गृहमन्त्री बादल ओलीतिर नजिकिए, वामदेव अलमलमा

काठमाडौं ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनमा तटस्थ देखिँदै आएका गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नजिकिएका छन् ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको आ- आफ्नो केन्द्रीय कमिटी बैठकमा बादल गएका थिएनन् ।

तर उनले बुधबार बिहान प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् । त्यसपछि उनी आफूहरुको सम्पर्कमा आउन नचाहेको प्रचण्ड- माधव पक्षका एक नेताले बताए ।

स्रोतका अनुसार बादलले प्रधानमन्त्री ओलीसँग आफूलाई पार्टीको सहअध्यक्षसहित दोस्रो बरियता मागेका छन् । तर, त्यहाँ ईश्वर पोखरेलजस्ता सिनियर नेता रहेकाले बादललाई दोस्रो बरियता दिन ओलीलाई अप्ठ्यारो परेको स्रोतले बताउँछ ।

ओली समूहमा पूर्वमाओवादीबाट लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापालगायतका नेताहरु पनि समाहित भएका छन् । केपी ओली उनीहरुलाई कामचलाऊ सरकारको मन्त्री बनाउनुपर्ने दबाबमा छन् ।

माओवादी जनयुद्धकालमा प्रचण्डका मुख्य सारथी रहेका बादल माओवादी पार्टी फुट्दा प्रचण्डलाई गैरक्रान्तिकारी ठहर गर्दै मोहन वैद्यसँग लागेका थिए । बैद्य समूहको महासचिव बनेका उनी पछि वैद्यलाई छाडेर फेरि प्रचण्डकै पार्टीमा फर्किएका थिए ।

प्रचण्डसँग फर्किएपछि बादल समूहले देशैभरि पार्टी र सरकार दुबै मोर्चामा राम्रो भाग पाएको थियो । एमालेसँग एकता भएपछि पनि प्रचण्डले उनलाई गृहमन्त्रीको मुख्य जिम्मेवारी दिए । तर, अहिले त्यही मन्त्री पदले बादललाई केपी ओलीसँग नजिक बनाएको बादलकै गुटका नेताहरु बताउँछन् ।

तीन दिनअघि मन्त्रीनिवास पुल्चोकका बादल समूहका करिब २० जना नेताहरुको बेग्लै भेला भएको थियो । भेलामा बादलले प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको कदमलाई प्रतिगामी कदम भनेका थिए । तर, त्यसको तीन दिनपछि नै उनी ओली समूहतिरै लागेका छन् ।

बादल ओली समूहतिर नजिकिए पनि वामदेव गौतमचाहिँ बुधबार साँझसम्म कतैतिर लागेका छैनन् । बुधबार बिहानै खुमलटारमा प्रचण्डलाई भेट्न आउँछु भनेको गौतम खुमलटार पनि नगएको बुझिएको छ ।





error: Content is protected !!