रुकुम पश्चिममा सडक निर्माणको विषयमा झडप, ७ जना घाइते

रुकुम पश्चिम ः सडक निर्माणको क्रममा भएको विवादले उग्ररुप लिएपछि झडप हुँदा ७ जना घाइते भएका छन् । चौरजहारी नगरपालिका–७, मेलैनाउली बजारमा दुई गाउँलेबीच सडक निर्माणको विषयलाई लिएर शुक्रबार झडप भएको हो ।
झडपमा ७ घाइते भएका हुन् । २ जनाको अवस्था गम्भिर छ भने ५ जना सामान्य घाइते भएका इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए । घाइतेहरुको विवरण खुलिसकेको छैन ।
घाइतेलाई उपचारका लागि चौरजहारी अस्पताल पठाइएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो ।
मेलैनाउली बजारबाट अघि बढ्ने एउटा सडक पहिल्यै छ । अर्को सडक निर्माणको विषयमा विवाद भएको थियो । माथि गाउँकाले सडक निर्माण गर्ने र तल गाउँकाले सडक निर्माण गर्न नहुने भनेर झडप भएको थियो । माथि गाउँकाले सडक बनाउनै पर्ने भनेर डोजर चलाएको र तल गाउँकाले डोजर रोक्न प्रयास गरेपछि झडप भएको प्रहरी निरीक्षक डाँगीले बताए । गत वर्ष पनि सडक निर्माणको विषयमा केही दिन तनाव उत्पन्न भएको थियो ।








