भेरी पुलमा झल्किन्छ कर्णाली

रमेश रावल
बाह्य र आन्तरिक पर्यटकलाई कर्णाली प्रदेशको चिनारी गराउन भेरी पुलमा कोरिए हुम्लाको लिमी उपत्यका, डोल्पाका से–फोक्सुण्डो ताल र त्रिपुरासुन्दरी मन्दिर, मुगुको रारा ताल, जुम्लाका सिंजा उपत्यका, डुडुल चैत्य, कालिकोटको पचाल झरना, जाजरकोटको खलंगा दरबार, सुर्खेतको काँक्रेविहार र देउती बज्यै मन्दिरलगायतका चित्र

कर्णाली प्रदेश भौगोलिक रूपमा जति विकट छ, प्राकृतिक सौन्दर्यका हिसाबले त्यति नै धनी छ । धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका हिसाबले पनि विशिष्ट छ, कर्णाली । नेपाली भाषा, संस्कृति र इतिहासको खुला संग्रहालय पनि हो, कर्णाली प्रदेश । यही विषयमा जानकारी दिन सुर्खेत वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाको सीमामा रहेको भेरी पुलमा कर्णाली झल्काउने चित्रहरू कोरिएका छन् । कर्णालीका पर्यटकीय क्षेत्र, रीतिरिवाज र यहाँ पाइने वन्यजन्तुका विषयमा जानकारी दिने प्रयास गरिएको छ।

कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्षमै कर्णाली झल्काउने चित्र भेरी पुलमा राखेको हो । पर्यटकीय स्थल, कला–संस्कृति, रीतिरिवाज, कर्णालीका जीवजन्तु सबैकोे जानकारी भित्ताबाटै गराइएको छ । कर्णाली घुम्न आउने स्वदेशी र विदेशी पर्यटकका लागि प्रदेशका पर्यटकीय क्षेत्रबारे पुलको भित्तामा जानकारी दिइएको मन्त्रालयले जनाएको छ ।

सरकारले भ्रमण वर्ष घोषणा गरेको र त्यही आधारमा कर्णालीका सय गन्तव्य तय गरेका आधारमा कर्णाली चिनाउने चित्र कोरिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बताए । ‘भ्रमण वर्षको अवसरमा कर्णाली चिनाउने चित्र भेरी पुलमा कोरिएका हुन्,’ उनले भने, ‘पुलबाटै कर्णालीको चिनारी दिन खोजेका हौँ । कर्णालीमा मात्र रहेका फिरन्ते जीवन बिताइरहेका राउटे जातिका विषयमा जानकारी दिएका छौँ ।’ कोरोना महामारीका कारण भ्रमण वर्ष स्थगित भएकाले पर्यटक आउन छाडेको तर भेरी पुलमा कोरिएका चित्रले कर्णालीका पर्यटकीय क्षेत्रका विषयमा भविष्यसम्म जानकारी दिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

भौगोलिक विकटता र मानव विकास सूचकांकमा सबैभन्दा पछाडि परेको कर्णाली प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिन्छ । स्वर्गकी अप्सरा उपनामले चिनिने मुगुको रारा ताल पर्यटकको पहिलो रोजाइमा पर्छ । हुम्लाको लिमी उपत्यका, डोल्पाका से–फोक्सुण्डो र त्रिपुरासुन्दरी मन्दिर, जुम्लाका सिंजा उपत्यका, डुडुल चैत्य, कालिकोटको पचाल झरना, जाजरकोटको खलंगा दरबार, दैलेखको कोतगढी, पञ्चदेवल, बेलासपुर, महावु क्षेत्र, रुकुम (पश्चिम)को चित्रे पाटन, सल्यानको कुपिण्ड दह, सुर्खेतको काँक्रेविहार र देउती बज्यै मन्दिरलगायतका क्षेत्रको चित्र अंकित गरिएका छन् । यस्तै, भेरी कर्णाली जलयात्रा, हिमालयन ग्रेट ट्रेल, हिमाल आरोहण, हुम्लाको मानसरोवर रुट, बारदेव पर्यटकीय क्षेत्र र सिमकोट शिवमन्दिर, डोल्पाको से–गुम्बा र तिन्जे उपत्यका, सुर्खेत–दैलेखमा पर्ने गुराँस क्षेत्रका चित्र देख्न सकिन्छ ।





error: Content is protected !!