कोरोनाका कारण रोजगारी गुमाएकालाई पुन नियुक्ति

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाले कोरोनाको कारण देखाउँदै हटाइएका शिक्षक र कर्मचारीलाई पुनस्नियुक्ति दिएको छ ।

नगरपालिकाले करार सम्झौता रद्द गरेका डेढ सय शिक्षक र कर्मचारीलाई फेरि नियुक्ति दिएको हो । उनीहरुले ८ महिनापछि नियुक्ति पाएका हुन् ।

नगरपालिकाले नियुक्त गरेका शिक्षक तथा कर्मचारीको करार सम्झौता गत वैशाखमा रद्द गरेको थियो । नगरपालिकाले राजश्व बाँडफाँड शिर्षकबाट आउनुपर्ने बजेट नआएको र विद्यालयसमेत बन्द रहेको भन्दै १ सय ६६ जना शिक्षक, कर्मचारीहरुलाई हटाएको थियो ।

सम्बन्धित विद्यालय र नगर शिक्षा, युवा तथा खेलकुद शाखाबाट गरिएको कार्यसम्पादन मूल्यांकनबाट सफल भएका एक सय ४५ जनाको करार सम्झौता नविकरण गर्ने नगर शिक्षा समितिको असोज ३० गतेको निर्णयलाई कात्तिक १ गतेको ५३ औं नगर कार्यपालिका बैठकले पारित गरेको हो ।

बैठकले सहिद स्मृति नमुना माध्यामिक विद्यालयमा कार्यरत ५ जना शिक्षक, कर्मचारीको करार सम्झौता पनि थप गरेको छ । उनीहरुको असोज २१ गते र अन्य डेढ सय शिक्षक र कर्मचारीको कात्तिक १ गते देखि लागू हुने गरी करार सम्झौता नविकरण भएको नगरप्रमुख गोर्खबहादुर केसीले बताए ।

 

कार्यसम्पादन मूल्यांकन कमजोर भएका केही शिक्षक र कर्मचारीलाई हटाइएको उनले जानकारी दिए । उनका अनुसार नियुक्ति दिइएका १ सय ४५ जना शिक्षकलाई आन्तरिक स्रोतबाट तलब दिने गरी पुनस्नियुक्त गरिएको हो ।





error: Content is protected !!