पार्टी भित्रैबाट असहयोग गर्नेहरूको हिसाबकिताब गर्छौं – प्रधानमन्त्री ओली

काठमाडौं ः एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट सरकारलाई असहयोग भएको र त्यो असहयोग पार्टीभित्र मात्रै सीमिति नभएर सिंगो प्रणालीमाथि नै परेको भन्दै त्यसको हिसाबकिताब गरिने बताएका छन्।

शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘आफ्नै दलको सरकार ढाल्न प्रतिनिधिसभाको बैठकमा अनुपस्थित गराउने, फ्लोर क्रस गर्ने र आफ्नै पार्टीका उम्मेदवारलाई हराउन विपक्षीदलसँग मिलेमतो गरी त्यसको नेतृत्व नै गर्ने काम भए’ उनले अगाडि भने, ‘चरम अलोकतान्त्रिक, अनुशासनहीन काम हिजो मात्रै पनि गर्नुभएको छ। यसको हिसाबकिताब त गर्नैपर्छ। गर्नेछौँ।‘

प्रधानमन्त्री ओलीले समयक्रमसँगै पार्टीमा त्यस्ता गतिविधिको समस्या समाधान पनि गरिने बताए।

उनले आगामी दिनमा पार्टीलाई त्यस किसिमका फोहोरी खेलबाट सिद्धान्त, गन्तव्यनिष्ठ, संगठित, अनुशासित रुपमा विकास गरिने भन्दै विश्वस्त रहन पनि आग्रह गरे।

उनले भने, ‘एमालेभित्रको समस्या राष्ट्रिय चासो र समस्याको विषय हुनुपर्ने थिएन यदि प्रणालीकै मूल्य मान्यतालाई धज्जी उडाउने, घात गर्नै हुँदैनथ्यो भने। प्रणालीमा फ्लोर क्रस गरायो। संसदीय व्यवस्थामा फ्लोर क्रस गर्ने कुरा लोकतन्त्रमा अस्वभाविक, असाधारण अनैतिक र अपराधपूर्ण मानिन्छ। दण्डनीय मानिन्छ।‘

त्यसैगरी पार्टीले उम्मेदवार बनाएकालाई आफ्नै पार्टीभित्रबाट विपक्षीसँग मिलेर साँठगाँठ गरेर हराउनेदेखि लिएर पार्टीका सांसदहरुलाई अनुपस्थित गराएर सरकार ढाल्ने प्रयास गराउने कुरा लोकतनन्त्रिक आचरणविपरीतको कुरा होइन ररु भन्दै प्रश्‍नसमेत गरे।

‘लोकतन्त्र भनेको छाडातन्त्र, अराजकतन्त्र त होइन। लोकतन्त्रलाई धज्जी उडाउने कामको समाधान हामी गर्छौं। अनुसासनहीन र अराजकतामा पार्टी चल्दैन। पार्टीलाई अहिले देखिएको फोहोरी खेल मैदानबाट सिद्धान्त र गन्तव्यनिष्ट, संगठित, अनुशासित रुपमा विकास गरिनेछ’ उनले भने।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णय पार्टी फुटाउने नाम जुधेकाले नाम नजुधाई पुन दर्ता गर्न आउनु भन्ने आदेश गरेको त्यसले पार्टी एकता पुर्वको स्थितिमा पुर्‍याएको पनि स्पष्ट पारे। उनले पार्टी एकिकृत भएर जाउँ भनेर आफूले पहल गरे पनि वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चासो नदिएको बताए।





error: Content is protected !!