाहीले जानकारी दिनुभयो ।
केन्द्रीय प्रशारण लाइन नपुगेको डोल्पामा यही जैरीगाड जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युतबाट काम हुँदै आएको छ । २०० किलोवाट क्षमताको यो आयोजनाबाट यहाँका १ हजार २५० घरधुरीले सेवा लिने गरेका छन् ।
दुइ वर्ष अघि यही विद्युत छ महिना अवरुद्ध भएको थियो । विद्युतको नहरमा ६० मिटर सुक्खा पहिरो जाँदा विद्युतसेवा बन्द भएको थियो। नेपाल विद्युत प्राधिकरणको ५५ लाख लागतमा भत्केको नहर मर्मत गरी विद्युत सेवा सुचारु गरिएको थियो ।










