कोरोना रोकथामका लागि जडीबुटी कति प्रभावकारी ?

शरीरमा प्रतिरोधी क्षमता बढाउने अस्वगन्धा, तुलसी, गुर्जो, मुलेचीजस्ता जडीबुटी क्वारेन्टाइनदेखि ठूला अस्पतालको आइसोलेसनमा समेत प्रयोग गरिँदै


कोरोना संक्रमण बढ्दै गएपछि आयुर्वेदिक जडीबुटीको माग निकै बढेको छ । परम्परागत रूपमा प्रयोगमा आइरहेका विभिन्न जडीबुटी पछिल्लो समय निकै महत्वपूर्णका साथ प्रयोगमा आउन थालेको पाइन्छ । खासगरी प्रतिरोधी क्षमता बढाउने अस्वगन्धा, तुलसी, गुर्जो, मुलेचीजस्ता जडीबुटी क्वारेन्टाइनदेखि ठूला अस्पतालको आइसोलेसनमा समेत प्रयोग हुन थालेका छन् । भान्सामा वा घरवरिपरि सजिलै उपलब्ध हुने जडीबुटी कोरोनाको संक्रमणबाट बच्न प्रयोग हुन थालेपछि बजार मूल्य दोब्बर बढेको छ ।

न्युरोडमा आयुर्वेदिक कच्चा पदार्थको व्यवसाय गर्दै आएका मनोरथ गौतमका अनुसार लकडाउनपछि यस्ता जडीबुटीको माग दोब्बर बढेको छ । साथै हरेक आयुर्वेदिक जडीबुटीको मूल्य पनि पहिलेभन्दा वृद्धि भएको छ । लकडाउनभन्दा अगाडि सजिलै उपलब्ध हुने गुर्जो अहिले महँगोमा बिक्रीवितरण हुन थालेको छ । गौतम भन्छन्, ‘बजारमा गुर्जोको मूल्य हाल प्रतिकिलो दुई सय ५० रुपैयाँ पुगेको छ, लकडाउनअघि ९० देखि एक सय रुपैयाँको हाराहारीमा बिक्री हुने गथ्र्यो ।’

आयुर्वेदिक औषधि व्यवसायीहरूका अनुसार पछिल्लो समयमा जडीबुटीको माग दिनानुदिन बढिरहेको छ । सामान्यतः प्रतिरोधी क्षमता बलियो बनाउन प्रयोगमा ल्याउने जडीबुटीको माग धेरै बढेको हो । हाल बजारमा अस्वगन्धा प्रतिकिलो एक हजार पुगेको छ, जसको मूल्य लकडाउनभन्दा अगाडि ६ सय रुपैयाँ थियो । यस्तै, तुलसी प्रतिकिलो पाँच सय र मुलेची प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

कोरोना संक्रमितको उपचारका लागि अहिले आयुर्वेदिक औषधि क्लिनिक परीक्षण भइरहेका छन् । संक्रमितमा प्रतिरोधी क्षमता बढाउन आइसोलेसनमा र अन्य व्यक्तिमा प्रतिरोधी क्षमता बलियो बनाएर संक्रमणबाट बच्न आयुर्वेदिक औषधिको प्रयोग बढिरहेको बताउँछन् वरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ डा।बाबुराजा अमात्य । ‘गुर्जो, सुठो ९सुकाएको अदुवा०, मरिच, अदुवाजस्ता जडीबुटी इम्युनिटी बढाउन अहिले अत्यधिक प्रयोगमा आइरहेका छन् । अस्पतालको आइसोलेसनमा रहेका बिरामीले पनि घरायसी जडीबुटीलाई महत्वका साथ प्रयोगमा ल्याउनु राम्रो हो,’ उनी भन्छन्, ‘तर, सामाजिक सञ्जालतिर यस्ता जडीबुटीलाई कोरोनाको औषधि भनेर प्रचार गरेको पनि पाइन्छ, जुन गलत हो । गुर्जोजस्ता जडीबुटी शरीरमा प्रतिरोधी क्षमता बलियो बनाउन प्रयोगमा ल्याइन्छन् ।’

जडीबुटीको गलत प्रयोग
कोभिड संक्रमणबाट बच्न विभिन्न औषधिको अध्ययन अनुसन्धान भइरहेका छन् । भ्याक्सिन तेस्रो चरणको परीक्षणमा छन् । तर, संक्रमण नियन्त्रणका लागि शरीरमा प्रतिरोधी क्षमता बलियो हुन आवश्यक भएकाले पछिल्लो समय आयुर्वेदिक जडीबुटी प्रभावकारी देखिन थालेको पाइन्छ ।

हालसम्म संक्रमणका लागि ठोस औषधि वा खोप उपलब्ध नभएकाले चिकित्सकहरूले तातोपानी, बेसार, गुर्जो, अदुवाजस्ता घरेलु जडीबुटी खान सल्लाह दिइरहेका छन् । तर, संक्रमणको त्रासबीच अधिकांशले जडीबुटीको गलत प्रयोग भइरहेको बताउँछन्, डा। अमात्य । भन्छन्, ‘जडीबुटीको प्रयोग औषधिका रूपमा मात्र गर्न आवश्यक छ ।

सामान्यतः बेसार, अदुवा, लसुन, मरिचजस्ता जडीबुटी नियमित खानामा प्रयोग गरिरहेका हुन्छौँ । तर, कोभिड निको पार्न र संक्रमणबाट बच्न यस्ता जडीबुटीको अत्यधिक प्रयोग भइरहेको छ, जुन स्वास्थ्यका लागि राम्रो होइन ।’

डाअमात्यका अनुसार जस्तै, बेसारपानी दिनमा तीन–चारपटक खाने, गुर्जोको सेवन अत्यधिक रूपमा गर्नेजस्ता व्यवहार स्वास्थ्यका लागि प्रतिकूल हुन्छन् । बेसार, अदुवा, लसुन, मरिच खानामै समावेश हुने भएकाले छुट्टै खानुपर्ने आवश्यकता हुँदैन । यस्तै, गुर्जो चिया, अस्वगन्धा, मुलची, तुलसी दिनमा मात्रा मिलाएर मात्र सेवन गर्नुपर्छ । घाँटी खसखस भएमा, चिसो लागेमा त्रिसठु ९अदुवा, मरिच, पिपला०को चिया बनाएर खान सकिन्छ । यस्ता औषधिजन्य जडीबुटी चिकित्सकको सल्लाहमा मात्रा मिलाएर प्रयोगमा ल्याउन सकेमा संक्रमण कम गर्न प्रभावकारी हुन्छ ।

आइसोलेसनमा गुर्जोको प्रयोग
आयुर्वेद शिक्षण अस्पतालमा कोभिडका बिरामीलाई गुर्जोलगायतका जडीबुटी मिश्रित ट्याबलेट औषधिका रूपमा प्रयोग भइरहेको छ । संक्रमितमा छोटो समयमा प्रतिरोधी क्षमता बढाउन परम्परागत औषधिमाथि अनुसन्धान गरी औषधि निर्माण गरिएको डा।रामआधार यादव बताउँछन् । यिनै जडीबुटी सेवन गरेकैले आइसोलेसनमा उपचार गराइरहेका बिरामी छोटो समयमै निको भएर घर फर्किरहेका छन् ।

यादव भन्छन्, ‘हामीले कुनै नयाँ औषधि प्रयोग गरिरहेका छैनौँ । परम्परागत रूपमा भान्सामा प्रयोगमा आउने र घरवरिपरि सजिलै उपलब्ध हुने जडीबुटीलाई वैज्ञानिक तरिकाले प्रयोगमा ल्याइरहेका छौँ । जसले कोभिडका बिरामीलाई छोटो समयमै संक्रमण जित्न मद्दत गरिरहेको छ ।’

गुर्जो ‘मेनिस्परमासिया’ वनस्पति परिवारअन्तर्गतको ‘टिनोस्पोरा’ वंशमा पर्ने ‘टी कोर्डिफोलिया’ प्रजातिको जडीबुटी हो । यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कोर्डिफोलिया’ हो । गुर्जो डाँठ र धुलोका रूपमा बजारमा उपलब्ध छ । धुलो सेवन गरेमा पाँच ग्राम गुर्जोको पाउडरलाई दुई गिलास पानीमा उमालेर दिनमा एकपटक सेवन गर्न सकिन्छ ।

डाँठ प्रयोग गर्दा सानो डाँठलाई थिचेर पानीमा उमालेर खान सकिन्छ । गुर्जो खालीपेटमा खानु उपयुक्त मानिन्छ । डा। यादवका अनुसार गुर्जोमा एन्टीअक्सिडेन्स गुण हुने भएकाले स्वास्थ्यका लागि प्रभावकारी हुने गर्छ । तर, अत्यधिक सेवन गर्दा कमजोरीपन देखिन सक्ने हुँदा मात्रा मिलाएर मात्र सेवन गर्नुपर्ने हुन्छ । आयुर्वेदले गुर्जोको डाँठलाई दम, खोकी, ज्वरो, पिसाबसम्बन्धी रोगको उपचार गर्न प्रयोगमा ल्याउने गरेको पाइन्छ ।





error: Content is protected !!