१० वर्षदेखि ओडारमा

सल्यान ः शारदा नगरपालिका–७ कजेरीका ५५ वर्षीय खौलु रेउले र उनकी श्रीमती ५२ वर्षीया पठी १० वर्षदेखि ओडारमा बस्दै आएका छन् । छोराछोरीले बेवास्ता गरेपछि उनीहरूलाई गाउँ नजिकैको ओडारमा बस्नुपर्ने बाध्यता भएको हो ।

वरिपरि ढुंगाको पर्खाल लगाएर रेउले दम्पतीले ओडारलाई नै घर बनाएका छन् । ओडारमा दुई कोठा बनाई जीविकोपार्जन गरे पनि वर्षा र हिउँदको समयमा ओडारमा बस्दा सास्ती भोग्नुपर्ने बाध्यता भएको रेउलेले बताए । ‘चिसोले रात काट्नै मुस्किल पर्छ,’ उनले भने, ‘कहिलेकाहीं आगो बालेर जाग्राम बसी रात काट्नुपर्ने बाध्यता छ ।’

ओडारमा बस्दै आएका उनीहरूलाई पानीघट्टले जीविकोपार्जनमा सहयोग पुर्‍याएको छ । ओडार नजिकै बनाएको घट्टले साँझ–बिहानको छाक टार्न सजिलो भएको उनले बताए । आर्थिक अवस्था कमजोर भएकाले ओडारमा जीवन बिताइरहेको रेउलेले बताइन् । ‘छोराछोरीले वास्ता गर्न छोडे,’ उनले भनिन्, ‘दुःख–कष्ट भोगे पनि ओडारमा बस्न बाध्य छौ ।’

पानीघट्टमा अन्न पिसेबापत स्थानीयले दिने ज्यालाले खर्च धान्न सहयोग पुगेको उनको भनाइ छ । वर्षाको समयमा ठूलो पानी परे पानी चुहिएर बस्नै नसकिने उनको गुनासो छ । गर्मीयाममा सर्प र जंगली जनावरको त्रास हुने उनले बताइन् । रेउले दम्पतीले २०६८ देखि ओडारलाई नै घरको रूपमा प्रयोग गरिरहेका छन् । रेउले दम्पतीका दुई छोरा र एक छोरी छन् । छोराहरूलाई अंशबन्डा गरिदिएपछि आफूहरूले ओडार प्रयोग गरिरहेको उनीहरूले बताए ।





error: Content is protected !!