चार स्थानीय तहमा अस्पताल

रुकुम पश्चिम – गाउँमै स्वास्थ्य सेवा दिका लागि रुकुम पश्चिमका चार स्थानीय तहले आफ्नै लगानीमा अस्पताल स्थापना गरिएको छ ।
चौरजहारी नगरपालिका , आठबीसकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकाले अस्पताल निर्माण गरेका हुन् ।
सानीभेरी गाउँपालिकाले २०७६ फागुन १ गतेदेखि अस्पताल सञ्चालनमा ल्याएको थियो । ७ नम्बर वडाको छोटेबगरमा चिकित्सकसहित १८ स्वास्थ्यकर्मीले २४ सै घण्टा उपचार गरिरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले बताए । उनका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी आउँछन् । १५ शय्याको उक्त अस्पतालको संरचनाअनुसार अहिले १० बेड राखिएको छ । अस्पतालमा बिरामी भर्ना पनि नियमित हुन्छन् ।
आठबीसकोट नगरपालिकाले २०७५ असोज १२ गतेदेखि नगर अस्पताल सञ्चालनमा ल्याएको थियो । ९ नम्बर वडाको राडीस्थित स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको हो । २५ शैयाको अस्पताल बनेपछि स्थानीयले ३ वर्षदेखि चिकित्सकीय सेवा पाइरहेको नगरप्रमुख गोर्खबहादुर केसीले बताउनुभयो ।
दैनिक एक सय जनासम्म बिरामीको उपचार भइरहेको छ । दैनिक १० जना बिरामी इमर्जेन्सीमा भर्ना हुने गरेका छन् । अस्पतालमा डिजिटल एक्स रे सेवासमेत छ भने एक आईसीयू बेडसहित चारवटा डिजिटल मोनिटर सहितका शय्या छन् । फार्मेसी, ल्याब र प्रसूति सेवा पनि नियमित प्रवाह गरिरहेको छ ।
चौरजहारी नगरपालिकाले पनि सहिद स्मृति नगर अस्पताल सञ्चालनमा ल्याएको छ । १० नम्बर वडाको सहिद स्मृति मैदानमा ५ शैयाको अस्पताल सञ्चालनमा आएको एक साता बित्यो । अस्पतालमा चिकित्सकसहित २२ स्वास्थ्यकर्मीले उपचार थालेका छन् । अस्पतालले २४ सै घण्टा आकस्मिक सेवाको साथै प्रयोगशाला, डिजिटल एक्सरे, फार्मेसी, इसीजीलगायत उपचार सुरु गरेको नगरप्रमुख विशाल शर्माले बताउनुभयो । अस्पताल सञ्चालन कार्यविधिअनुसार ५ वडाका बिरामीका लागि चिकित्सकीय सेवा प्रवाह भइरहेको छ । १०, ११, १२, १३ र १४ नम्बर वडा र सल्यानको दार्मा गाउँपालिकाका केही भेगका सर्वसाधारणले अस्पतालबाट सेवा लिन थालेका छन् ।
त्रिवेणी गाउँपालिकाले ग्राम अस्पताल सञ्चालनमा ल्याएको छ । ३ नम्बर वडाको खारानेटामा अस्पताल सञ्चालन भइरहेको हो । नयाँ भवन बनेपछि चिकित्सकीय सेवासहितको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।










