सीमा प्रहरी चौकी सदरमुकाम विस्थापित

छपाल लामा
हुम्ला — हिमपातको सिजन सुरु भएपछि नेपाल–चीन सीमा सुरक्षामा तैनाथ नाम्खा गाउँपालिका –६, सुनखानीस्थित प्रहरी चौकी विस्थापित भएको छ । चिसो बढेपछि चौकीमा कार्यरत प्रहरीलाई सदरमुकाम बोलाइएको हो ।

चिसोका कारण बर्सेनि जेठ महिनामा सदरमुकामबाट गएको प्रहरी टोली कात्तिक दोस्रो सातासम्म सुनखानी बस्छ । हिमपात हुन थालेपछि प्रहरीलाई सदरमुकाम फिर्ता बोलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिताराम विष्टले बताए । उनका अनुसार सदरमुकाम आएका प्रहरीलाई गर्मी महिना सुरु भएपछि जेठमा मात्र सुनखानी पठाइनेछ । चौकीमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा २३ जना प्रहरी दरबन्दी कायम गरिएको छ । तर यस वर्ष ७ जना मात्रै प्रहरी सीमा प्रहरी चौकी पुगेका थिए । हिमपात भएपछि चीन र नेपालको नाका झण्डै ६ महिना बन्द हुन्छ ।

जाडोमा लिमीका सबै गाउँ सुनसान हुने स्थानीय पेम्बा तामाङले बताए । उनका अनुसार लिमीका अधिकांश बासिन्दा जाडो छल्न सिमकोट, नेपालगन्ज र काठमाडौ जाने गरेका छन् । गाउँ नै सुनसान हुने भएकाले प्रहरी चौकी पनि विस्थापित हुने उनले जानकारी दिए ।





error: Content is protected !!