शिलापत्र घोचोमा अड्याएर उद्घाटन


नरजन तामाङ

हुम्ला ः शिलापत्रलाई काठको टेकोले अड्याएर स्वास्थ्य सेवा कार्यालय, हुम्लाको भवन उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका प्रमुख गोविन्द कलौनीले स्वास्थ्यको भवन उद्घाटन गरेका हुन् ।

संघीय सरकारको बजेटमार्फत निर्माण भएको स्वास्थ्य कार्यालयको भवन दुई साताअघि उद्घाटन गर्ने तयारी भएको थियो । तर, नेकपाभित्रको विवादले प्रदेशका सामाजिक विकासमन्त्री दल रावलको पद जाने हल्ला चलेको थियो । जसले गर्दा भवन उद्घाटन कार्यक्रम रोकिएको थियो ।

नेकपाभित्रको विवाद साम्य भएपछि मन्त्री रावल एकाएक हुम्लाको भ्रमण आएका थिए । उनी आएपछि फेरि स्वास्थ्य कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम बनेको एक कर्मचारीले बताए । भवन कसले उद्घाटन गर्ने भन्ने मंगलबार दिउँसोसम्म तय भएको थिएन ।

भवन उद्घाटनका लागि मंगलबार साँझ प्रदेश प्रमुख कलौनी आउने तय भएपछि एकाएक शिलापत्र तयार गरिएको ती कर्मचारीले बताए । जसले गर्दा भवनको मुख्य प्रवेशद्वारमा काठको टेको लगाएर शिलापत्र राखिएको हो । प्रदेश प्रमुख कलौनीले बुधबार त्यही शिलापत्र ढाकिएको कपडा हटाएर भवनको उद्घाटन गरेका हुन् ।

हुम्ला कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललगायतका अधिकारीसँग हुम्ला पुगेका प्रदेश प्रमुख कलौनीले आज बुधबार एक कार्यक्रमबीच उक्त भवनको उद्घाटन गरेका हुन् । स्वास्थ्य कार्यालय भवन डिभिजन कार्यालय जुम्लामार्फत संघीय सरकारको दुई करोड ९७ लाख ९१ हजार सात सय २२ रुपैयाँ ८९ पैसाको लागतमा निर्माण भएको हो ।

भवनको उद्घाटन गर्दै प्रदेशका प्रमुख कलौनीले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले बताए । उनले प्रकृतिले दिएको उपहारलाई सदुपयोग गराउन आफूले प्रदेश, संघ सरकारको ध्यानाकर्षण गराउने बताए ।

त्यस्तै, सामाजिक विकासमन्त्री दल रावलले स्वास्थ्य संरचना र स्वास्थ्य जनशक्तिको अभाव रहँदै आएको बताए । उनले गत दुई वर्षको अवधिमा आफूले स्वास्थ्य क्षेत्रमा सक्दो काम गरेको बताए । अबको दुई वर्षमा हुम्लाको २५ शय्याको अस्पताललाई ५० शय्याको अस्पतालमा रूपान्तरण गर्ने मन्त्री रावलको भनाइ थियो ।





error: Content is protected !!