विश्वमा धूम्रपान गर्ने एक अर्ब १० करोड, ८९ प्रतिशत युवायुवती

वायु प्रदूषणजस्तै धूम्रपान पनि मानव स्वास्थ्यका लागि हानिकारक छ । यसको लत लागेपछि छुटकारा पाउन निकै नै कठिन हुन्छ । धूम्रपान गर्ने सबैजसोले यसले स्वास्थ्यलाई हानि गर्छ भन्ने जान्दछन्, फेरि पनि कुलतबाट उक्सिन सकेका हुँदैनन् । धूम्रपानकै कारण प्रत्येक वर्ष लाखौँ मानिसले ज्यान गुमाइरहेका छन् । एक तथ्यांकका अनुसार सन् २०१९ मा मात्रै धूम्रपान गर्ने ८० लाखले विभिन्न रोगका कारण ज्यान गुमाएका थिए ।

हालैको एक अध्ययनअनुसार पछिल्लो समय युवापुस्ता धूम्रपानमा निकै नै आकर्षित भएका छन् । यो दर प्रत्येक वर्ष बढिरहेको छ । अहिले विश्वभर एक अर्ब १० करोड मानिसले दैनिक धूम्रपान गर्छन् । यही गतिमा बढ्दै जाने हो भने आगामी नौ वर्षभित्र विश्वमा धूम्रपान गर्नेको संख्या एक अर्ब ५० करोड पुग्नेछ ।

पछिल्लो एक अध्ययनअनुसार विश्वभरि २५ वर्षभन्दा मुनिका ८९ प्रतिशत युवायुवती धूम्रपान गर्छन् । इन्स्टिच्युट अफ हेल्थ मेट्रिस एन्ड इभ्यालुएसनमा धूम्रपानसम्बन्धी शोध गरिरहेकी मेरिसा रेट्समाले प्रत्येक वर्ष युवा तथा युवतीहरूमा धूम्रपानको लत बस्नु गम्भीर विषय भएको बताएकी छन् । ‘एक वा दुई वर्षको तथ्यांक हेर्‍यौँ भने युवायुवती धूम्रपानमा कसरी आकर्षित भइरहेका छन् भन्ने पुष्टि हुन्छ । यसले अदृश्य रूपमा देश र विश्वलाई नै हानि पुर्‍याइरहेको छ,’ शोधकर्ता रेट्समाले भनिन्, ‘धेरै अवधिसम्म धूम्रपान गर्नाले यसबाट विभिन्न रोगको सामना गर्नुपर्छ ।’ सन् २०१९ मा धूम्रपानकै कारण १७ लाख मानिस हृदयघात, १६ लाख क्रोनिक पल्मोनरी, १३ लाखले फोक्सो तथा श्वासप्रश्वास क्यान्सरबाट ज्यान गुमाएका थिए ।
अनुसन्धानकर्ता रेट्समाले विश्वका दुई सय चार राष्ट्रमा गरेको अनुसन्धानमा धूम्रपान गरेका दश लाख व्यक्तिको स्ट्रोकबाट निधन भएको छ । नियमित धूम्रपान गर्ने व्यक्तिको आयु दश वर्ष कम हुने इन्स्टिच्युट अफ हेल्थ मेट्रिस एन्ड इभ्यालुएसनले उल्लेख गरेको छ ।

दिनप्रतिदिन धूम्रपान गर्नेको संख्या बढिरहे पनि कतिपय देशले यसमा नियन्त्रणको प्रयास पनि गरिरहेका छन् । दक्षिण अफ्रिकाले धूम्रपानमा प्रतिबन्ध नै लगाउने तयारी गरेको छ । अनुसन्धानकर्ता रेट्समाले अध्ययनका क्रममा तीन दशकभित्र धूम्रपान गर्ने संख्यामा कमी आएको जनाएकी छन् । तर, उनले २० देशमा पुरुष र १२ देशमा महिला धूम्रपान गर्नेमा धेरै अगाडि रहेको शोधपत्रमा उल्लेख गरेकी छन् ।

जनसंख्याको हिसाबमा चीन, भारत, इन्डोनेसिया, अमेरिका, रुस, बंगलादेश, जापान, टर्की, भियतनाम र फिलिपिन्समा समग्रमा ३४ करोड १० लाखले धूम्रपान गर्छन् । चीनमा प्रत्येक तीनमध्ये एक व्यक्तिको हातमा चुरोट हुने रेट्समाको भनाइ छ । विभिन्न देशभित्र रहेका अनेकौँ समस्यामध्ये धूम्रपान निकै डरलाग्दो स्थितिमा रहेको इन्स्टिच्युट अफ हेल्थ मेट्रिस एन्ड इभ्यालुएसनले जनाएको छ ।

१५–२५ वर्षका युवालाई जोगाउन जोड
यस संस्थाले गरेको अध्ययनअनुसार धेरैजसो युवा १९ वर्षको उमेरदेखि नै धूम्रपानमा आकर्षित हुुन्छन् । २४ वर्ष उमेर पुग्दा ती व्यक्ति एक किसिमले स्मोकर नै बनिसकेका हुन्छन् । १५–२५ वर्षको उमेरसम्म युवा तथा युवतीहरूलाई धूम्रपान तथा अल्कोहल सेवनबाट टाढै राख्नुपर्ने अनुसन्धानकर्ता रेट्समाले अध्ययन प्रतिवेदनमा उल्लेख गरेकी छन् ।

‘हामीले युवाहरूलाई २० वर्ष लाग्नुअगाडि नै धूम्रपान र मद्यपानबाट सचेत गराउन सक्नुपर्छ । यदि यो उमेरमा नियन्त्रणमा लिन सकिएन भने उनीहरू भविष्यमा यसबाट बाहिर नै आउन सक्दैनन्,’ रेट्समाले भनिन् । यसैगरी, इन्स्टिच्युट अफ हेल्थ मेट्रिस एन्ड इभ्यालुएसनकै अर्का अनुसन्धानकर्ता विन गुप्ताले युवाले धूम्रपान नगर्ने प्रण नलिएसम्म यसको संख्या बढी नै रहने जनाएका छन् ।

‘कतिपय देशले यसविरुद्ध अभियान नै चलाएका छन्, तर यसमा राजनीति घुसेको हुन्छ, यसैकारण धूम्रपानको नीति सफल नभएको जस्तो लाग्छ,’ गुप्ताले भने, ‘हरेक राष्ट्रले धूम्रपान गर्न नहुने भनी नागरिकलाई सूचना प्रदान गर्छ, तर यसलाई प्रभावकारी रूपमा लागू गर्न भने सक्दैन, किनभने यसमा राजनीति मिसिएको हुन्छ ।’





error: Content is protected !!