रामपुर नगरपालिकामा विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा

सुशीला रेग्मी

रामपुर (पाल्पा), २६ कात्तिक ः पाल्पाको रामपुर नगरपालिकाले कोही पनि नागरिक आर्थिक समस्याका कारण औषधी उपचारबाट वन्चित हुनु नपरोस् भनी निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ ।

स्वास्थ्य बीमा गर्न नसक्ने गरिव, दलित, विपन्न परिवारका सदस्यलाई लक्षित गर्दै नगरपालिकाले निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले गाउँ तथा टोल टोलका विपन्न परिवारका नागरिक पहिचान गरी स्वास्थ्य बिमा निशुल्क गरिदिएको छ । नगरपालिकाले जिपी (गिरीजा प्रसाद) कोईराला स्वास्थ्य कार्यक्रम मार्फत स्वास्थ्य बीमा गर्न थालेको हो ।

गत आर्थिक वर्ष २०७६÷०७७ बाट वजेट विनियोजन गरी कार्यबिधि तयार गरेर आगामी मङ्सीर १ गते देखि लागु भई २०७८ साल कात्तिक १ गते सम्म मान्य हुने गरी नगरपालिकाले बीमा सुरु गरेको छ ।

स्वास्थ्य बीमाको लागि गतवर्ष रु पाँच लाख र यस आर्थिक वर्षमा रु पाँच लाख रकम विनियोजन गरिएको छ । सोही वजेटबाट कार्यक्रम अगाडी बढाइएको छ । पहिलो चरणमा एक सय आठ घरपरिवारका नागरिकको बीमा गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । सो कार्यक्रमबाट नगरका पाँच सय ४० नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

“स्वास्थ्य सेवाको पहुँच बढाउन र उपचार नपाएर कोही पनि नागरिकले मत्युवरण गर्न नपरोस् भनी विपन्न परिवारका लागि बीमा कार्यक्रम ल्याएका हौँ” नगर प्रमुख थापाले भन्नुभयो ।

आर्थिक अभावमा परिवारको स्वास्थ्य बीमा गर्न नसक्दा औषधी उपचारमा निकै समस्या झेल्नुभएकी फूलमाया सुनारले नगरपालिकामार्फत पाँच जना परिवारको बीमा गर्न पाउँदा खुशी हुनहुन्छ ।

“परिवारमा कसैलाई रोग लागेमा या स्वास्थ्य सम्बन्धी समस्या परेमा निर्धक्कका साथ निशुल्क औषधी उपचार गर्न पाइने भयो, पहिला बीमा गर्न पनि नसक्दा आफ्ना समस्या भित्र भित्रै लुकाएर राख्न बाध्य थियौँ” सुनारले भन्नुभयो । गाउँघरमा बीमित रकम बुझाउन नसक्ने अति नाजुक परिवारका लागि नगरपालिकाले ल्याएको यस कार्यक्रमले स्वास्थ्य उपचारमा ठुलो राहत मिल्ने अभिनाश विका बताउनुहुन्छ ।

नगरपालिका भित्रका दलित, गरिव, विपन्न समुदायका करिव चार सय घरपरिवारको बीमा गरिदिने कार्यक्रम रहेको छ । जसका लागि करिव रु एक करोड आठ लाख बराबरको रकम खर्च हुने अनुमान गरिएको छ । रामपुर नगरपालिकाले बीमा अभिकर्ता रामबहादुर राना र शारदा पंगेनीमार्फत बीमा गराएको छ ।

नागरिकलाई स्वस्थ्य र उनीहरु औषधी उपचारमा रोग संग लडेर बस्न नपरोस् भनी नागरिकको स्वास्थ्यलाई महत्व दिदै स्वास्थ्य बीमा कार्यक्रम ल्याएको नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य बताउनुहुन्छ ।

नेपाल सरकारको नियम अनुसार पाँच जना सम्मको परिवारका लागि रु तीन हजार पाँच सय शुल्क तिरेर बीमा गरेबापत बीमीतले रु एक लाख सम्मको एकवर्ष सम्मका लागि स्वास्थ्य उपचार सेवा पाउने बीमा अभिकर्ता रामबहादुर रानाले बताउनुभयो । पाँच जना भन्दा माथिका परिवारका सदस्यका लागि भने प्रति सदस्य रु सात सय शुल्क कायम गरिएको छ भने उपचारमा प्रतिव्यक्ति रु २० हजार थपिदै जानेछ । धेरै सदस्य सङ्ख्या हेरेर बढीमा दुई लाख सम्म बीमाको सुबिधा लिन पाइने व्यवस्था छ





error: Content is protected !!