लिमीमा खाद्य र आर्थिक संकट

हुम्लाको उत्तरी गाउँपालिका लिमीका बासिन्दालाई कोरोनाका कारण आर्थिक तथा खाद्यान्नको संकट भएको छ । कोरोना संक्रमणको कारण अन्तर्राष्ट्रिय नाका बन्द भएपछि स्थानीय बासिन्दा समस्यामा परेका हुन् । चीनको पुराङ्ग काउण्टीको ताक्लाकोट र त्यसको आसपासका क्षेत्रमा दैनिक मजदुरी गरेर आर्थिक उपार्जन गर्ने लिमीवासीको रोजगारी गत चैत महिनादेखि गुमेको छ ।
रोजगारीका लागि दैनिक ज्याला मजदुरी, निर्माणको काममा लिमीका स्थानीयले हरेक वर्ष काम गरेर ४ देखि १० लाखसम्म आम्दानी गरेर घरखर्च गर्ने गरेको भएपनि यो वर्ष काम नहुँदा घर खर्च टार्न समस्या भएको उनीहरुको गुनासो छ ।
चीनसँगको नेपाल जोडिने हिल्सा नाका, लिमी लाप्चाको नाका सिल हुँदा खाद्यान्न समेत संकट परेको छ । यहाँ पाक्ने उवा, जौ एक बाली २ महिना पनि खान नपुग्ने भएकाले लिमीवासीले चीनबाट खाध्यान्न ल्याउने गरेका थिए । तर यो वर्ष खाद्यलगायत अन्य दैनिक उपभोग्य सामान नाकाबाट भित्र्याउन नपाउँदा अब के खाने भन्ने समस्या भएको स्थानीयले बताएका छन् ।
नेपाल खाद्य संस्थान, सिमकोट डिपोबाट वडा भागको रुपमा प्राप्त गरेको सीमित चामलले लिमीका बासिन्दालाई नपुग्ने भएपछि लिमीका ३ वटा गाउँ जाङ्ग, हल्जी र तिलका ६१ घरधुरी चिन्तामा छन् । लकडाउनका कारण अन्यत्र भएका आफन्त समेत घर फर्किएकाले खाद्यान्न र आर्थिक संकट थपिएको छ । कामको शिलशिलामा काठमाडौं लगायत अन्य शहरमा भएका घर परिवार लिमीमा फर्किएपछि अझ समस्या विकराल भएको छ ।
हरेक वर्ष एक घरधुरीले खाद्यान्नलगायत अन्य सामान चीनको ताक्लाकोट बजारबाट ३ देखि ७ ट्रकसम्म भित्र्याउने गरेको भएपनि यो वर्ष खाने एक बोरा चामल समेत भित्र्याउन नपाएको स्थानीय हल्जी गाउँका लोप्साङ्ग तामाङ्गले बताए ।





error: Content is protected !!