उच्च पदमा महिला नेतृत्व

काठमाडौं । सरकारी संस्था होस् वा निजी । दुवै प्रकृतिका संघ–संस्थाको उच्च पदको नेतृत्वमा पुग्ने नेपाली महिलाको संख्या बढ्दै गएको छ । दशकौं पार गरेर व्यावसायिक करियर बनाउन सफल भएका महिला अहिले उच्च पदमा नेतृत्वदायी भूमिकामा छन् ।

पछिल्लो पटक सरकारीतर्फ सचिवमा यामकुमारी खतिवडा र गण्डकी प्रदेश सचिवमा चन्द्रकला पौडेलले मन्त्रालयको बागडोर सम्हालेका छन् । हिजोका दिनमा उच्च पदमा शून्य रहेको महिला नेतृत्व अहिले थोरै भए पनि देखिन थालेको छ ।

यसै वर्षको गत साउनदेखि गण्डकी प्रदेशको आर्थिक मामला तथा योजना मन्त्रालयको सचिव रहेकी चन्द्रकला पौडेलले २०५१ वैशाख २ गतेदेखि राष्ट्रिय सहकारी विकास बोर्डको वरिष्ठ सहायकबाट निजामती सेवामा करियर सुरु गरेकी हुन् । यसपछि २०५२ मंसिरमा सुब्बा हुँदै २०५५ मा लेखा अधिकृत, २०६६ भदौमा उपसचिव र २०७० चैतमा सहसचिव हुन सफल भइन् । पौडेल सुरुमा निजामतीमा उल्लेख्य मात्रामा महिला नभएको र भए पनि सामाजिक परम्पराको संस्कारमा बाँधिएकाले करियर विकासमा चुनौती भएको बताउँछिन् । अहिलेको पुस्ताले निजामतीमा प्रवेश गर्न अभिभावकको मार्गदर्शन पाउन थालेको उनको अनुभव छ । खुला संस्कारमा हुर्किएका छन् । पढाइको स्तर राम्रो छ । ‘अहिले पर्याप्त मात्रामा सहसचिव, उपसचिव, अधिकृत, सुब्बालगायतमा महिलाको संख्या बढेको छ,’ उनले भनिन् ।

अब राज्यले चुनौतीपूर्ण अवसरका लागि महिलालाई टेको दिनुपर्ने प्रदेश सचिव पौडेलको तर्क छ । ‘महिलाहरू शारीरिक रूपमा मात्र फरक हुन् । बौद्धिक र अन्य शैलीमा फरक छैन । अबका पुस्ताको मार्गदर्शक बन्न सकियोस्,’ उनले सुनाइन् । पौडेलका अनुसार निजामती सेवाबाहेक अहिले निजी क्षेत्र पनि रोजगारदाताको रूपमा अग्रणी स्थानमा रहेको छ । पछिल्लो समय जुनसुकै क्षेत्रमा महिला अग्रसरता बढेको छ ।

सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनको प्रमुख कार्यकारी अधिकृतका रूपमा उर्मिला श्रेष्ठ कार्यरत छन् । पछिल्लो समय मात्रै न्यू बिजनेश एज प्रालिबाट ‘इन्फ्लुन्सल बिजनेश वुमन अफ द इयर २०२१’ अवार्डबाट सम्मानित भएकी श्रेष्ठले साल्ट ट्रेडिङ कर्पोरेशनमा २०५४ मा विभागीय प्रबन्धकबाट सेवामा प्रवेश गरेकी थिइन् । यसपछि उनले २०५९ सालमा उपमहाप्रबन्धक र २०६४ मा महाप्रबन्धक हुँदै २०७१ सालदेखि साल्ट ट्रेडिङ कर्पोरेशनको प्रमुख कार्यकारी अधिकृत सम्हाल्दै आएकी हुन् ।

सरकारी स्वामित्वको नेपाल राष्ट्र बैंकमा प्रवेश गरेको करिब २३ वर्षसम्म कार्यरत निलम ढुंगाना तिम्सिना पहिलो महिला कार्यकारी निर्देशक हुन् । गत वर्ष करिब ६ महिनाजति राष्ट्र बैंकको विदेशी विनिमय विभागको कार्यकारी निर्देशकमा सरिता भट्ट अधिकारीले पनि सो पद सम्हालेकी थिइन् ।

हाल राष्ट्र ऋण व्यवस्थापन विभागको कार्यकारी निर्देशक ढुंगाना २०५४ मंसिरमा आरक्षणको व्यवस्था नहुँदा खुला प्रतिस्पर्धामार्फत सहायक अधिकृतबाट प्रवेश गरेकी हुन् ।

आरक्षणको व्यवस्था नहुँदा नै खुला प्रतिस्पर्धाबाट ४९ जना सहायक अधिकृतमध्ये नाम निकाल्न सफल ढुंगाना अहिले महिलाहरूलाई आरक्षणको कोटा एउटा अवसर बनेको बताउँछिन् । ‘हामी आरक्षण नहुँदै खुलाबाट प्रतिस्पर्धा गरेर आएका थियौं, उनले भनिन् ‘अहिले आरक्षण व्यवस्थाले पनि महिलालाई बैंक सेवा प्रवेशमा अझ बढी सहज बनाएको छ । आरक्षण भनेर मात्रै बस्नुहुँदैन ।’

कार्यकारी निर्देशकबाहेकको निर्देशकमा पनि करिब ७ जना महिलाले नेतृत्व सम्हालिरहेका छन् । यसअन्तर्गत बैंक तथा वित्तीय संस्था नियमन विभागको निर्देशकमा मीना पाण्डे, विदेशी विनिमय व्यवस्थापन विभागको निर्देशकमा इन्द्रा चम्लागाई मैनाली, वित्तीय व्यवस्थापन विभागमा सञ्जना पौडेललगायत कार्यरत छन् । अहिले राष्ट्र बैंकमा कुल कर्मचारी १ हजार १ सयमध्ये २ सय २० हाराहारी महिला कार्यरत छन् । यद्यपि यो संख्या अझै पर्याप्त नभएको ढुंगेल सुनाउँछिन् ।

सरकारी स्वामित्वका संस्थाहरूमा मात्रै होइन, निजी स्वामित्वका बैंक तथा वित्तीय संस्थाहरू, बीमा कम्पनीलगायतमा समेत नेतृत्व तहमा महिलाहरू प्रतिस्पर्धी भएर उत्रेका छन् ।

बैंकिङ इतिहासमै ३ दशकअघिदेखि करिअर सुरु गरेकी वर्षा श्रेष्ठले अलग्गै पहिचान बनाएकी छन् । नबिल बैंक स्थापनाकाल अर्थात् २०४१ सालबाटै बैंकिङ करियरमा प्रवेश गरेकी श्रेष्ठले २०६५ मा क्लिन इजर्नी डेभलपमेन्ट ९हाल एनएमबीमा गाभिएको० बैंकमा जनरल म्यानेजर भइन् । यसपछि सो बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेकी उनी कामु सीईओसमेत भइन् । बैंकिङमा लामो अनुभव समेटेकी र नेतृत्व तहमा पुगेकी श्रेष्ठ २०७५ साउनदेखि अहिले इक्रा नेपालको उच्च व्यवस्थापनमा बिजनेस हेड छिन् । श्रेष्ठ बैंकिङ करियरको सुरुआतीमा प्रविधिलगायत प्रणालीको विकास नभइसकेकाले चुनौती खेप्नु परेको तर अहिले केही हदसम्म सहज भएको बताउँछिन् । ‘त्यतिबेला महिलाहरूले घरबाट बाहिर निस्केर काम गर्ने खासै चलन थिएन । अहिले काम गर्नुपर्छ भन्ने धारणा हुनु र बैंक सम्मानजनक पेसा भएकाले पनि यसमा आकर्षण बढेको हो’, श्रेष्ठले भनिन् ।

बैंकिङ क्षेत्रमा महिलाले कुशलतापूर्वक नेतृत्व सम्हालिरहेका उदाहरण छन् । यसमध्ये हाल नेतृत्व तहमा मेगा बैंककी सीईओ अनुपमा खुजेलीदेखि नायब प्रमुख कार्यकारी निर्देशक ९डीसीईओ० मा नेपाल क्रेडिट एन्ड कमर्स बैंककी बन्दना पाठक, मेगाकी रविना देशराज श्रेष्ठ, नेपाल बैंककी समता पन्त भट्ट र सनराइज बैंककी आरती राज्यलक्ष्मी रानालगायत चर्चामा छन् ।

वित्तीय क्षेत्रका लागि महिला पनि सक्षम छन् भन्ने उदाहरणका लागि मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेली सफल बैंकरमध्ये एक हुन् । समाजले बैंकिङ पेसामा महिलालाई इज्जत दिने भएकाले करिब २९ वर्षअघि यो पेसा अँगालेकी उनी अधिकांश महिलाहरू इमानदार हुने हुँदा बैंकिङ क्षेत्रले विश्वास गरेको तर्क गर्छिन् । मेगाको नेतृत्व सम्हालेकी उनीबाहेक अन्तर्राष्ट्रिय बैंकरको अवार्ड हासिल गर्न सफल नायब कार्यकारी निर्देशक ९डीसीईओ० मा कार्यरत रविना देशराज श्रेष्ठ, चिफ रिस्क अफिसरमा प्रज्ञा पाण्डे, चिफ ग्लोबल मार्केटिङमा डेनी श्रेष्ठ, चिफ क्वालिटी अफिसरमा जेनु थापा र हेड इन्स्टिच्युसनल डिपोजिट रश्मी जोशी रहेका छन् ।

पछिल्लो समय वाणिज्य बैंकहरूमा उच्च पदमा पुग्ने महिलाको संख्या बढ्न थालेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार गत असारसम्म वाणिज्य बैंकहरूमा २७ हजार २ सय पुरुष कर्मचारी रहेका छन् भने १७ हजार ३ सय जना महिला कार्यरत छन् । वाणिज्य बैंकको उच्च पदमा जसरी महिला छाएका छन्, विकास बैंक, वित्त कम्पनी, लघुवित्त वित्तीय संस्थामा भने सीईओजस्ता उच्च पदमा अझै पुग्न सकेका छैनन् ।

हाल नेपालमा जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमाको व्यवसाय गर्ने ४० कम्पनी छन् । यद्यपि त्यसमध्ये एक कम्पनीमा मात्र महिलाको नेतृत्व छ ।

हाल युनाइटेड इन्स्योरेन्समा उपासना पौडेल कामु प्रमुख कार्यकारी अधिकृत ९सीईओ०को रूपमा कार्यरत छिन् । उनी गत मङ्सिरदेखि उक्त पदमा रहेर कम्पनीको नेतृत्व गरिरहेकी छन् ।

त्यसअघि उनी कम्पनीको डेपुटी सीईओ थिइन् । उनीसँग नेपालको बीमा क्षेत्रको १० वर्षको अनुभव छ । भारतको दिल्ली युनिभर्सिटीबाट एमबीए गरेकी उनले सानिमा जनरल इन्स्योरेन्समा सहायक महाप्रबन्धकको रूपमा पनि काम गरेकी छिन् । साथै भारतको आईसीआईसीआई जनरल इन्स्योरेन्स कम्पनीमा ३ वर्ष काम गरेको अनुभव पनि उनीसँग छ ।

पछिल्लो समय बीमा कम्पनीहरूमा महिला कर्मचारीको आकर्षण बढ्दै गएको छ । उच्च व्यवस्थापन समूहमा पनि महिलाको प्रतिनिधित्व छ । तर, सीईओ स्तरमा रहेर काम गर्ने महिला भने नगन्य छन् ।

यस्तै, बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा पनि महिला कर्मचारीको नेतृत्व कम छ । हाल पुजन ढुंगेल अधिकारी समितिको निर्देशक भएर काम गरिरहेकी छिन् । समितिमा रहेका अध्यक्ष, बीमा विज्ञसहितका ७५ जनशक्तिमध्ये अधिकारीको वरीयता ६ नम्बरमा छ ।





error: Content is protected !!