सिमेन,फालगाउँमा घरघरमा धारा

डोल्पा ः खानेपानीको समस्याले तनाव व्यहोर्दै आएका उपल्लो डोल्पा स्थित डोल्पोबुद्ध गाउँपालिका –६ का दुइ गाउँका स्थानीयवासीले घरघरमा पानीको धारा पाउँने भएका छन् ।

गाउँपालिकाले यहाँको सिमेन र फाल गाउँमा यही आर्थिक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने उदेश्यले बोलपत्र आवह्वान गरेर काम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिनुभयो । भारी मात्रामा हिउँ जम्ने भएकाले पिउने पानीमा देखिएको समस्या हल गर्न सिमेनका ९० घरधुरी र फाल गाउँका ३० घर धुरीले यसै आर्थिक वर्ष भित्र प्रत्येक घरमा सफा पानी उपभोग गर्न पाउने अधिकृत पंज्ञानीले जानकारी दिनुभयो ।

चिसो मौसममा पानी ल्याउनका लागि ठुलो दुख व्यहोदै आएका यहाँका स्थानीयवासीहरु घरघरमा पानीको धारा बन्न लागेपछि खुसी भएको बताएका छन् । कात्तिक देखि फागुन सम्म विकास निर्माणका काम ठप्प हुँने उपल्लो डोल्पामा चैत महिना देखि असार सम्मा सवै विकासका कामहरु सूचारु हुँने गर्दछन् । अघिल्लो वर्ष भन्दा अहिले कम चिसो भएकाले विकास निर्माणका काम गर्न सजिलो भएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै चिसोबाट जोगिएर शैक्षिक क्रियाकलाप सहज बनाउन लागि तीन ठाउँमा न्यानो भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा घाम छिर्ने तर हावा नघुस्ने तीन वटा भवन निर्माण गर्न लागेको हो । चार महिना भित्र उक्त भवनहरु निर्माण कार्य पुरा हुँने छन् ।

पाल्दे बालविकास केन्द्र डोल्पो बुद्ध –४ , सिद्धार्थ कुला आधारभुत विद्यालय डोल्पोबुद्ध –५ तिन्जे र डोल्पोबुद्ध – २ स्थित कलाङ विद्यालयमा न्यानो भवन निर्माण हुँन लागेको हो । विद्यार्थीहरु चिसोका कारण विरामी तथा स्वास्थ्यमा समस्य नहोस भन्दै न्यानो भवनको काम सुरु गरिएको हो ।





error: Content is protected !!