सुन्दर कर्णाली र दैलेखमा कृषि पेशा

–के.बि.मसाल
कोरोना भाइरसको संक्रमणबाट अहिले बिश्वनै कोकाहल बनेको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस फैलिने क्रम जारी छ भने यसको प्रभाव कहिलेसम्म रहने, कति जनसंख्या प्रभावित हुने, कतिले ज्यान गुमाउनुपर्ने, रोग नियन्त्रणका लागि स्थायी उपचार विधि कहिले पत्ता लाग्ने कुनै आकलन अहिले सम्म भएको छैन् । स्वास्थ्य क्षेत्रमा अब्बल राख्ने विकसित पश्चिमी मुलुकहरुले समेत अहिले लकडाउनको सामना बेहोर्नुपरेको छ । हालसम्म यस रोगको नियन्त्रण अर्थात रोकथामको लागि समाधान लकडाउन भएको छ ।
कोरोना भाइरसको स्थायी उपचारको विधि आविष्कार नभए पनि नेपाललाई भने अरु देशको तुलनामा कोरोना संक्रमणले छोएको मात्र छ । कोरोना भाइरसको प्रकोपले भौतिक संरचनामा असर नपारे पनि मानव समाजमा आर्थिक गतिविधिमा असर पार्न थालेको छ । कृषिजन्य उपभोग्य वस्तुहरुमा समेत भारतलगायत अन्य देशहरुसँग परनिर्भर रहेको देश यो महामारीको सिकार बनेको छ । कोरोना भाइरस संक्रमणका कारण समग्र अर्थब्यवस्था चौपट हुन थालेको छ । मानिस स्वभावैले सामाजिक प्राणी भएपनि अहिले सामाजिक दूरी बढाएको छ । कोरोना महामारीले मानिसको रहनसहनदेखि खानपिनसम्मको गतिविधि फेरिएको छ । हात मिलाउने मानिसहरु अहिले नमस्तेमा फर्किएका छन् । अहिले बिदेशबाट र शहरमा रहेका धेरै मानिसहरु आफ्नो गाउँ दैलेखमा फर्किएका छन् ।
सुन्दर कर्णाली दैलेखका अधिकांश मानिसहरु रोजगारीकै लागि भारतमा जान्छन् । खाडी मुलुक अर्थात मलेसिया र अन्य देश भन्दा सजिलो दैलेखका युवाहरुलाई भारत सजिलो हुन्छ । कारण हो भिसा पनि नचाहिने, थारै पैसामा पनि पुगिने र कुल्ली कवाडी देखि लियर आफ्नो क्षमता अनुसार काम पनि पाइने । भारतमा पुगेपछि अधिकाशं युवाहरुले गर्ने काम मजदुरी हो । मजदुरी गरेर घरको गर्जो टार्ने बर्गका मानिसहरु वर्षमा दुईचोटि सम्म भारतमा जाने गर्दछन् । जमिनमा लगाएको खेतीले बल्ल तल्ल खानलाई ६ महिना पुग्छ । अधिकांश परिवारले दैनिक गुजारा चलाउन र लत्ता कपडा किन्न ऋण काढनु पर्दछ ।
कस्तूरीले आफ्नै नाभीको बास्ना नचिनेझैँ प्रकृतिले अनुपम उपहार दिएर पनि दैलेखका युवाहरुमा बिदेश प्रेम भने कहिल्यै घटेन । दैलेखी युवाहरु लाहुर जान थालेको सदियौँ अघिदेखि नै हो ।
पछिल्लो समय त दैलेखी युवा विदेशिने क्रम झनै बढेको छ । मलेसियादेखि अरब मुलुकहरुको प्रचण्ड गर्मीमा पसिना बगाउनु मात्र हैन, काठको बाकसमा लास मात्र फर्किनु पनि कतिपय दैलेखी युवाको नियति बन्ने गरेको छ । दैलेखमा कृषि बजारको खासै समस्या छैन । कृषिमा लगानी, सहुलियत र अनुदान नेपालमा केवल कागजमा मात्र सीमित हुने गरेका छन् । गैरसरकारी निकायले गरेको कृषिको लगानी पनि अधिकांश फ्रिज हुने गरेका छन् भने कतिपय कागजी प्रक्रिया मिलाएर खर्च भएको देखाइने गरेको छ । सरकारी सेवा लिँदा किसानले व्यहोर्नुपर्ने झन्झटिलो प्रक्रिया, खुलेआम हुने भ्रष्टाचार र ढिलासुस्तीका कारण किसानको पहुँच राज्यको निकायसम्म पुग्न सकेको छैन । नेपाललाई व्यवहारमै कृषि प्रधान देश बनाउनका लागि जतिसक्दो छिटो राज्यको कृषि नीति परिवर्तन गर्न जरुरी छ ।
सुन्दर कर्णाली शब्द समय, ठाउँ र सन्दर्भ अनुसार फरकफरक रुपले अर्थ लगाउने गरिन्छ । सुन्दरता भनेको भावनात्मक कुरा हो । जसलाई एउटै विशेषण र परिभाषाभित्र सीमित राख्न सकिँदैन । सुन्दर कर्णालीको अर्थ र परिभाषा प्रत्येकको सोच अनुसार फरक हुन सक्दछ । सुन्दर शब्दलाई विविध आयमबाट व्याख्या एवं विश्लेष्ण गर्दा राम्रो हुन्छ । सुन्दर कर्णालीको अर्थ पनि त्यसै गरी लिन सकिन्छ । सुन्दर कर्णाली भौगोलिक रुपमा जति विकट छ, त्यति नै सुन्दर छ । दैलेखमा हिमाल त छैन तर धेरै हिम श्रृखलाको अवलोकन पनि गर्न सकिन्छ । दैलेखको भूगोलमा कलकल बगिरहने कर्णाली र खोलाहरुको सुन्दर दृश्यलाई शब्दमा बयान गरेर सकिँदैन । कर्णालीको सस्भता, बिश्वकै अग्लो ठाँउमा धान फल्ने ठाउँ, नेपालकै ठूलो रारा ताल, गहिरो फोक्सुन्डो ताल, विश्वमै नभएका पंचदेवल, ढुंगे धारा, मागल र झोडा संस्कृति यी सबे कर्णालीका सम्पती हुन र यसले कर्णालीको सुन्दरता बढाएको छ । जैविक विविधता र पर्यटकीय हिसाबले पनि उत्तिकै सुन्दर कर्णाली । सुन्दर कर्णालीसंग यो पनि जोडिएको छ
कला–संस्कृति, सभ्यता र प्राकृतिक सुन्दरताले भरिपूर्ण सुन्दर कर्णालीको परिचय गरिब, अशिक्षित, अभाव अनि विकटको रुपमा थियो । अब परम्परागत परिचय बदल्नका लागि सुन्दर कर्णालीले आम्दानीका स्रोत खोज्नु पर्दछ । भएका स्रोत र साधनलाई आम्दानीको राम्रो माध्यम बनाउन सके सुन्दर कर्णालीको जीवनस्तरमा सुधार आउछ । सुन्दर कर्णालीको एउटा जिल्ला हो दैलेख । दैलेखलाई सुन्दर कर्णाली बनाउन अब नयाँ सोच अनुसार स्थानिय सरकारको योजना हुनु पर्दछ । दैलेखबाट बर्षेनी हजारौको सख्यामा युवाहरु गल्फ कन्ट्री र छिमेकी मुलुक भारतमा रोजगारकिो लागि जाने गरेका छन् । युवाहरुको श्रम शक्तिलाई स्थानिय सरकारले आफ्नो ठाउँमा प्रयोग गर्न सकिराखेका छैनन्ं । युवाहरुलाई रोजगार मुलक स्वरोजगारका उत्पादनमूलक कार्यक्रमहरु दैलेखले चलाएको देखिदैन ।
स्वरोजगार मुलक रोजगारीको अवसर आफ्नो ठाउमा पाएको भए युवाहरु विदेशि भूमीमा रोजगारीको लागि जान पर्दैन थियो । जिल्ला भित्र उत्पादन मुलक उद्योग नभएपछि आर्थिक दृष्टिकोणले दैलेखलाई गरिवकिो जिल्लाको रुपमा लिइने गरिन्छ । पछिल्लो समय दैलेखमा विकास निर्माणका कामहरु सन्चालनमा आएका छन् । दैलेखका प्रमुख व्यापारिक केन्द्रहरुमा भलै कच्ची र ग्राभेल भएपनि यातायातको सुविधा भएको छ । दैलेख आर्थिक दृष्टिले गरिब भए पनि सम्पदामा गरिब छैन । अनगिन्ती सुन्दर पहाडी श्रृखलाले दैलेखलाई सजाएको छ । दैलेखको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधताले धेरै सम्भाव्यता लुकेको छ ।
प्राकृतिक सुन्दरता मात्र भएर हुदैन । दैलेखलाई सुन्दर दैलेख बनाउन अब आर्थीक उन्नती गर्न पर्दछ । आर्थीक उन्नतीको लागि दैलेखले अब कृषिलाई ब्यवसायी बनाउन पर्दछ । परम्परागत रुपमा गरिदै आएको निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक कृषिमा लैजान पर्दछ । गाउँघरमा बाझो बन्दै गइरहेका जमिनमा युवाहरुको श्रम लगाउनु पर्दछ । दैलेखमा बग्ने रामगाड, भुतगाड, कर्णाली नदी, लोहोरे खोला, छामगाड खोला, पादुका खोला, खुनगाड खोला र कानेगाड खोलाबाट नहर अथवा बोरिङ गरेर भएपनी कृषिको लागि सिचाईको प्रवन्ध स्थानिय सरकारले गर्नु पर्दछ । सिचाइ भएपछि गाउँमा स्वत युवाहरुबाट स्वरोजगार बनने बाटो हुन्छ । गाउँमा नगदे बाली उत्पादन हुन थाल्दछ । धान,गहुँ, मकै, कोदो, फापर, कागुनु चिनो,जनाली,आलु सिमी लगायतका कृषिजन्य बस्तुको उत्पादन बढछ ।
दैलेख सुन्दर कर्णालीको फरक जिल्ला हो । दैलेखका सुन्दर नागवेली डाडाकाडामा एउटै भूगोलमा गुरास देखि गुलाफ पनि फुल्ने गर्दछन् । विश्वकै दुर्लभ मानिएको शमी र रुद्राक्षको रुखहरु दैलेखमा पाइन्छ । त्यस्तै काफल, चुत्रो, ऐँसेलु, रातो गुराँस, सेतो गुराँस, सुनगाभा, रक्तचन्दन, टिमुर, हतपसारो, काउलो, पाषाणभेद, अल्लो सल्ला, देवदार, पाँगर, साल, साज, सिसौ, खयर सतुवा, असुरो जस्ता अनेकौं मुल्यवान वनस्पतिहरु पनि दैलेखमा हुन्छ । प्राकृति वनस्पतीको संरक्षण गर्दै अब देलेखमा प्रत्यक्ष आर्थीक लाभ हुने फलफुलको बिकास गर्न पर्दछ । दैलेखको हावापानीमा सुन्तला, केरा, आपँ, लिची, कटहर, कागती, निवुवा, ज्यामीर लगायतका फलफुल हुन्छ । दैलेख र कालिकोटको सिमाना तरिका गाउँ पालिकामा स्याउँको खेती समेत गर्न सकिन्छ । दैलेखमा अब ब्यवसायीक रुपमा फलफुल खेती गर्न पर्दछ । यो बाहेक अहिले मेक्सीकोबाट आयत भएको एभोकार्डो र ड्रागन फलको पनि खेत खेती गर्न सकिन्छ ।
ड्रागन फल दक्षिण अमेरिक अर्थात मेक्सीको को रैथाने फल हो । यो फल सिउडी प्रजाती अन्तर्गत पर्दछ र बिरुवा सिउडी जस्तै हुन्छ । थाइल्यान्ड, भियतनाम, मलैसिया र इन्डोनेशियामा ड्रागन फल धेरै नै लोकप्रिय छ । केही बर्ष यता ड्रागन फलको खेती नेपालमा पनि सुरु भएको छ । यो फल सिउडी प्रजाती अन्तर्गत पर्ने भएकोले यसको खेती गर्दा धेरै मलखाद, हेरचाह र पानी नचाहिने हुन्छ । नेपालमा अहिले सम्म यसको ब्यापार बिभिन्न पाँचतारे होटेल र सुपर मार्केटहरुमा मात्रै सिमित छ । यो फल स्वास्थ्यका लागि निकै लाभदायक छ । नेपालमा ड्रागन फलको खेती भित्रिएको करिब १८ वर्ष मात्र भएको छ । ड्रागन फ्रुटले ग्याष्ट्रिक, कब्जियत, क्यान्सर, मुटुरोगलगायत मानव शरीरमा लाग्ने विभिन्न रोगसँग लड्न सक्ने क्षमता राख्छ ।
अहिले दैलेखका गाउँघरमा कृषि पेशा पछिल्लो समयमा युवाहरुको विकर्षण बढदो छ ।
घरवरिपरिका खेतबारी बाँझै छाडेर बरु अरबियन मुलुकको मरुभूमिमा पसिना बगाउन तयार देखिने युवाहरु कृषिमा अर्थोपार्जनको सम्भावना नै देख्दैनन् । जुन वैदेशिक रोजगारीको लागि देखेको सपना र बिदेसिने मानसिकताले गाँजेको उपज हो । कृषिक्षेत्र नेपाली अर्थतन्त्रको मेरुदण्ड मात्र होइन, जनजीविकाको आधार पनि हो । कुल उत्पादनको ३३ दशमलव ५ प्रतिशत हिस्सा ओगटेको यस क्षेत्रलाई ब्यवसाय बनाउन सकिन्छ । तर यसमा न त राज्य र नीजि क्षेत्रको गम्भीर ध्यानाकर्षण हुन सकेको छ, न लगानी नै । कृषिका लागि एक गाउँ एक उत्पादन जस्ता नाराहरु भए पनि यस्ता योजनामा राजनितीक दलसग जोडिएका मानिसहरु हाबी हुने गरेका छन् । ठूला कागजी योजना बनाउने र बैकसंग करौडौ ऋणलिने र काम नगर्ने मानिसहरु को सख्या धेरै छन् ।
अबको सुन्दर दैलेख भनेको कृषिलाई आधुनिकरण गरेर उत्पादन बढाउनुपर्दछ । पुरानो परम्परामा खेतीलाई विस्तापित गर्दै लानु पर्दछ । नयाँ प्रविधि प्रयोग गरेर कृषिको उत्पादन बढाउनु पर्दछ । कृषिमा आधुनिकरण गर्न नसक्दा दैलेखमा किसान अर्धवेरोजगार हुनुपरेको हो । मुख्य कुरा दैलेखका ग्रामीण भेगका अधिकाशं कृषकहरुलाई ब्यवसायी कृषि प्रणालीको पर्याप्त जानकारी छैन भन्दा पनि हुन्छ । त्यसको महत्व विशेषता र प्रचारप्रसारका विभिन्न कार्ययोजना सरकार र स्थानीय कृषकहरुले संयुक्त रुपमा सञ्चालन गर्नुपर्ने पहिलो काम देखिन्छ । त्यसपछि मात्र कसरी ब्यवसायीक कृषि कार्य गर्न सकिन्छ भन्ने योजनाहरु बनाउन सकिन्छ । कृषि विकासका लागि नयाँ ढंगले सोचको विकास, भरपर्दो प्रशिक्षण आवश्यक छ । कृषि मेला अलमल्याउने प्रकृतिको मात्र भएको छ । अब दैलेखको ग्रामीण विकासको आधार भनेको कृषिनै हो । दैलेखका खेतीयोग्य जमीन दिन प्रतिदिन बाझो बन्दै गइरहेको छन् । पशुपालनको लागि धेरै सम्भावना भए पनि त्यसको सही प्रयोग हुन सकिरहेको छैन । कृषि पेशा आम देलेखीमा हेलाको हिसाबले हेरिने पेशा बनेको छ ।
कृषि पेसालाई मर्यादित र सम्मानित बनाउने र कृषिका लगानीकर्तालाई प्रोत्साहन तथा सम्मानको व्यवस्था स्थानिय सरकारबाट हुनु पर्दछ । आफ्नो जन्मस्थानमा कृषि पेसामा सम्मान प्रोत्साहन नपाएका कारण दिन प्रतिदिन युवा विदेश पलायन हुने विषयलाई रोक्न पनि कृषिमा आकर्षण र सम्मान दिन सक्नु पर्दछ । सहज रुपमा मल, बीउ, अनुदान, सुलभ ऋण प्राप्त हुने अवस्था भए कृषिमा लगानीकर्ता सुरक्षित र आकर्षित हुन्छन । कृषि क्षेत्रलाई हरेक तहबाट अनिवार्य प्राथमिकतामा राख्नुपर्ने व्यवस्था सरकारले गर्नुपर्दछ । अर्को महत्वपूर्ण कुरा कृषिमा भएको लगानीको सुरक्षा हो । प्राकृतिक विपत्ति वा रोगजन्य कारणबाट हुने क्षतीबाट जोगाउन बाली तथा पशु बीमाको व्यवस्था गरिनु पर्दछ । औद्योगिक बीमाको व्यवस्था गर्ने हो भने मात्र ब्यवसायी कृषि सुरक्षित बन्न सक्दछ ।
कोरोना कहरले गर्दा हाल वैदेशिक रोजगारीका सिलसिलामा विशेष गरी खाडी मुलुकमा गएका कैयौं युवा स्वेदश अर्थात दैलेख फर्केका छन् । अर्को तर्फ जीवनयापनका लागि सहरमा रोजगारी गरी बसेका युवाहरुसमेत गाउँतिर फर्किनुपर्ने अहिलेको बाध्यात्मक अवस्था छ । विदेशबाट फर्किएका र फर्किन चाहेका दैलेखका युवाहरुलाई आफ्नै गाउँमा स्वरोजगार सिर्जना गर्ने अवसरसमेत कोरोना कहरले जुटाएको छ । कामको खोजीमा विगतका वर्षहरुदेखि दैलेख छाडी सहरी क्षेत्र विशेष गरी तराई क्षेत्रमा अत्यधिक रुपमा बसाइँसराइ गर्नेहरुका लागि पनि आफ्नै जन्मथलोको याद कोरोना कहरले दिलाइदिएको छ । कुनै समयमा कृषि उत्पादन र उपभोगमा आत्मनिर्भर रहेका दैलेखीहरुको खेतीयोग्य जमिनसमेत बाझिन पुगेका छन् ।
कृषि क्षेत्रको मूल समस्या भूमि सरोकारसँग धेरै जोडिएको छ । भूउपयोग नीति र जग्गाको वैज्ञानिक वर्गीकरण गरी कृषियोग्य जमिनको खण्डीकरण रोकी जग्गा एकीकरण र क्षेत्रगत कृषि कार्यक्रम लागू गर्नुपर्दछ । कृषियोग्य जमिनमा रहेको सामन्ती भूस्वामित्वको अन्त्य गर्न जरुरी छ । अहिलेको अवस्थामा रहेको निजी स्वामित्वका जग्गाको अतिरिक्त सार्वजनिक जग्गा तथा सामुदायिक वनक्षेत्रमा समेत कृषि उपयोगिताका आधार खोज्नु पर्दछ । अब वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुको जमातलाई दैलेखमै रोजगारीको अवसर सिर्जना गर्न, बसाइँसराइ गरी सहर जानेहरुको जमातलाई पुनः फिर्ता गरी खेतीयोग्य जमिन पुनः स्थापित गरी दैलेखको अर्थतन्त्रको विकास गर्नको लागि सरकारले कृषि क्षेत्रमा नीतिगत उपायहरु अबलम्बन गर्नुपर्ने हुन्छ ।
मिती ः– २४ मार्ग २०७७ दाङ








