कांग्रेस, माओवादी र जसपाका नेताबीच सिंहदरबारमा छलफल

काठमाडौँ ः नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (भट्टराई,यादव) पक्षका नेताबीच छलफल सुरु भएको छ । सिंहदबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा, माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । बैठक केहीबेर अघि मात्रै सुरु भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बनाउन दिएको समय सकिन केही घण्टामात्रै बाँकी रहँदा नेताहरुबीच छलफल सुरु भएको हो । यसअघि कांग्रेस सभापति देउवाको निवास बुढानीलकण्ठमा दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका नेता राजेन्द्र श्रेष्ठसहितका नेताबीच पनि छलफल भएको थियो ।

त्यस्तै जसपाका अध्यक्ष यादवले जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा नयाँ सरकार बनाउन माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए । तर, उता जसपाका अध्यक्ष ठाकुर भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सहयोग गर्ने मनस्थितिमा छन् ।





error: Content is protected !!