त्योबेला आमसभामा आएका एमाले डोल्पाका अध्यक्ष रोकायाको कोरोनाबाट मृत्यु

काठमाडौं ः नेकपा एमालेको डोल्पा जिल्ला अध्यक्ष दत्त रोकायाको कोरोना संक्रमणबाट निधन भएको छ।

कोरोना संक्रमण भई दुई साताअघि पाटन अस्पतालमा भर्ना भएका ५२ वर्षीय रोकायाको शुक्रबार बिहान निधन भएको कर्णाली प्रदेशसभा सदस्‍य बदमीक्वारी बोहोराले जानकारी दिइन्।

उनी गत माघ २३ गते नेकपा एमाले ओली समूहले नारायणहिटी संग्रहालयअगाडि गरेको जनसभामा सहभागी हुन डोल्पाबाट काठमाडौं आएको र त्यसपछि डोल्पा नफर्किएको बोहराको भनाइ छ।

सशस्त्र द्वन्द्वमा माओवादीले आक्रमण गर्दा घाइते भएका रोकायाको परिवार द्वन्द्वकालमा गाउँबाट विस्तापित भएको थियो। त्यसपछि सदरमुकाममै बस्दै आएका रोकायाका छोरा काम गर्न दुबई गएका छन्। उनकी छोरी भक्तपुरको लोकन्थलीका बस्दै आएकी छन्।

२०३६ सालदेखि नै सक्रिय राजनीतिमा लागेका रोकाया नेकपा एमाले डोल्पाका संस्थापक थिए। उनले नै डोल्पामा एमाले विस्तार गरेका थिए। रोकायाको नेपाली सेनाले पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरेको छ।





error: Content is protected !!