सरकारलाई गिज्‍याउने लुम्बिनी प्रदेशसभा गेट अगाडीको यो दृश्‍य

बुटवल ः प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सरकारले गरेको महत्वपुर्ण काममध्यको एक हो सडक मानवमुक्त शहर निमार्ण । अर्थात वेसाहरा भएर कोहि पनि सडकमा बस्‍न नपर्ने अवस्था तर यो घोषणा नारामा सिमिति देखिन्छ । लुम्बिनी प्रदेशको मुकाम बुटवल शहरका सडकहरुमा बेसाहाराहरु यत्रतत्र देखिन्छन् । पुस महिनाको चिसो सडकमा रात काट्‍ने ति बेसाहाराहरु सरकारले घोषणा गरेको मानवमुक्त शहरभित्रै रहेका छन् । तर उनीहरुले चिसो सडकमा तातो गाँस र सुरक्षित बासको आशा गरेका छन् ।

तस्बिरमा पनि देखिन्छ कि लुम्बिनी प्रदेश सभाको मुख्य गेट अगाडि नै उनीहरुले रात काट्‍न बाध्य भएका छन् । संघ र प्रदेश सरकारको मात्र होइन यस्तो कर्णप्रिय नारा स्थानीय सरकारले पनि पटक(पटक घन्काउने गरेको छ । बुटवल उपमहानगरले १ वर्ष अघि बुटवललाई सडक मानवमुक्त शहर घोषणा गरेको भन्दै ठुलो सभासमेत गरेको थियो ।

उपमहानगरले बुटवलमा मागेर खान नपाइने र सबै असहायलाई आश्रय प्रदान गरिने बताए पनि बुटवलमा न त मागेर खानेहरुको कमी भएको छ न सडकमा रात बिताउने मानवहरुको । उपमहानगर र मानवसेवा आश्रमका बीच सडकमा रहेका सबैलाई आश्रममा आश्रय दिने भनिएपनि उपमहानगरको नियमित अनुगमन नहुँदा बेसहाराहरुको चिल्ली हुने क्रम जारी छ । तर बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी सडकमा भेटिका मानवहरुलाई तत्काल उद्धार गरि व्यवस्थित ढंगले राख्‍ने काम आफुहरुले गर्ने बताउछन् ।

लुम्बिनी प्रदेशसभा भवन अगाडि रात बिताउन बाध्य बेसाहाराहरुले सिरक डसना सेट पाएका छन् । पछिल्लो समय समाजमा देखिएको घरघरमा हामी अभियान नामको संस्थाले उनीहरुलाई सिरक डसनाको सेट उपलब्ध गराएको हो । सिरक डसना सेट वितरण गर्दै अभियानका संयोजक शिव डुम्रेले बुटवल उपमहानगरपालिका सडक मानवमुक्त रहेर पनि यसरी सडकमा रात बिताउनुपर्ने अवस्था रहनु निकै दुःखदायी भएको बताए ।

सडकको बास गरिरहेका राम नेपाली, विक्रम सुनार, मोहन खड्का र श्याम विकको परिवारलाई अभियानले सिरक डसना र खानासहितको सहयोग गरेको थियो । कोरोना माहामारी फैलिएपछि सडक अनुगमन रोकिएको छ । उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले पनि कोरोना माहामारीका कारण केहि सुस्त भएको स्वीकार गर्छन् । पहिलेदेखि नै रहेका बेसहारालाई संक्रमण सर्ने खतराका कारण केहि असहजता भएको होु रेग्मीले भने । सडकमा बेसाहारा मानव देखिए सामाजिक शाखामा खबर गरिदिए उपमहानगरले उद्दार गर्ने उनले बताए ।





error: Content is protected !!