लकडाउनमा ‘सिस्‍ने राउन्ड’

रुकुम पश्चिम – कोरोना महामारीका कारण सरकारले चैतदेखि ४ महिनासम्म लकडाउन गर्‍यो । अधिकांश मानिस घरबाट निस्किएनन् । तर मनबहादुर खत्री भने कोरोनाको प्रवाह नगरी निरन्तर पदमार्ग अन्वेषणमा व्यस्त रहे । त्यो पनि लेकमा । त्यसअघि खासै मान्छे नहिँडेका ठाउँमा खत्री बाटो बनाउन व्यस्त थिए ।

खत्री अन्य ११ जना पदयात्रीसँगै बाँफिकोट गाउँपालिका पुगेका बेला सरकारले लकडाउन घोषणा गर्‍यो । त्यही लकडाउनको फाइदा उठाउँदै उनी ‘सिस्‍ने राउन्ड’ अन्वेषणमा लागेका हुन् । ‘मसँगै आएका पदयात्रीलाई बाँफिकोटमै छाडेर म आठबीसकोट हुँदै सिस्‍ने राउन्ड पदयात्रा पहिचानका लागि निस्केको हुँ,’ उनले भने, ‘अहिले पदमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।’

जोखिम बाहेकका क्षेत्रमा बाटो बनाइसकेको उनले बताए । ‘केही क्लाइम्बिङको भागबाहेक राउन्ड पहिचानको काम लगभग सकिएको छ,’ उनले भने, ‘सम्पूर्ण व्यवस्थापनका साथ त्यतै जाने बाटोमा हिँडिरहेको छु ।’ उनले व्यक्तिगत पहलमा पदमार्ग पहिचानको काम गरिरहेका हुन् ।

सिस्‍ने राउन्डमा विशेषगरी ३ ठाउँ महत्वपूर्ण छन् । बाटुलीपाटन, घागरे बालकोणी र देउती पास । यी क्षेत्र पदमार्ग र पदयात्रीका लागि महत्वपूर्ण ठाउँ भएको खत्रीले बताए । उनका अनुसार देउतीपासबाट डोल्पा, रुकुम पूर्वलगायतका क्षेत्र अवलोकन गर्न सकिन्छ । उनले डोल्पाको जुफाल र शेफोक्सुण्डो तालसम्म अर्को पदयात्रा जोड्ने सम्भावना पनि रुट अन्वेषणको क्रममा देखिएको जनाए । त्यहाँबाट पनि धौलागिरि पदमार्ग पनि जोड्न सकिने सम्भावना देखिएको छ । राउन्ड पूरा भएपछि पदमार्गमा धेरै विदेश पदयात्री आउने उनको भनाइ छ ।

अन्तिम चरणको कामका लागि खत्री फेरि अशोक तामाङसहित सिस्‍ने राउन्डतर्फ हिँडेका छन् । उनका अनुसार सिस्‍ने राउन्ड १४ दिनमा पूरा गर्ने पदमार्ग बन्दैछ । सदरमुकाम खलंगादेखि सुरु हुने पदमार्गमा मैडाँडा, बन्चरे, जलजला, थुम, खाल्टी, गुप्तादह हुँदै सिस्‍ने पुग्न सकिन्छ । त्यहाँबाट बेस क्याम्प, सानो कैलाश, देउती पास, घागरे, बाटुली पाटन पुग्दा सिस्‍ने राउन्ड पूरा हुन्छ ।

आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले सिस्‍ने राउन्ड पदयात्रा सञ्चालनको तयारी हुनुले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको बताए । ‘यसको विकासमा के–कसरी लगानी गर्न सकिन्छ र मान्छे हिँड्ने वातावरण बनाउन सकिन्छ भन्ने विषयमा छलफल चलिरहेको छ,’ उनले भने, ‘छिट्टै नगरपालिकाको तर्फबाट कार्ययोजना बनाउँछौं ।’

पदमार्गमा बाँफिकोट गाउँपालिकाले बजेट विनियोजनको निर्णय गरिसकेको छ । कार्यपालिका बैठकले स्यार्पु–सिस्‍ने पर्यटकीय पदमार्ग निर्माणमा आवश्यक बजेट विनियोजनको निर्णय गरेको हो । यो पनि यही सिस्‍ने राउन्डभित्रै पर्छ ।





error: Content is protected !!