सिडियो सा’प ? खुल्ला चौरमा दिसापिसाव गर्न गाह्रो भयो

जाजरकोट – न गतिलो बासको व्यवस्था न त गतिलो पढाइ नै। भवन अभावमा खुल्ला चौरको पडाइ। सौचालयको अभावमा दिसापिसाव गर्न पनि खुल्ला ठाउँकै साहारा लिनुपर्ने। नाम बहुप्राविधिक शिक्षालय तर पढाइ कागजी मात्र।
दृश्य जाजरकोटको काफलचौरस्थित वहुप्राविधिक शिक्षालयको हो। यहाँ अध्ययनरत विद्यार्थी समस्यानै समस्याले जेलिएका छन्। हिउँदको थरथर कमाउने जाडोमा खुल्ला चौरमा भुइँमा बसेर पढ्नुपर्ने बाध्यता उनीहरूको छ।
सदरमुकामबाट गएको प्रमुख जिल्ला अधिकारीसहितको सरकारी अधिकारीको टोलीलाई विद्यार्थीले आफूहरूले भोग्नुपरेका समस्याको पोको सुनाए। प्राविधिक शिक्षालयका प्रमुखसमेत रहेका प्रमुख जिल्ला अधिकारी चेतराज बरालसहितको टोलीलाई विद्यार्थीले खानेबस्ने, दिसापिसाव गर्ने, पढाइदेखि घरबेटीले गर्ने दुर्ब्यवहारका समस्याबारे बेलिविस्तार सुनाए।
‘सिडियो साप सौचालय छैन खुल्ला चौरमा दिसापिसाव गर्न सारै गाह्रो भयो’ छात्रा संगिता थापाले गुनासो गरिन्,‘विहान र बेलुकी चिसोले बस्न नसकिने दिउसो हावा चलेमा पढिरहेको ठाउँबाट उडाएर लैजाला झैं हुन्छ।’
स्थानीयले मदिरा सेवन गरेर होहल्ला तथा दुव्र्यवहार गर्ने गरेको विद्यार्थीले गुनासो गरे। प्राविधिक शिक्षालय भएपनि अहिले सम्म किताव रट्ने काम मात्र भएको तर प्रयोगात्मक कक्षा नहुँदा पढाइ प्रभावकारी नभएको विद्यार्थीको गुनासो छ।
छात्र कमान थापाले नाममात्रको पढाइ भैरहेको बताए। प्रयोगात्मक कक्षा नहुँदा नाममात्रको प्राविधिक शिक्षा भएको उनको गुनासो थियो।
शिक्षालयका प्रमुखसमेत रहेका प्रमुख जिल्ला अधिकारी बरालले विद्यार्थीको गुनासो संबोधन गर्ने प्रतिवद्धता जनाए।
भेरी नगरपालिकाले छिटै भवन बनाएर विद्यार्थीलाई कक्षा कोठामा बस्ने व्यवस्था गरिदिने अधिकृत दलबहादुर घर्तीले बताए। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मधु थापाले विद्यार्थीलाई सुरक्षाको प्रत्याभुति दिलाउने आस्वास्त पारे।
बहुप्राविधिक शिक्षालय निर्माणका लागि स्वीकृती दिइ कक्षा सञ्चालन भएपनि भवन निर्माणको डिपिआरसमेत बनेको छैन।



