कालापानीबारे नेपाल अरूको इसारामा बोल्यो भन्ने भारतीय सेना प्रमुख नरवणे १८ कात्तिकमा आउँदै

नेपाली भूमि मिचेर भारतले बनाएको सडकको नेपालमा तीव्र भएपछि त्यसलाई चिनियाँ इसारामा भएको दाबी गर्ने भारतीय सेनाध्यक्ष मणिमुकुन्द नरवणेलाई नेपालमा स्वागत र सम्मानको तयारी भइरहेको छ ।

भारतका स्थल सेनाध्यक्ष भएपछि पहिलोपटक औपचारिक भ्रमणका क्रममा नरवणे १८ कात्तिकमा नेपाल भ्रमण आउन लागेका हुन् । उनलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

उक्त दर्जा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नेछिन् । तर, तिनै सेनाध्यक्ष नरवणेले राष्ट्रपतिले नीति तथा कार्यक्रममा बोलेको विषयमा कठोर टिप्पणी गरेका थिए ।

भारतका स्थल सेनाध्यक्ष मणिमुकुन्द नरवणेले नेपालमा ‘अरू कसैका लागि’ लिपुलेक क्षेत्रमा निर्माण गरिएको भारतीय सडकको विरोध भएको बताएका थिए ।

भारतको मनोहर पारिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसद्वारा आयोजित वेविनारमा सेनाध्यक्ष नरवणेले चीनको इसारामा नेपालले विरोध गरेको सुनाएका थिए ।

‘लिपुलेक सडकका सन्दर्भमा म कत्ति पनि विरोधाभास देख्दिनँ । कालीनदीभन्दा पश्चिममा हामीले सडक बनाएका छौँ । नेपालमा यसको किन विरोध भइरहेको छ, म जान्दिनँ । उनीहरूले यो विषय कसैका लागि उठाएका हुन्, यो सम्भावना म देख्छु । यो सडक करिडोरबारे विवाद छैन,’ उनको भनाइ थियो ।





error: Content is protected !!