जसले अभिभावकको बाटो कुरिरहे

हेमन्त न्यौपाने
जाजरकोट , १४ फागुन ः अभिभावकको माया, स्नेहमा बस्न कसलाई पो मन हुँदैन र ? आफन्तले दिने सल्लाह अनि दिशा निर्देशबाट भावी कार्य सम्पादन गर्ने रहर नभएको को होला ? जनयूद्ध कालमा वेपता बनाएका शिक्षक अहिले २० वर्ष सम्म कहाँ हुनुहुन्छ भन्ने परिवारलाई जानकारी छैन । दैनिक बाबाको सम्झनामा भेरी नगरपालिका –२ शारदा शर्मालाइ झस्काउने गर्दछ । बिहीबार शारदाले बाबालाई सम्झदै गरिएको कार्यक्रममा भकानिदै बाबाको अवस्था सार्वजानिक गर्न जुन हद सम्म पनि जाने पीडा पोख्नुभयो ।

शिक्षण पेशामा रहेका शिवप्रसाद शर्मालाई तत्कालिन राज्यपक्षबाट २०५७ फागुन १३ गते नेपालगन्जबाट बेपता बनाएको थियो । वेपता बनाएको अहिले २० वर्ष वितेपनि अहिले सम्म सास र लास कुनै कुरा राज्यपक्षबाट जानकारी गराएको छैन । वेपता शिवका दुइ छोरी र श्रीमती अहिले पनि उहाँको मुलबाटो हेरेर पर्खीबसीरहनुभएको छ ।

राती घरको ढोकामा आवाज आउदा होस अन्य कारणले आवाज आएपनि बाबा नै आउनु भएको हो भनेर मन फुरुङ्ग हुँने गरेको वेपता शिवकी जेठी छोरी शारदाले बताउनुभयो । उहाँले भन्नुभयो , ‘मैले मेरो बुबालाई वेपता बनाएको दिन देखि कहिल्यै देख्न पाईन्, बुबालाई किन र के का लागि बेपत्ता पारियो पत्ता लागेको छैन् ,। ” राज्यले रु १० लाख राहत त दियो तर हाम्रो वावाको अवस्थाको बारेमा अहिले सम्म कुनै खास प्रतिक्रिया दिएको छैन । पैसाले बाबाको माया नपाइने भन्दै शारदाले बाबाको अवस्था तत्काल सार्वजानिक गर्न समेत माग गनुभयो ।

जुनिचाँदे –४ का दलबहादुर रोकाको पनि शारदा भन्दा कम पीडा छैन उहाँ भन्नुहुन्छ , “ सरकारले बेपत्ता पारिएका ब्यक्तिको परीवारलाई राहत दिने भनेको छ तर पनि अहिलेसम्म हामीले केही पाएको अवस्था छैन ।” छेडागाड नगरपालिका १३ का मानबहादुर बुढाले आँखाभरी आँसु पार्दै भन्नुभयो ’ “बुबा गुमाउनुको पीडालाई कहिल्यै भुल्न सक्दिन । अहिले सम्मा बाबाको अवस्था के छ भन्ने कुरा जानकारी सम्म नहुँदा हामी मानसिक रुपमा समस्यमा परेका छौँ । ”

जाजरकोटबाट मात्र १२ जना वेपता भएको लिष्ट रहेको रहेको छ । उनीहरुको अवस्थाका बारेमा परिवारले जती पटक दवाव दिएपनि अवस्था सार्वजानिक नहुँदा परिवार पीडामा रहेका छन् ।

रेडक्रसको अन्तराष्ट्रिय समिति (आईसीआरसी) ले सन् २०१२ मा निकालेको तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा ९ जनाको नाम वेपत्ताको सूचीमा रहेको छ भने, मृत्यु भईसकेको जानकारी भएको तर, मानव अवशेष पत्ता नलागेकोमा ३ जनाको नाम सुचिकृत गरिएको छ ।

आईसिआरसीले बेपत्ता सुचीमा जाजरकोटका झुपबहादुर शाहीलाई २१ मंसिर २०६० मा सुर्खेत विरेन्द्रनगरबाट राज्यपक्षले वेपत्ता बनाईएको, पूर्णबहादुर सिंहलाई २८ बैसाख २०६२ मा जाजरकोटको खलंगाबाट राज्यपक्षले बेपत्ता बनाईएको, मानबहादुर सिंहलाई २५ असार २०५७ मा जाजरकोटको रामीडाँडाबाट राज्यपक्षले वेपत्ता बनाईएको, मोतिराम मल्ललाई १२ माघ २०५८ मा जाजरकोटको थालारैकरबाट राज्यपक्षले बेपत्ता बनाईएको, रामप्रसाद खनाललाई १२ मंसिर २०५८ मा जाजरकोटको खलंगाबाट बिद्रोही पक्षले वेपत्ता बनाएको, वीरेन्द्र शर्मालाई १० मंसिर २०६१ मा राज्यपक्षले जाजरकोटको सुवानाउलीबाट बेपत्ता बनाईएको, शिवप्रसाद शर्मालाई १३ फागुन २०५७ मा बाँकेको नेपालगञ्जबाट राज्यपक्षले वेपत्ता बनाएको, शिवबहादुर सिंहलाई १७ मंसिर २०६० मा बाँकेको कोहलपुरबाट राज्यपक्षले वेपत्ता बनाएको छन् ।

त्यसैगरी आईसिआरसीले मृत्यु भईसकेको जानकारी भएको तर, मानव अवशेष पत्ता नलागेको सूचीमा जाजरकोटका खम्बे कामीलाई २१ चैत २०५४ मा जाजरकोटको खलंगाबाट राज्यपक्षले पक्राउ गरेको, गुमानसिंह रानालाई १ चैत २०५५ मा सुर्खेतको राकम बादापिपलबाट राज्यपक्षले पक्राउ गरेको, भुमिलाल बस्नेतलाई १५ कातिक २०५५ मा जाजरकोटको खलंगाबाट राज्यपक्षले पक्राउ गरेको, विष्णु वटालालाई १५ पुस २०५५ मा जाजरकोको खलंगाबाट राज्यपक्षले पक्राउ गरेर वेपता बनाएको उल्लेख गरेको छ ।

घाइतेहरुले राज्यपक्षबाट उपचारका लागि कुनै सहयोग नगरेको भन्दै आक्रोष पोख्दै आएका छन् । वेपताका आफन्तहरुको एउटै माग छ , हाम्रा आफन्तको कि लास चाहियो कि त सास चाहियो ?





error: Content is protected !!