ठुलिभेरी र बारेकोटले बिरामी स्वास्थ्य संस्था नआएपछि घर ,घरमा उपचार

नन्दा शाही
जाजरकोट ः सर्वसाधारणहरु स्वास्थ्य आउन आँनाकाँनी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घर ,घरमा गएर उपचार गर्न सुरु गरेका छन् । बारेकोट गाउँपालिकाले कोरोना संक्रमित खोज्न र कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मीको टोलीसहित घरदैलोमा हिँडेका बताएको छ ।


सबै वडाका टोलटोलमा संक्रमित खोज्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । पालिकाको वडा नम्बर १, ६, ७, ८ र ९ का घरघरमा पुगेर उपचार भइसकेको र अन्य वडामा घरदैलो जारी रहेको छ । शंकास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षणका साथै सचेतनाका काम पनि भइरहेको छ ।

जटिल समस्या देखिएकालाई गाउँपालिकाको आइसोलेसनमा रेफर गरेर उपचार कार्य जारी रहेको अध्यक्ष शाहले बताउनुभयो । उहाँले अन्य रोगका बिरामीलाई पनि स्वास्थ्यकर्मीले घरमै पुगेर उपचार गरिरहेको बताउनुभयो ।

स्वास्थ्यकर्मीको टोली औषधि, उपकरण र विभिन्न स्वास्थ्य सामग्रीसहित गाउँमा रहेको छ । गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढे पनि स्वास्थ्यचौकीमा कोरोना परीक्षण गराउन आउनेको संख्या न्यून भएपछि गाउँमा पुगेको उहाँले बताउनुभयो ।


गाउँमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण फरक भएकाले अधिकांश बिरामीले स्वास्थ्य परीक्षण नगराएको बारेकाट गाउँपालिका– ५ का जनकबहादुर शाहीले बताउनुभयो । गाउँपालिकाको टोली नखटिँदासम्म अधिकांश बिरामी घरेलु उपचार र धामीझाँक्रीकै भरमा भइरहेको थियो । उहाँले जनप्रतिनिधि सहित स्वास्थ्यकर्मी गाउँमा खटिएपछि अन्य रोगका बिरामीले पनि उपचार पाएको बताउनुभयो  ।

स्वास्थ्य शाखाका प्रमुख बीरराज सिंहका अनुसार घरदैलोका क्रममा झन्डै २ सय जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएकोे छ । त्यसमध्ये ७१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ३६ जना होम आइसोलेसन र ३५ जना संस्थागत आइसोलेसनमा छन । ११ जनाको लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बारेकोटमा सोमबारसम्म ३० जनाले कोरोना जितेका छन ।


डोल्पाको ठुलिभेरी नगरपालिकाले घर,घरमा कोरोना जाँच गर्न थालेको छ । नगरपालिका भित्रका १० वटा स्वास्थ्य संस्थाका प्रमुखहरुलाइ आज तालिम दिएर घर,घरमा गएर कोरोना जाँच गर्न पठाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकायले जानकारी दिनुभयो । संक्रमण हुँने डरले स्वास्थ्य संस्थामा सर्वसाधारणहरु आउन नमानेपछि घर ,घरमा गएर जाँच गर्न लागिएको अधिकृत रोकायले बताउनुभयो ।

दुइ दिने तालिम दिएर सवै स्वास्थ्यकर्मीलाइ कोरोनाको सचेतनामूलक कार्यक्रममा सहभागी गराउनुका साथै परीक्षण कार्यमा खटाउन लागिएका नगरप्रमुख गणेसबहादुर शाहीले बताउनुभयो ।

उहाँका अनुसार घर ,घरमा गएर बिरामीहरुको उपचार तथा जेष्ठ नागरिकलाइ विशेष सेवा दिन लागिएको छ । बिरामीको प्रकृती हेरेर बाहिर उपचार गर्न सिफारिस समेत गर्न व्यवस्था मिलाएको छ । बिरामी सवैको उपचार नगरपालिकाले ब्यहोर्ने नगरप्रमुख शाहीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ,“ १०÷१० वेडको आइसोलेशन जुफाल र दुनैमा नगरले स्थापना गरेको छ । जनता जोगाएमा मात्र खास सेवा हुने भएकोले अव हाम्रो ध्यान त्ययता तीर केन्द्रीत छ । ” यि आइसोलेशनमा बिरामीको अवस्था हेरेर ल्याइ उपचार नगरले गर्ने ब्यवस्था मिलाएको छ । त्यस्तै सवै पालिका मिलेर दुनैमा १५ वेडको आइसोलेशन ब्यवस्था गरिएको छ ।





error: Content is protected !!