पहिरो पिडित परिवारलाई आपतकालिन सामग्री सहयोग

सुशीला रेग्मी

रामपुर (पाल्पा),  अबिरल वर्षाले माथिबाट खसेको पहिरोले घर भत्किएपछि समस्यामा परेका पाल्पा रामपुर नगरपालिका ९ जब्गादीका पिडित परिवारलाई आपतकालिन सामग्री वितरण गरिएको छ । रामपुर नगरपालिकाको व्यवस्थापनमा बेलायत सरकारको सहयोगमा केयर नेपाल र बेस नेपालद्धारा पिडित परिवारलाई प्रभावित स्थानमा नै पुगेर सामग्री हस्तान्तरण गरिएको हो ।

बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेयले रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य र वडा नं ९ का अध्यक्ष ईच्छाराम सिंजालीलाई सामग्री हस्तान्तरण गर्नुभएको छ । नगरपालिकालाई हस्तान्तरण गरिएको सो सामग्री उपप्रमुख आचार्य र वडा अध्यक्ष सिंजालीले पिडित परिवारलाई वितरण गर्नुभएको छ ।

पिडित परिवारलाई कम्बल, खाद्यान्नका सामग्री, त्रिपाल, भान्छाका सामग्री लगायतका विभिन्न सामग्री उपलब्ध गराइएको छ । सामग्री हस्तान्तरण पछि पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्दै नगर उपप्रमुख आचार्यले नगरपालिका कार्यालयबाट क्षतिको विवरण हेरी सक्दो सहयोग गर्ने बताउनुभएको छ । उहाँले विपद्मा परेको पिडित परिवारलाई बेस नेपालको सक्रियतामा भएको यस कार्यले पिडित परिवारलाई ठुलो राहत मिल्ने बताउँदै सहयोगी संस्थालाई धन्यवाद दिनुभएको छ ।

जब्गादीका विष्णुबहादुर साठीघरे, बुद्धिबहादुर साठीघरे, हेमलाल पोखरेल, बलवीर नेपालीको घर पूर्ण क्षति भएको छ भने खुमबहादुर साठीघरे र थमन सिं सिंजालीको घर जोखिममा परेको समाजसेवी ज्ञानबहादुर गाहाले जानकारी दिनुभयो ।

अबिरल वर्षाले पहिरोबाट प्रभावित रामपुर नगरपालिका, तिनाउँ गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दिकोट गाउँपालिका र रम्भा गाउँपालिकाका नागरिकलाई आपतकालिन सामग्री वितरण गरिएको पछौटेपन उन्मुलन समाज (बेस) नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेयले जानकारी दिनुभएको छ । पहिलो चरणमा एक सय ५६ घरपरिवार र दोस्रो चरणमा रामपुर नगरपालिकाका छ घर, रम्भाका तीन घर र तिनाउँ गाउँपालिकाका आठ घरपरिवार गरी जम्मा एक सय ७३ घरपरिवारलाई सामग्री सहयोग गरिएको कार्यकारी निर्देशक पाण्डेयले बताउनुभयो ।

राहत सामग्री पाएपछि पिडित परिवार खुशी भएका छन् । पहिरोले घरमा क्षति पुगेपछि प्रभावित परिवार अहिले छिमेकी तथा साविक वडा कार्यालय भवनमा बसोबास गरिरहेका छन् । पहिरो खसेको क्षेत्रमा सडक किनारका दुई घर पनि जोखिममा परेको छ ।

वर्षाले बनाउँदै गरेको घर भत्किएपछि गाँस र बाँसको समस्यामा परेका बेला बेस नेपालले घरमै आएर विभिन्न सामग्री सहयोग गरेपछि ठुलो राहत मिलेको पिडित बलबिर नेपाली बताउनुहुन्छ । घरको छानो छाउने तयारी गरेको बखत जगैबाट भत्कदा उहाँको परिवार बिचल्लीमा परेको छ ।

सोही ठाउँकै अर्का विष्णुबहादुर साठीघरेको पनि दुईतले कच्ची घर पुर्ण रुपमा क्षति भएको छ । बस्नै नमिल्ने गरी माथिबाट खसेको पहिरो घरमा पसेर क्षति पुगेपछि चार जनाको परिवार साविक वडा भवनमा बसोबास गर्दै आएको उहाँ बताउनुहुन्छ । राहत स्वरुप त्रिपाल, कम्बल, खाद्यान्न लगायतका सामग्री पाएपछि परिवारको साँझ बिहानको हातमुख जोर्न सजिलो परेको परेको उहाँको भनाई छ ।

घर भत्किएपछि हिमलाल पोखरेलले आगनको छेउमा सानो टहरा बनाएर बसोबास गरेको बताउनुभयो । गत असोज २ गते परेको अबिरल वर्षाले घरमा क्षति बनाएपछि पिडित परिवार बिस्थापित भएका हुन ।





error: Content is protected !!