बगरखोलाको पानी डाँडामा

रुकुम पश्चिम ः घरनजिकै धारा भएपछि मुसीकोट नगरपालिका–१० हलहलेकी आशमाली खड्काको दैनिकी फेरिएको छ । उनले चाहेको बेला स्वच्छ पानी भर्न मात्र पाएकी छैनिन्, बचेको पानी करेसाबारीमा पनि प्रयोग हुन्छ । उनका छिमेकी शशिराम ओलीले पनि दुई सातायता बस्तुभाउलाई खुवाउनकै लागि पिठ्युमा पानी बोकेका छैनन् ।

हलहलेसहित आसपासका टोलका २५ परिवारमा घरघरै धारा बनेपछि स्थानीयवासीले वर्षौदेखिको सास्तीबाट मुक्ति पाएका छन् । डाँडाको बस्ती भएकाले स्थानीयले लामो समय पानीकै लागि दुःख भोगे । ‘तलको पानी पनि माथि आउला भन्ने कल्पनै थिएन,’ खड्काले भनिन्, ‘घरघरै पानी पुगेपछि पानीका लागि खर्च हुने समय अरू काममा लगाउन थालेका छौं ।’

प्रविधिको प्रयोग गरी गरेर तलको पानी आएपछि गाउँलेलाई सजिलो भएको ओलीले बताए । उनका अनुसार गाउँभन्दा तलको बगरखोलाका ३ वटा मुहानको पानी लिफ्ट प्रविधिबाट माथि तानिएको हो ।

मुसीकोट नगरपालिको २५ लाख, कृषि विकास कार्यालयको १५ लाख र स्थानीयको ६ लाख रुपैयाँको श्रमदानबाट हलहलेमा खानेपानी सुविधा पुगेको हो । अहिले गाउँका सबै परिवारका लागि खानेपानी आपूर्ति गरिएको वडा सदस्य धनबहादुर खड्काले बताए । उनका अनुसार वर्षौंदेखि पिठ्युँमै पानी बोकेर जीविका चलाइरहेकालाई योजना बनेपछि धेरै राहत पुगेको छ ।

‘खानेपानी नै नभएपछि अरू जनजीवन सञ्चालनमा कठिनाइ हुने देखियो,’ उनले भने, ‘ लिफ्टमार्फत सबैभन्दा अग्लो र टाढाको बस्तीमा पनि खानेपानी सुविधा पुगेको छ ।’ उनका अनुसार यसअघि स्थानीयले दुई घण्टा पैदल हिँडेर पिठ्युँमा पानी बोकेर उकालोमा ल्याउने गर्थे ।





error: Content is protected !!