पाल्पामा कोरोना परिक्षण सुरु

सुशीला रेग्मी

रामपुर (पाल्पा), पाल्पामा कोरोना परिक्षण कार्य सुरु भएको छ । जिल्लाको तानसेन नगरपालिकाको काजीपौवामा पाल्पा अस्पतालको मातहतमा प्रयोगशाला स्थापना गरी परिक्षण कार्य गरिएको छ ।

बिहिवार मात्रै दुई सय जनाको स्वाव सङ्कलन गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार कोही व्यक्ति स्वेच्छाले स्वाव परिक्षण गर्न चाहान्छ भने नेपाल सरकारले तोकेको प्रतिव्यक्ति दुई हजार शुल्क लिएर परिक्षण गरिनेछ ।

“मेसिन जडान गरेर परिक्षण गर्ने कार्य तीव्र पारिएको छ, मेसिन चार पाँच दिन अगाडी सुरु भएपनि बिहिवार देखि तीव्र रुपमा परिक्षणको काम अगाडी बढेको छ” अध्यक्ष पाण्डेयले भन्नुभयो ।

हालको लागि आठ जना स्वास्थ्य प्राबिधिक परिचालन गरी परिक्षण गर्न थालिएको छ । दैनिक पाँच सय देखि सात सय जना सम्मको स्वाव परिक्षण गर्न सकिने भएपछि कोरोना परिक्षणका लागि अन्यत्र झन्झट बेहोर्नुपर्ने समस्या हटेको छ ।

भारत, विदेश लगायतका विभिन्न स्थानबाट फर्केका नागरिकले कोरोना परिक्षणका लागि बिहान ८ वजे देखि दिउँसो २ वजे सम्म नाम दर्ता गराउनुपर्ने छ भने परिक्षण कार्य दिउँसो १ देखि २ वजे भित्र हुनेछ ।

यसअघि बिरामीको नमूना परिक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही र काठमाडौं पठाउने गरिएकोमा अब भने पाल्पाबाटै सहज रुपमा हुने भएको छ । संघीय सरकारले पाल्पा अस्पताललाई कोरोना परीक्षणका लागि आवश्यक पीसीआर मेसिन सहित किट र सामग्री उपलब्ध गराएपछि जिल्लाबाटै परिक्षण कार्य सुरु भएको हो ।

स्वाव सङ्कलन गरिएको बढीमा एक दिन भित्र नै नतिजा दिइने अस्पतालले जनाएको छ । सरकारले तय गरेको स्वास्थ्य मापदण्ड अनुसार नै प्रयोगशालाको संरचना निर्माण गरिएको छ ।

संघीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा प्रयोगशाला संचालनमा आएको हो । संघीय सरकारमार्फत पाल्पा अस्पतालको मातहतमा रहने गरी कोरोना परीक्षणका लागि रु एक करोडको पिसिआर मेसिन खरिद गरिएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!