मानसिक स्वास्थ्यका लागि योग

महामारीको समयमा भाइरल संक्रमणबाट बच्न स्वस्थ जीवनशैली मुख्य विकल्प हो । स्वस्थ रहन पोषणयुक्त खानपान, व्यायाम र पर्याप्त निद्रा आवश्यक हुन्छ । यति बेला कोरोना महामारीका कारण मानिसको जीवनशैली प्रभावित भएको छ । क्वारेन्टाइन र आइसोलेसन बसाइले शरीरलाई चाहिनेभन्दा बढी विश्राम गर्नुपरेको छ, जसले शरीरमा प्रतिकूल असर पारिरहेको छ ।

लामो समयसम्म निष्क्रिय रहनु, खानपान असन्तुलन हुनु, तनाव तथा एन्जाइटीले स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । संक्रमण नियन्त्रणका लागि शरीरको प्रतिरोधी क्षमता बलियो बनाउनु नै मुख्य विकल्प हो । प्रतिरोधी क्षमता व्यक्तिको जीवनशैली र खानपानमा निर्भर गर्छ ।

प्रतिरोधी क्षमता बलियो राख्न शारीरिकसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिन जरुरी हुन्छ । पछिल्लो समय योगलाई स्वस्थ जीवनशैलीसँग जोडेर हेर्न थालिएको छ । योगले शारीरिक अभ्याससँगै मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउने भएकाले आजको समयमा योग अत्यावश्यकजस्तै भइसकेको छ ।

सकारात्मक प्रभाव

अन्य व्यायामको तुलनामा योगले व्यक्तिको मानसिक स्वास्थ्यमा निकै प्रभाव पार्ने गर्छ । योगका कारण दिमागमा रासायनिक परिवर्तन हुन्छ । योग गर्दा दिमागको कोशिकामा अवरोध पु¥याउने थाल्मोसदेखि अमिनोब्युट्रिक एसिडजस्ता तत्व बाहिर निकाल्न मद्दत गर्छ । योग अभ्यासले दिमाग शान्त राख्न, मुड परिवर्तन गर्न र एन्टी एन्जाइटीको भूमिका खेल्छ ।

थेरापीको उपयुक्त विकल्प

योग औषधि उपचार र विभिन्न थेरापीका लागि उपयुक्त विकल्प मानिन्छ । योग प्राकृतिक उपचार पद्धति हो, तुलनात्मक रूपमा सजिलो हुने, जुनसुकै व्यक्तिले जुनसुकै समयमा गर्न मिल्ने, शरीरदेखि मस्तिष्कलाई स्वस्थ राख्न ठूलो भूमिका खेल्ने भएकाले योगलाई थेरापीको विकल्प बनाउन सकिन्छ । योगाभ्यास गर्दा शरीर र मस्तिष्क दुवै सक्रिय रहन्छन्, जसले गर्दा मानसिक स्वास्थ्यमा सीधै प्रभाव पर्ने गर्छ ।

एन्जाइटी र डिप्रेसन

संक्रमणका कारण निम्त्याएको असामान्य परिस्थितिले अधिकांश व्यक्ति एन्जाइटी र डिप्रेसनसँग जुधिरहेका छन् । एन्जाइटीबाट बच्न योग महत्वपूर्ण विकल्पका रूपमा समेत प्रयोग हुन थालेको छ । सामान्यतः तनाव नियन्त्रणका लागि व्यायाम, योग, ध्यान, गहिरो सास लिनेजस्ता क्रियाकलाप गरिन्छ ।

यस्ता क्रियाकलापले स्नायुमा आउने असन्तुलन कम गरिरहेको हुन्छ । अध्ययनअनुसार दैनिक कम्तीमा १२ मिनेट योग गर्दा आठ हप्ताको अवधिमा कडा डिप्रेसन र अल्जाइमरको समस्या निकै कम भइसकेको हुन्छ । यस्तै नियमित योग गर्ने व्यक्तिमा एन्जाइटी र डिप्रेसनको समस्या हुँदैन ।





error: Content is protected !!