पाल्पामा पहिरोमा पुरिएका पाँचै जनाको शव फेला

सुशीला रेग्मी
रामपुर (पाल्पा), १० असोज ः रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटको बेलौजामा पहिरोले पुरिएका पाँचै जनाको शव फेला परेको छ । लगातारको वर्षाले घरमाथीबाट खसेको पहिरोले पुरिएका ६० वर्षका हुमबहादुर गाहा र उनका श्रीमती ५० वर्षीय धनिसरा गाहाको शुक्रवार साँझ शव फेला परेको हो ।
अबिरल वर्षाले बिहिवार बिहान पहिरोमा पुरिएका १७ वर्षीय कृष्णमाया गाहा, १४ वर्षीय खुमीसरा आले, ८ वर्षका लक्ष्मी गाहाको शुक्रवार दिउँसो शव फेला परेको थियो ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी लगायतले उद्धार गरी शव निकालेका हुन् । रम्भा गाउँपालिकाले पहिरोमा पुरिएर मृत्यु हुनेलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
बिस्थापित परिवारको खाने, बस्ने व्यवस्था मिलाउने गाउँपालिकाले प्रबन्ध गर्ने जनाएको छ । बेलौजामा तीन घर पहिरोमा पुरिएका छन् भने १७ घर जोखिममा छन् । खतरामा परेका बस्तीका स्थानीयलाई विद्यालय, स्वास्थ्यचौकी र छिमेकीको घरमा सारिएको छ ।










