डमरा भोटाहा सिंचाई आयोजनाबाट एक सय ४३ कृषक लाभान्वित

—सुशीला रेग्मी

रामपुर (पाल्पा), ; सिंचाईको सुबिधा पुगेपछि पाल्पाको निस्दी गाउँपालिका १ भोटाहा डमराका स्थानीय कृषि उत्पादनलाई जोड दिन थालेका छन् । खेतीयोग्य उर्वरशिल जमिन सिंचाई अभावमा कृषि बाली उत्पादनबाट यहाँका कृषकले लाभ लिन सकेका थिएनन् ।

डमरा भोटाहा सिंचाई आयोजनाको कुलो बिस्तार गरेपछि बाँभmो जमिन हराभरा बनेको छ । वर्षौदेखि बाँझिन पुगेका जमिन अहिले नियमित सिंचाई पुगेपछि धान, मकै, गहुँ, तरकारी जस्ता विभिन्न खेतीको राम्रो उत्पादन हुन थालेको छ ।

पहिला सिंचाईको समस्याले खेती लगाएपनि आकाशे पानी नपर्दा खेती स्याहार्नै पाइदैनथ्यो । अहिले भने सिंचाई सुबिधा पुगेपछि तीन बाली नियमित लगाउन थालेको भिमबहादुर अधिकारी बताउनुहुन्छ ।

“दुख गरेर खेती लगायो उत्पादन स्याहार्नै पाइदैनथ्यो, सिंचाई गर्न नपाएपछि कहिलेकाँही आकाशे पानी नपर्दा धान काट्नै पर्दैनथ्यो, अहिले सिंचाई सुबिधा पुगेपछि खेतखण्ड मात्र नभई बारीखण्डमा पनि धान लगाउन थालिएको छ” उहाँले भन्नुभयो ।

उहाँले खेती गर्न छाडिएको करिव आठ रोपनी जमिनमा तीन बाली उत्पादन लिन थाल्नुभएको छ । बाकाखोलाबाट ल्याइएको पानीले भोटाहा क्षेत्रका हजारफाँटमा मात्र धान रोपिने गरिएपनि त्यो प्रयाप्त थिएन ।

भोटाहाको हजारफाँट बाहेक डमरा क्षेत्रका खेतबारीमा सिंचाई नभएरपछि बाँझै राख्नुपर्ने बाध्यता थियो । कुलो बिस्तार गरी नवलपुर जिल्लामा पर्ने बौदिखोलामा बाँध बाँधेर पानी ल्याएपछि अहिले बाँझिएका सबै जमिन सिंचाईले हराभरा भएका छन् ।

हिजोको बाँझो जमिनमा धान, गहुँ, मकै, तरकारी लगायतका कृषि बालीको उत्पादन हुन थालेपछि जीविकोपार्जनमा सजिलो परेको कृषक दानबहादुर रानाले बताउनुभयो ।

विसं २०६५ सालमा बाकाखोला देखि बौदिखोला सम्म करिव दुई हजार सात सय मिटर पक्की कुलो निर्माण गरेपछि राम्रो सिंचाईको सुबिधा पुगेको छ । यस आयोजनाबाट ८० हेक्टर जमिन सिंचित क्षेत्रफल रहेपनि अहिले भने ५५ हेक्टर क्षेत्रफलमा सिंचाई हुदै आएको भोटाहा डमरा सिंचाई आयोजनाका अध्यक्ष कुलबहादुर रानाले जानकारी दिनुभयो ।

“सिंचाई समस्याले खेती गर्न छाडेका केही जमिन वनमाराले भरिएका थिए भने लामो समय सम्म सदुपयोगमा नआएपछि चौरको रुपमा परिणत भएको हुदा बिस्तारै वर्षेनी कृषकले त्यसलाई खनजोत गरी खेती लगाउने कार्य गर्न थालेका छन्” अध्यक्ष रानाले भन्नुभयो ।

यहाँका एक सय ४३ घरधुरीका कृषक यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित भएका छन् । एकबाली पनि राम्रो उत्पादन लिन नसकेका कृषक तीन बाली लगाएर उत्पादन लिन पाएपछि गाउँमा बसाइसराइ गरी अन्यत्र गएका नागरिकले पनि पुर्खौली जमिन सदुपयोग गर्न थालेको निस्दी गाउँपालिका वडा नं १ का अध्यक्ष पूर्णबहादुर खाँण बताउनुहुन्छ ।

बजार क्षेत्र देखि विकट र दुर्गममा पर्ने यस क्षेत्रका स्थानीयको मुख्य आयस्रोत नै कृषि रहेको छ । सिंचाई सुबिधा हुन थालेपछि नागरिकको जीवनस्तर पनि उकासिदै गएको छ । कालीगण्डकी करिडोर संग जोडिएको यो क्षेत्रमा कृषि बाली प्रशस्त उत्पादन गरेर रामपुर बेझाड लगायतका विभिन्न बजारमा बिक्रि वितरण गर्न सजिलो छ ।





error: Content is protected !!