रिण तिर्न नसकेर विस्थापित दलित समुदायले मन्त्रीलाई बुझाए ज्ञापन पत्र

हेमन्त केसी
जाजरकोट , भेरी नगरपालिका –११ कटीगाउँका १२५ घरधुरी दलित समुदाय रिणमा डुवेर विस्थापित भएको भन्दै वन तथा वातावरणमन्त्री शक्तिबहादु र बस्नेतलाई ज्ञापन पत्र बुझाएको छ ।


स्थानीय साहुहरुले व्याज माथी , व्याज लगाएर दलित समुदायलाई रिणबाट उठ्न नसक्ने गरी गाउँ छोड्न बाध्य पारेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । अहिले साहुको रिण तिर्नका लागि दलित समुदाय गाउँ छाडेर भारतमा पुगेका छन् । उनीहरुले भारतबाट पठाएको रकमबाट व्याज मात्र तिर्न सक्ने अवस्था हुन्छ , मुख्य रिण भने कहिले तिरिन्छ थाहा छैन अधिकारकर्मी शिला नेपालीले बताउनुभयो ।

प्रतिपरिवार ५ लाख भन्दा बढी रिण भएपछि उनीहरु रिण तिर्न नसकेर विस्थापित भएका हुँन् । स्थानीय साहुबाट जीवन बाच्नका लागि ल्याईएको खाद्यान्न र लत्ता कपडाको रकम तिर्न नसक्दा रिणमा डुव्नु परेको पीडित जीतबहादुर विकले बताउनुभयो । ज्ञापन पत्र बुझाउदै रिणको सत्य , तथ्य छानविन गरी सो तिर्ने व्यवस्थापन गर्न , विस्थापित दलित समुदायलाई गास , वास र कपासको व्यवस्था गरी स्थापित गर्न र सहकारी मार्फत आर्यआर्जनमा जोडि रोजगारीको ज्ञारेन्टी गर्न समेत माग गरिएको छ ।


त्यस्तै निशुल्क शिक्षा कार्यन्वन गरी शिक्षामा पहुँच वृद्धी गर्न माग गरिएको छ । जनचेताको विकास गर्न सचेतना मूलक तालिमको व्यवस्था गर्न आग्रह गरिएको छ । माध्यमिक शिक्षा उतिर्ण विद्यार्थीलाइ उच्च शिक्षा पढ्नका लागि व्यवस्थापन गर्न समेत माग गरिएको छ । गत असारमा भारतबाट आएका केही परिवार पुर्ण गाउँमा टिक्न नसकेर फेरी विस्थापित भएको स्थानीयवासी नरबहादुर कामीले बताउनुभयो ।

यसरी गाउँ छोड्न बाध्य भए कटीका दलित समुदाय

साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका–११ कट्टी गाउँमा दर्जन स्थानीय दलित समुदाय विस्थापित भएका छन्। एक सय २५ घरधुरी भएको कट्टी गाउँका दलित समुदायले दैनिक जनजीविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो।

आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले तीन महिना खाना नपुग्ने कट्टी गाउँका स्थानीयवासी दलित समुदाय साहुबाट ऋण लिएर दैनिक गुजारा चलाउँदै आएका छन्। यसरी लिएको ऋण तिर्न नसक्दा केही दलित समुदायका स्थानीयवासी विस्थापित हुनुपरेको दलबहादुर विकले बताउनुभयो । उनीसँगै जनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने दलबहादुरका छोरा पारस विक भारतमा काम गरिरहेका छन्। साहुको ऋण तिर्ने अवस्था भएमा मात्र गाउँमा आउने उनीहरुको भनाइ छ। यस समुदायका अधिकांश बालबालिका कक्षा ३ मा पढेर विद्यालय छाड्ने गरेका छन्।

आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय निरन्तरता दिन नसकेको स्थानीयवासी युवा अमृत विकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, दलित समुदायभित्र कक्षा १२ पास गरेका म मात्र हुँ, अरु कोही छैन।

उहाँले दिएको जानकारी अनुसार आधा दर्जन स्थानीयवासीको जग्गा साहुले आफ्नो नाममा लिएपछि जीवन निर्वाहका लागि भारत गएर विस्थापित भएका छन्। कट्टी गाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत अन्य स्थानीयवासी साहुको ऋण तिर्न नसकेर साहुलाई जग्गा पास गरी भारत विस्थापित भएका हुन्।

उनीहरुको जग्गा स्थानीय यदुप्रसाद शर्मा, हरिप्रसाद शर्मालगायतका अन्य पसल गरेका स्थानीयवासीले नाममा लिइसकेका छन्। उहाँहरुको पसलबाट लिएको खाद्यान्न, लत्ताकपडा आदिको ऋण तिर्न दलित समुदायका स्थानीयले नसकेपछि जग्गा नै पास गरेर आधा दर्जन दलित समुदायका मानिस भारत पलायन भएका छन्। दलित बस्तीमा विद्युत् पुगे पनि दलित समुदायले प्रयोग गर्न पाएका छैनन्।

स्थानीय अधिकारकर्मी पार्वती विकले भन्नुभयो, पढ्ने वातावरण र आर्थिक नहुँदा दलित समुदायका मानिस अहिलेको जमानामा पनि शिक्षा पाउनबाट वञ्चित छन्, गरीबको चरम पीडामा छन् यो समस्याबाट मुक्ति दिलाउनका लागि सबैले ध्यान दिनुपयो।

 





error: Content is protected !!