३५ वर्षमा ११ सन्तान

ज्योति कटुवाल
सुर्खेत –  डुगेश्वर गाउँपालिका–१ की राधा बादी ३५ वर्षकी भइन् । १३ वर्षको उमेरमा विवाह गरेकी उनले ८ वटा जीवित बच्चा जन्माइन् । ३ वटा मृत जन्मिए ।

अहिले ४ छोरा र ४ छोरीलाई पाल्न उनलाई हम्मेहम्मे छ । राधा पनि ८ भाइ–बहिनीमध्ये एक हुन् । आफ्ना दाजुभाइ र दिदीबहिनीले पनि १० देखि १५ सन्तानलाई जन्म दिएको उनले बताइन् ।

राधाकी माइली दिदी ३६ वर्षीया ताराले पनि ९ सन्तानलाई जन्म दिएकोमा ५ छोरी र १ छोरा जीवित छन् । बादी महिला ज्याला मजदुरी र गाडीका सामान लोड–अनलोड गरी जीविकोपार्जन गर्छन् । ताराका कति बच्चा बाटोमै जन्मिएका हुन् भने ३ गर्भ खेर गए । सुत्केरी हुन स्वास्थ्यचौकी नजाने बादी समुदायमा सानैमा र उमेर ढल्किएपछि पनि बच्चा जन्माउँदा अधिकांश महिला पाठेघरका रोगी छन् । ‘आफैंले काम नगरे घरको चुलो बल्दैन,’ उनले भनिन्, ‘आधा उमेर बच्चा जन्माउँदै बित्यो, अहिले रोगले थला पर्न थालेकी छु ।’

बादी समुदायका ९० प्रतिशत महिलाले ५ देखि ११ सम्म बच्चा जन्माएको डुगेश्वर गाउँपालिकाले गरेको अध्ययनमा भेटिएको छ । ‘वर्षैपिच्छे बच्चा जन्माउँदा अधिकांशमा पाठेघरको समस्या छ, धेरै महिलाको महिनावारी अनियमित हुने, सेतो पानी बग्नेलगायत समस्याबाट पीडित छन्,’ स्थानीय अगुवा भूमि बादीले भनिन्, ‘कम उमेरमा बच्चा जन्माउँदा मानसिक समस्या पनि बढिरहेको छ ।’ उनले ठूलो रोग नलाग्दासम्म अस्पताल जाने चलन समुदायमा नभएको बताइन् ।

आर्थिक अवस्था कमजोर हुँदा यो समुदायका अधिकांश बालबालिका पनि विद्यालय बाहिरै छन् । उनीहरूलाई पनि रोजीरोटीको लागि मजदुरी गर्नुपर्ने बाध्यता छ । सानै उमेरमा बच्चा जन्माउँदा उनीहरूले जन्माएका बच्चामा अपांगता, सुस्त मनस्थिति र कुपोषणको समस्या देखिएको दुल्लु अस्पतालकी डा। पूजा बीसीले बताइन् । उनका अनुसार गर्भवती अवस्थामा उचित स्याहारसुसार नहुँदा र सन्तुलित भोजन खान नपाउँदा आमा र बच्चाको ज्यानसमेत जोखिममा पर्ने गरेको छ ।

‘समुदायमा कसैले पनि परिवार नियोजन गर्न मान्दैनन्,’ उनले भनिन्, ‘त्यसैले सानै उमेरमा पनि बढी बच्चा जन्माउने गरेका हुन् ।’ भूमिहीन भएकाले अधिकांश बादी युवाहरू कम्तीमा ८ महिना भारतमा मजदुरी गर्न जान्छन् । युवाहरू भारत जाने भएकाले घरखर्चको जोहो गर्नुपर्ने जिम्मा बादी महिलाकै हुन्छ ।

‘पुर्ख्यौली पेसाबाट साँझ–बिहानको छाक टार्न मुस्किल छ,’ ५२ वर्षीया लक्ष्मी बादीले भनिन्, ‘त्यसैले घरखर्च धान्न महिला र बालबालिकाले नै मजदुरी गर्नुपर्ने बाध्यता भएको हो ।’ माछा मार्ने, बालुवा चाल्ने, मादल र सुल्पा बनाएर गुजारा चलाउन मुस्किल भएपछि उनीहरूले मजदुरीको बाटो रोजेका हुन् । ‘माछा मार्न सरकारले बन्देज लगायो,’ स्थानीय कमला बादीले भनिन्, ‘अरू सीप नहुँदा मजदुरी गर्नुको विकल्प छैन ।’ दैलेखमा ६ सय ६९ परिवार बादी समुदायको बसोबास रहेको जिल्ला समन्वय समितिले जनाएको छ ।





error: Content is protected !!