रगतको जोहो गरेर शल्यक्रिया

रुकुम पश्चिम — रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–१२ की पृथीमाया पुनलाई गत भदौ १९ गते जिल्ला अस्पताल, सल्ले ल्याइयो । रगतमा हेमोग्लोविनको मात्रा अन्तिम अवस्थामा पुगेपछि अस्पतालमा भर्ना भएकी उनको शल्यक्रिया गर्नैपर्ने थियो।
अस्पतालले शल्यक्रिया कक्ष त तयार पार्यो, तर छिट्टै शल्यक्रिया हुने अवस्था रहेन । किनकी अस्पतालमा रगतको व्यवस्था छैन । रगत नपाइने भएपछि के गर्ने होला भनेर आत्तिएका पृथीमायाका आफन्तलाई जिल्ला अस्पतालकै एक चिकित्सकले हौसला दिए । मेडिकल अधिकृत परीक्षित ओलीले पृथीमायाको रक्तसमूह मिल्ने भएकाले रक्तदान गर्ने निर्णय गरे । उनले १ पिन्टसहित २ जना नेपाली सेनाका जवानले २ पिन्ट रगत दान गरेपछि उनी १ हप्तापछि डिस्चार्ज भइन् ।
जिल्ला अस्पतालका निमित्त प्रमुख डा।राजकुमार भुजेल पनि मुसीकोट नगरपालिका‘ ७ की सुशीला घर्तीका रक्तदाता भए । घरमै सुत्केरी भएका कारण पाठेघर च्यातिएका कारण उनको शल्यक्रियाका लागि भुजेलले असोज १५ गते रक्तदान गरेका हुन् ।
जिल्ला अस्पतालको यो समस्या तत्कालको होइन । अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउन थालेदेखिकै समस्या हो । एक दशकको बीचमा केही समय शल्यक्रिया गर्ने चिकित्सक नभएको बेला बाहेक अरु हरेक समयमा यसरी नै रगतको जोहो गरेर शल्यक्रिया गर्ने गरिएको छ । शल्यक्रियाका लागि रगत नभइ नहुने भए पनि ब्लड बैंकबिना शल्यक्रिया जटिल बन्दै गएको छ ।
अस्पतालका महिला रोग विशेषज्ञ डा।केहलविक्रम जिसीले अधिकांश शल्यक्रियामा रगत अनिवार्य हुनुपर्ने बताए । जटिल अवस्थाका गर्भवतीको अप्रेशनका लागि अनिवार्य रगत चाहिने भए पनि जोरजाम गरेर अप्रेशन गर्नु जटिल भएको उनले बताए ।
जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना पनि भएको हो । तर त्यो दिगो हुन सकेन । नेपाल रेडक्रस सोसाइटी र साविक जिल्ला विकास समितिको पहलमा थालनी गरिएको ब्लड बैंक लामो समय टिक्न सकेन । २०७१ र ७२ सालको विनियोजित बजेटबाट रक्तसंचार केन्द्रको स्थापना गरिएको थियो । उक्त केन्द्र चल्न सकेन ।
विद्युत् समस्याका कारण रक्तसञ्चार केन्द्र सञ्चालनमा समास्या आएको हो । अस्पतालका निमित्त प्रमुख डा भुजेलले रगत अभावमा भएको बेला अधिकांश समय उपचारमा समस्या हुने गरेको बताए ।










