रामपुर अस्पतालले दश शैयाको आइसोलेशन कक्ष तयार गर्दै, रामपुर नगर प्रक्रियामै

सुशीला रेग्मी
रामपुर (पाल्पा) – रामपुर अस्पतालले दश शैयाको आइसोलेशन कक्ष तयार पार्दैैैछ । कोरोना भाइरस सङ्क्रमणको दर दिनहुँ बढ्दै गएको परिस्थितीमा अस्पतालले आफ्नै व्यवस्थापनमा दश शैयाको अक्सिजन सहितको आइसोलेशन कक्ष तयार पारिरहेको छ ।

अस्पतालमा निर्माणाधिन पचास शैयाको नयाँ भवनमा आइसोलेशन कक्षका लागि विभिन्न सामग्री व्यवस्थापन गरी काम अगाडी बढाइएको छ । रामपुर अस्पतालमा अठार वटा ठुला सिलिण्डर अक्सिजन सहित हाल तीस वटा अक्सिजनको व्यवस्था रहेको निमिक्त मेडिकल सुपरिवेक्षक डाक्टर विजय परियारले बताउनुभयो । उहाँका अनुसार हाल अस्पतालमा आकस्मिक सेवाका लागि दुई वटा कक्ष रहेको छ । अहिलेको महामारीको अवस्थालाई मध्यनजर गर्दा अस्पतालमा पचास वटा सिलिण्डर अक्सिजनको व्यवस्थापन गर्नुपर्ने देखिएको डाक्टर परियारले बताउनुभयो ।

रामपुर नगर कार्यपालिकाको बैठकले यस अस्पतालमा अक्सिजन सहितको पैतीस शैयाको आइसोलेशन कक्ष तयार पार्ने भनिएपनि काम सुरु हुन सकेको छैन । लुम्बिनी प्रदेश सरकारको वजेट सहयोगमा रामपुर नगरपालिकाले रामपुर अस्पतालको व्यवस्थापनमा निर्माण गर्ने पैतीस शैयाको आइसोलेशन कक्षका लागि नगर कार्यपालिकाको बैठकले अस्पताललाई बनाउन जिम्मेवारी दिएको नगर स्वास्थ्य संयोजक गिरीराज घिमिरेले जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाद्धारा निर्माण गर्ने भनिएपनि अहिलेसम्म निर्माणको प्रक्रिया भने अघि बढ्न सकेको छैन । रामपुर नगरले भने सामग्री खरिदमा रहेको जनाएको छ । रामपुर नगरपालिकाले पचास वटा ठुला खालका सिलिण्डर अक्सिजन खरिद गर्ने प्रक्रियामा रहेको र अबको तीन दिन भित्रमा खरिद प्रक्रिया हुने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“रामपुर अस्पतालमा पैतीस शैयाको आइसोलेशन शैया बनाउने भनिएपनि अस्पतालको पूर्वाधार सम्पन्न नभइसकेको र जनशक्ति कम रहेकाले सो शैया तयार पार्न अप्ठ्यारो परेको अस्पतालले बताएको छ, उहाँले भन्नुभयो । पाल्पा अस्पतालमा पाइपबाट दिने अक्सिजनको व्यवस्थापन भइरहेको हुदा सोही अनुसार रामपुरमा पनि व्यवस्थापन गर्ने नगरको तयारी रहेको नगर प्रमुख थापाको भनाई छ ।

रामपुर अस्पतालका निमिक्त मेडिकल सुपरिवेक्षक डाक्टर परियारले नगरपालिकाले पैतीस शैयाको रामपुर अस्पतालमा बनाउने भनेको आइसोलेशन कक्षका लागि आवश्यक पर्ने जनशक्ति नभएको बताउनुहुन्छ ।

“नयाँ भवन पूर्ण सम्पन्न भइसकेको अवस्था छैन, पैतीस शैयाको कक्ष तयार पार्न अप्ठ्यारो छ, अर्कोतर्फ हामीसंग जनशक्ति पनि छैन, अस्पताल आफैले हाललाई दश शैयाको आइसोलेशन कक्ष तयार पारिरहेको छ” डाक्टर परियारले भन्नुभयो । अहिलेको अवस्थामा अस्पतालमा सङ्क्रमित जटिल खालका समस्या भएका बिरामी भने खासै उपचारमा आएको पाइदैन ।
गतबर्ष रामपुर नगरपालिकाले शहिद बहुमुखी क्याम्पसमा आइसोलेशन कक्ष तयार गरेको थियो ।

आइसोलेशन बनाउदा जुटाइएका सामाग्री अझपनि त्यही कोठामा थुनिएर राखिएको छ । कोभिडको दोस्रो महामारी पहिलेको तुलनामा बढी जोखिम भएपनि भइसकेको सामाग्री समेत अहिलेसम्म नगरपालिकाले प्रयोगमा ल्याएन सकेको छैन ।





error: Content is protected !!