हिमालपारि हल्जी गाउँको आफ्नै नियम ः वडाध्यक्षभन्दा गाउँका अध्यक्षको निर्देशनमा कामकाज

नरजन तामाङ
हुम्ला – हिमालपारिको उपत्यकाको रूपमा चिनिने हुम्लाको हल्जी गाउँमा आफ्नै नीति, नियम लागू हुने गरेको छ । यहाँ जननिर्वाचित वडाध्यक्षको भन्दा गाउँले चुनेको अध्यक्षको निर्देशनमा कामकाज हुने गरेको छ ।

तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिका–६ लिमी उपत्यकाको हल्जी गाउँमा ९० परिवार छन् । यहाँ गाउँमा हुने जुनसुकै गतिविधिको रेखदेख तथा निर्देशन गर्न स्थानीय बासिन्दाले अध्यक्ष छनोट गर्दै आएका छन् । तिनै अध्यक्षले गाउँका सबै गतिविधिको रेखदेख गर्दै आएका छन् । कतिसम्म भने उनले कामकाज गर्ने समयावधिसमेत निश्चित गर्ने गर्छन् ।

यो वडामा तीन गाउँ छन्, हल्जी, तिल र जाङ । अहिले वडाध्यक्ष पाल्जोर तामाङ हल्जी गाउँकै हुन् । हल्जीका बासिन्दाले परम्परागत रूपमा चयन गर्दै आएको गाउँको अध्यक्ष छिरिङ टुङडुप तामाङलाई बनाएका छन् । उनले नै गाउँका सबै नीति, नियम पालना गराउँदै आएका छन् । सबै कामकाज उनकै निर्देशनमा हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । यो परम्परागत रूपमा हुँदै आएको गाउँका अध्यक्ष छिरिङले बताए ।

उनको निर्देशनविना कुनै पनि स्थानीय बासिन्दाले काम गर्न पाउँदैनन् । सार्वजनिक मात्रै होइन, निजी कामका लागि पनि अध्यक्षको अनुमति चाहिन्छ । ‘अध्यक्षको अनुमतिविना कुनै काम गर्न पाइँदैन,’ उनले भने ।

गाउँमा कामकाजका लागि पनि समय तोकिएको छ । बिहान ६ देखि ११ बजेसम्म मात्रै काम गर्र्न पाउने नियम रहेको अध्यक्ष छिरिङले बताए । त्यस्तै, गाउँभन्दा बाहिरबाट जोकोही आए पनि स्थानीय अध्यक्षको आदेशविना गाउँमा प्रवेश गर्न पाइँदैन । ‘गाउँका अध्यक्षले समय पुग्नेबित्तिकै सिटी बजाउँदा कामकाज रोक्नुपर्छ, यो गाउँले नै बनाएको नियम हो,’ उनले भने । छिमेकी दुई गाउँमा भने यस्तो नियम छैन ।

नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोरले गाउँमा नियम आफूले पनि पालना गर्दै आएको बताए । ‘गाउँको नियम पनि मान्नैपर्‍यो, सरकारको नियम पनि पालना गराउनैपर्‍यो,’ उनले भने, ‘दुवैतिर मिलाएर काम गरिरहेको छु ।’




सम्बन्धित समाचार


error: Content is protected !!