हिमताल फुट्दा नेपाललाई सय करोड डलर क्षति

प्रगति ढकाल

जोखिमयुक्त हिमतालका मस्यौदा प्रतिवेदन

नेपाल, भारत र चीनमा अवस्थित ४७ हिमताल फुट्नसक्ने भन्दै एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एण्ड तिब्बत, चाइना’ शीर्षकको मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको हो ।

यूएनडीपी र इसिमोडले संयुक्त रूपमा गरेको सो अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा पर्ने ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख छ । यी हिमतालहरू जुनसुकै बेलामा पनि फुट्न सक्ने र नेपालले ठूलो धनजनको क्षति बेहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएकोे छ । इसिमोड र यूएनडीपीले गरेको अध्ययनअनुसार यीमध्ये २५ वटा चीनमा, २१ नेपाल र एउटा भारतमा पर्छ ।

प्रतिवेदनले जोखिममा रहेका हिमतालहरू फुट्दा नेपालले एक अर्ब डलरभन्दा बढी वित्तीय क्षति बेहोर्नु पर्ने र ठूलो मानवीय क्षति पनि गर्नसक्ने उल्लेख गरेको छ । प्रतिवेदनले क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका कार्यक्रम तय गर्न पनि सुझाव दिएको छ । त्रिभुवन विश्वविद्यालयका प्रोफेसर तथा सामाजिक–आर्थिक विद् डा। नरेन्द्रराज खनालको नेतृत्वमा भएको एक अध्ययनअनुसार च्छो रोल्पा हिमताल फुटेमा नेपालले करिव १८ करोड नोक्सान बेहोर्नुपर्ने छ । यस्तै, ठूला हिमताल बिस्फोटन भएमा झन्डै ४८ अर्व ८२ करोड आर्थिक क्षति बेहोर्नुपर्ने छ । इम्जा हिमताल बिस्फोट हुँदा १ अर्ब ४६ करोड नोक्सान बेहोर्नु पर्नेछ । लुमुचिमी हिमताल बिष्फोट भए १४ अर्ब २५ करोड रूपैयाँ आर्थिक नोक्सानु नेपालले बेहोर्नुपर्ने अध्ययनले देखाएको छ ।

“अध्ययन प्रतिवेदनले नेपालको कोशी, गण्डकी र कर्णाली नदीको बेसिन, चीनको स्वशासित क्षेत्र तिब्बत र भारतमा रहेका ४७ हिमताल खतराको सम्भावनामा रहेको पहिचान गरेको छ, यी हिमतालहरू फुट्ने जोखिममा छन्, जसले तल्लो तटीय क्षेत्रमा ताल फुटेर बाढीको प्रकोप सिर्जना हुनसक्ने ठूलो जोखिम छ,” अध्ययन प्रतिवेदनमा भनिएको छ, “नेपाल र हिन्दुकुश हिमालयमा रहेका अन्य पहाडी मुलुकका लागि हिमताल फुटेर निम्तिने बाढीले उच्च जोखिममा पार्ने डर कायमै छ, यससँगै हिमनदीको हिउँपग्लेर तालहरू बन्ने र तालहरू फुटेमा त्यसले तल्लो तटीय क्षेत्रमा बाढीको प्रकोप सिर्जना गर्न सक्छ ।”

यूएनडीपीका जलवायुजन्य जोखिम व्यवस्थापनका वरिष्ठ कार्यक्रम अधिकृत दीपक केसीले चीन र भारतमा रहेको हिमताल फुट्दा पनि नेपालको अर्थतन्त्रमा ठूलो ह्रास हुने भन्दै सरकारले समयमा नै यसबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारीका कार्यक्रम लागु गर्न सुझाव दिएका छन् । “यो समयमा हिउँ बढी पग्लने, हिमताल र नदीहरूमा धेरै पानी हुने भएकाले वर्षातको बेलामा हिमतालहरू फुट्न सक्ने बढी सम्भावना हुन्छ, नेपाल, भारत र चीनका ४७ ओटा हिमतालहरू उच्च जोखिममा छन्, यी हिमताल फुट्दा नेपालले खर्बौं रूपैयाँ आर्थिक नोक्सानी बेहोर्नु पर्ने छ,” उनले भने, “अब बन्दै गरेको राष्ट्रिय अनुकुलन कार्यक्रम न्याप र एनडीसी रिपोर्टहरूले हामीले सार्वजनिक गरेको यो प्रतिवेदनले पनि निर्देश गर्छ यसलाई राम्रो स्रोतको रूपमा प्रयोग गर्न सकिन्छ ।”

अध्ययनले ४७ सम्भावित खतरामा रहेका हिमतालमध्ये ४२ ओटा कोशी बेसिन क्षेत्रका छन्, जसका कारण कोशी तटीय क्षेत्र उच्चजोखिममा परेको औँल्याएको छ । प्रतिवेदनअनुसार गण्डकी बेसिनमा रहेका ३ र कर्णाली बेसिनमा २ ओटा हिमताल जोखिममा छन् । “मौसममा आएको अत्यधिक प्रभावका कारण नेपालले हरेक वर्ष औसतमा ३ सय ३३ व्यक्तिको ज्यान र १७।२४ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति गुमाएको छ,” अध्ययन प्रतिवेदनमा उल्लेख छ, “सन् १९९७ देखि २६ ओटा हिमताल फुटेर बाढी आएका घट्ना नेपालले बेहोरिसकेको छ । जसमध्ये १४ ओटा देशभित्रैका हिमताल फुटेर बाढी आएका छन् । मौसममा आएको परिवर्तनसँगै हिमताल पग्लने दर बढ्दो क्रममा रहेकाले नेपालका लागि हिमताल सिर्जित बाढी वर्तमान समयको सवैभन्दा ठूलो चुनौती हो ।”

अध्ययनअनुसार कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा तीन हजार ६ सय २४ हिमताल छन् । यीमध्ये दुई हजार ७० वटा नेपालमा, एक हजार ५०९ चीनमा र ४५ वटा भारतमा पर्छन् । प्रतिवेदनअनुसार हिमतालहरूको बाँधको रूपमा रहेको पहाडको विशेषता, पानीको स्रोत, तालको फैलावट परिवर्तन र आसपासको भू–बनोट आदि विश्लेषण गरे जोखिमयुक्त हिमताल पहिचान गरिएको हो ।

केसीका अनुसार खतरा हुनसक्ने भनेका हिमतालहरूमध्ये ४२ वटा कोशी, तीनवटा गण्डकी र दुईवटा कर्णाली (काली /महाकाली) जलाधार क्षेत्रमा छन् । तिमध्ये कुनै हिमताल फुटे सम्बन्धित नदीको तल्लो क्षेत्रमा रहेका जलविद्युत् आयोजना, सडक, पुल, वस्तीहरू विनाश हुन्छ । निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका साढे छ हजार मेगावाटका ४६ वटा जलविद्युत् आयोजना यी जलाधार क्षेत्रमा छन् ।

९ सय मेगावाटको अरुण–३, तामाकोशी–३, टिए–३, ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ लगायतका जलविद्युत् आयोजनाहरू हिमनदीमा आधारित छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार इम्जाको विस्फोटन खतरा न्यूनीकरणका लागि तीन मिटर पानी घटाईएको थियो । ३२ करोडको लागतमा ईम्जा हिमतालको पानीको सहत घटाईएको थियो । इम्जाताल क्षेत्रमा गेट निर्माण, क्यानल निर्माण र क्यानल खोलेर पानी घटाइएको थियो ।





error: Content is protected !!