डोल्पाका ५ स्थानी तह विरुद्ध अख्तियारमा उजुरी

डोल्पा ः नेपालको अति दुर्गम र विकासमा पनि पछि परेको डोल्पा जिल्लाका ८ स्थानीय तह मध्ये ५ स्थानीय तहका विभिन्न योजनाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरी परेका छन् ।

डोल्पाका ठुलीभरेरी नगरपालिका ७ वटा, त्रिपुरासुन्दरी नगरपालिकाका ५ वटा, मुड्केचुला गाउँपालिकाका ३ वटा, जगदुल्ला गाउँपालिकाका २ वटा र शे फोक्सुण्डो गाउँपालिकाका १ वटा गरी जम्मा १८ वटा मुद्दा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जानकारी दिएको छ ।

विभिन्न योजना तथा प्रक्रियाका विषयमा परेका १८ मुद्दा मध्ये ठुलीभेरी नगरपालिकाको १ वटा र त्रिपुरासुन्दरी नगरपालिकाको १ वटा गरी २ वटा मुद्दा मात्र पछ्र्योट भएको अख्तियार दुरुपयोग अनुसन्धानको कर्णाली प्रदेशको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ साप्कोटाले जानकारी दिनु भयो । उहाँका अनुसार बाँकी १६ वटा मुद्दाहरुको अनुसन्धान भैरहेको छ ।

हालसम्म कर्णाल प्रदेशका सबै जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको कार्यालयमा ६६९ वटा मुद्दा परेको र जस मध्ये ७५ वटा मुद्दा पछ्र्योट भएर ५९४ वटा मुद्दा बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कर्णाली प्रदेश सुर्खेतले जानकारी दिएको छ । आयोगको कार्यालयले अनुसन्धानको काम गरिरहेको तर हाल विश्वलाई प्रभाव पारेको कोरोना संक्रमणले अख्तियारको कामलाई पनि केही हदसम्म प्रभाव पारेको सूचना अधिकारी साप्कोटाले बताउनु भयो ।

डोल्पाका ८ स्थानीय तहहरु मध्ये हालसम्म काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकाका कुनै पनि मुद्दा नपरेको आयोगको कार्यालय सुर्खेतले जनाएको छ । डोल्पामा बन्ने हरेक विकास निर्माण योजना तथा स्थानीय तहका सरकार तथा प्रदेश र संघीय सरकारका कार्यालय अन्तर्गतका कार्यालयहरु मार्फत हुने विकासका कामहरुको कार्यसम्पादन सन्तोषजनक नभएको गुनासो स्थानीयहरुले गर्ने गरेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!