विकासभन्दा पनि नागरिक बचाउने बेला हो ः आचार्य

जाजरकोटमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो छ । ३ ओटा स्थानीय तहबाहेक अन्य सबै स्थानीय तहमा कोरोना संक्रमित भेटिइसकेको छ । जिल्लामा हाल ५० जना व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) पुष्टी भएको छ । कोरोना संक्रमण देखिएका अधिकांश स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, स्थानीय तहका कर्मचारी, प्रहरी, नेपाली सेनाको जनसम्पर्कमा आउने व्यक्तिहरु र प्रभावित जिल्लाबाट आएका व्यक्तिहरुको स्वाब संकलनको कार्यलाई अगाडि बढाइएको छ । जिल्लाको दुर्गम स्थानीय तह जुनिचाँदे गाउँपालिकाले पनि छिमेकी राष्ट्रबाट आएका नागरिकहरुको घर आँगनमै गएर स्वाब संकलन गरेको छ । जुनिचाँदे गाउँपालिका हालसम्म कोरोनामुक्त गाउँपालिकाको रुपमा रहेको छ । गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि गरेका गतिविधिबारे भेरीमालिकाले गाउँपालिका कार्यवाहक अध्यक्ष शिवा आचार्य बस्नेत सँग गरेको कुराकानीको सारसंक्षेप ः

१. आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
मलाइ सर्वप्रथम यसरी जुनिचाँदे गाउँपालिका सरकारको तर्फबाट आफना कुरा राख्न दिने अवसर दिनु भएकोमा धेरै–धेरै धन्यवाद व्यक्त गर्दछु । म अहिले जुनिचाँदेका ११ वटा वडाका जनताको बिचमा कोरोना भाइरस (कोभिड–१९) को विषयमा जनचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै नागरिकहरुका गुनासा सुन्न घरदैलोमा व्यस्त छु ।
जुनिचाँदे गाउँपालिकालाई अहिलेसम्म कोरोनामुक्त गाउँपालिका बनाउनुभएको छ । कसरी सम्भावना भयो ?
तपाइले भने जस्तै हामीले जुनिचाँदे गाउँपालिकालाई अहिलेसम्म कोरोना भाइरसमुक्त गाउँपालिकाको रुपमा लिएका छौँ । चैत्र महिनादेखि स्वास्थ्यकर्मीसहित सम्पूर्ण वडाहरुमा पुगेर सबैलाई सचेत रहन समेत आग्रह गरेका थियौँ । त्यही अनुसार गाउँपालिका कर्मचारी परिचालन गरेर विभिन्न नाकाहरुका कडाइका साथ अगाडि बढायौँ । अहिलेसम्म कोरोना नियन्त्रणका लागि हामीले सक्दो पहल गरिरहेका छौँ । बाहिरबाट आएका नागरिकहरुको पिसिआर दायरा फराकिलो बनाएका छौँ ।
पिसिआर परीक्षणका लागि आवश्यक किट प्रदेश सरकारसँग माग गरेका छौँ । हामीले क्वारेन्टाइन व्यवस्थापनदेखि हरेक कुरामा कर्मचारी, स्वास्थ्यकर्मीहरुको सहयोगले अहिलेसम्म कोरोनामुक्त गाउँपालिका भन्न पाएका छौँ ।
३. जुनिचाँदे गाउँपालिकामा विकास निर्माणका कामहरु के भइरहेका छन् ? तपाइको सरकार कोरोनामा मात्र व्यस्त भएको जनगुनासा छन्् नि ?
यो आपतको बेला त अहिले विकासभन्दा पनि नागरिक जोगाउने हो । कसले के भन्यो कस्ले के ग¥यो कसले गरेन भनेर आरोप प्रत्यारोप गर्ने बेला होइन । हामीले सबैलाई समन्वय गर्दै कामको गतिलाई पनि अगाडि बढाएका छौं । अहिले विकास निमार्णका काम ठप्प छन्् । आर्थिक कार्यादेश दिइएको छैन् । अहिले आर्थिक वर्षको सुरुवाती चरणमा भएकोले विकासको कामको सुरुवात भएको छैन । अहिले विकास निर्माणका कामलाई अगाडि बढाएर कोभिड रोकथाम तथा नियन्त्रण गर्न सक्ने अवस्था रहदैन । विकास निर्माणका कामलाई अहिले अगाडि बढाउँदा कोरोना समुदायमा गयो भने लामो समयसम्म निशेधाज्ञा जारी गर्नुपर्ने अवस्था आउँछ । मानिसहरुले रोजगारी पाएनन्, भोकमरी बढ्दै गयो भने विकास गर्ने कि मानवता जोगाउने ? अहिले प्रमुख कर्तव्य नागरिक जोगाउने हो । भर्खरै कार्यालयको अडिट हुँदैछ । देशमा कोरोना भाइरसले दैनिक भयानक रुप लिँदै गएको बेला जुनिचाँदे गाउँपालिकाले विकास निर्माणभन्दा नागरिकको जीउधनको लागि काम अगाडि बढाउँछ ।
४. जुनिचाँदेलाई कोरोनामुक्त गर्नको लागि नागरिकहरुले कस्तो भूमिका खेल्नुपर्ला ?
यहाँ सरकारले मात्र सबै काम गर्न सक्दैन । नागरिकहरु समेत आफ्नो ठाउँमा सचेत रहनुपर्छ । जोखिम न्यूनिकरणका लागि व्यक्ति र समुदाय पनि सचेत हुन जरुरी छ । भिडभाडमा जानु भएन । भौतिक दूरी कायम गर्नुप¥यो । स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुप¥यो । हामी जब आफ्नो रक्षाका लागि सचेत हुँदैनौँ तबसम्म जोखिम बढ्दै जान्छ । सरकारले त स्रोतसाधन र क्षमताले भ्याएसम्म गर्ने हो । यहाँका नागरिकहरुले आफ्नो ठाउँमा निकै सहयोग गर्नुभएको छ । जस्तै हाम्रो स्थानीय तहमा विभिन्न मुलुकबाट धेरै नागरिकहरु भित्रिनु भएको छ । उहाँहरु इमन्दारीपूर्वक क्वारेन्टाइनमा बस्नुभयो । जुनिचाँदे गाउँपालिकाले जारी गरेको निर्देशन मान्नु भयो र कोरोना भाइरसबाट सचेत रहेर गाउँपालिकालाई कोरोनामुक्त गर्नको लागि महत्वपूर्ण भुमिका खेलेको पाईन्छ । अझै जिल्लामा दैनिक संक्रमितको संख्या बढिरहेको बेला जुनिचाँदे गाउँपालिकामा रोग नआउला भन्न सकिँदैन यस्तो अवस्थामा यहाँका नागरिकहरुले हेलचक्र्याइ नगरी आगामी दिनमा पनि नागरिकहरुले सहयोग गर्नेमा मैले अपेक्षा गरेको छु ।
५. सरकारले जारी गरेको लकडाउन/निषेधाज्ञाले नागरिकहरुलाई कस्तो प्रभाव पा¥यो ? गाउँपालिकाबाट कस्ता राहतका प्याकेजहरु सञ्चालन गर्नुभएको थियो ?
– सरकारले गत चैत महिनामा जारी गरेको लकडाउन साउनसम्म लम्बियो । लकडाउनका कारण सम्पूर्ण नागरिकका उत्पादनशिल दैनिक गतिविधिहरू ठप्प नै भए । वास्तवमै कोरोनाको कहर सबै ठाउँका आम नागरिकमा उस्तै र समान रह्यो । त्यसकारण कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै थप उच्च सतर्कता अपनाउँदै हामीले सो अवधिमा प्रत्येक वडाहरुमा खाद्यान्न वितरणदेखी विकास निर्माणमा ज्याला प्रणालीमार्फत राहत प्याकेज वितरण गरेका थियौं । कोरोना महामारीबाट स्थानीय नागरिकलाई बचाउने कुनै विकृती भएका छैनन् । केही स्थानीयहरुले सरकारको विषयमा जथाभावी कुरा गर्दै आएका छन्् । धेरैै काम थोरै प्रचार–प्रसार गर्ने संस्कार जुनिचाँदेमा छ । हामीले नागरिकहरुका घरदैलोमा पुगेर वास्तविक पीडामा परेका नागरिकहरुलाई जस्तै बाटो खन्ने लगाएत अन्य योजना बनाएर ज्यालामा आधारित राहतका प्याकेज वितरण गरेका थियौँ । साथै मेरो गाउँपालिकामा खासै लकडाउनले प्रभाव पारेन । किनकी न ठुलो बजार छ । यहाँका नागरिकहरु आफ्नै काममा व्यस्त हुनुहुन्छ । काम नगर्नेको लागि लकडाउन हो ।
६. स्थानीय सरकारप्रति नागरिकहरुको अपेक्षा कस्तो छ ?
– देशमा अहिले संघीय शासन व्यवस्था पूर्ण रुपले कार्यान्वयन भएको छ । सबै स्थानीय तहहरूमा जननिर्वाचित जनप्रतिनिधिहरू आफ्नो काम सुरुवात गरेको ३ वर्ष पुरा भएका छन्् । आम नागरिकलाई सानो ठूलोे जे–जस्तो समस्या आइपरेपनि अहिले स्थानीय जनप्रतिनिधिहरूलाई सम्झिने बानी परिसकेको छ । आम जनताको घर आँगनमा भेटिने पनि स्थानीय जनप्रतिनिधि नै भएकाले अहिले सबैभन्दा धेरै आम नागरिकहरूले आशा, अपेक्षा र गुनासो गर्ने ठाउँ स्थानीय सरकार र जनप्रतिनिधिहरू नै हुने गरेको पाईन्छ ।
गाउँपालिकाका विभिन्न वडाहरुबाट रोजगारीको लागि र घरधन्दा सञ्चालनका निम्ति धेरै मान्छेहरू छिमेकी देश भारत र कोही नेपालका अन्य जिल्लामा विभिन्न पेसा व्यवसाय गरी बसेका थिए । तर नेपाल सरकारले जारी गरेको लकडाउनका कारण तिनिहरू घर आउन सकिराखेका छैनन् । स्थानीय सरकारलाई घर आउनका निम्ति अपिल र गुनासो गरिराखेका छन्् । यदि गाउँमा रहेका गाउँलेहरूका आफन्तहरू गाउँमा स्थानीय सरकारले ल्याउन सकेन भने स्थानीय सरकारले जति राम्रो काम गरेपनि ति आलोचनाका विषय मात्र बन्ने छन्् । त्यसैले गाउँमा अथवा आफ्नो घरमा आउन नसकेका नागरिकलाई उनीहरूको बासस्थानसम्म पु¥याउनुपर्ने विषय अहिलेका स्थानीय सरकारहरूलाई आएका छन् । घरआँगनको सरकार भएकोले स्थानीय नागरिकहरुका विभिन्न आशाहरु छन् ।
७. तपाईको स्थानीय तहमा भौतिक संरचनाको अवस्था के छ ? सबै वडा कार्यालयहरु भाडामा बसिरहेको छन् नि ?
ड्ड स्थानीय सरकारको काम कार्वाहीलाई सहज बनाउनका लागि तत्काल भौतिक पूर्वाधारहरूको व्यवस्थापन जताततै खड्किएको विषय हो । निर्वाचित पदाधिकारीहरू तथा एकीकृत सरकारी विषयगत कार्यालयहरूको स्थापना र सञ्चालनका लागि आवश्यक पर्ने कार्यालय भवन, फर्निचर लगायतका कार्यालय उपकरणहरूको अभावमा स्थापना गरिएका सरकारका विषयगत कार्यालयका शाखाहरू तथा वडा कार्यालयहरु अहिलेसम्म अत्यन्त अस्तव्यस्त अवस्थामा रहेका छन्् । पहिलो कुरा जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्रको विवाद सर्वाेच्चमा विचाराधिन अवस्थामा छ । स्थानीय तहमा पुगेका कर्मचारीहरू समेत कार्यालय कोठाहरूको अभाव लगायतका समस्याहरू तेस्र्याउँदै आएका छन् । स्थानीय सरकारको कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि वडा कार्यलयहरुको भवन निर्माणको केही काम सञ्चालन भएको छ । केही वडा कार्यालयहरुको टेण्डर प्रक्रिया सम्पन्न भएर काम सुरुवात हुने अवस्थामा छ ।
८. जुनिचाँदे गाउँपालिकाले अहिलेसम्म पिसिआर दायरा कति बढायो ?
– पछिल्लो समय संक्रमितको संख्या बढिरहेको बेला हामीले पिसिआरको दायरा बढाएका छौँ । जुनिचाँदे गाउँपालिकाका नागरिकहरुको जिउ ज्यानको लागि म स्वयं घरदैलो गर्दै घुम्ती शिविरको रुपमा स्वास्थ्यकर्मीसहित गाउँ–गाउँमा पुगेकी छु । हामीले जुनिचाँदे गाउँपालिका परालेबाट १३४ थान स्वाब संकलन गरेका थियौं । यस्तै देउसुलेबाट १ सय १६ जनाको स्वाब संकलन गरेका थियो । संकलन गरिएका दुई ठाउँका स्वाबको रिपोर्ट नेगेटिभ आएको जाकारी प्राप्त भएको छ । अन्य जुनिचाँदे गाउँपालिका ताँगाबाट १ सय १८ जनाको र गर्खाकोटबाट २ सय ४६ जनाको स्वाब अहिले चौरजहारी कोरोना प्रयोगशालामा पठाएका छौं । अहिलेसम्म कुल ६ सय ५९ जनाको पिसिआर नतिजा नेगेटिभ आएको छ । विभिन्न मुलुकबाट गाउँपालिकामा भित्रिएका नागरिकहरुलाई खोज्दै घरदैलोमा गएर पिसिआरको लागि स्वाब संकलन गरी पठाएका छौँ । त्यसैले पहिलाको अनुपातमा गाउँपालिकाले पिसिआरको दायरा बढाएको छ ।
९.अन्त्यमा तपाईले केही भन्न चाहनुहुन्छ ?
तपाईको भेरीमालिका दैनिकमार्फत जुनिचाँदे गाउँपालिकाले निर्माण गरेका र गर्न लागेका कार्यक्रमहरु सार्वजनिक गर्ने जुन अवसर दिनुभयो । म त्यसका लागि तपाई र तपाईको पत्रिकालाई म व्यक्तिगत र गाउँपालिकाको तर्फबाट हृदय देखिनै धन्यवाद ब्यक्त गर्न चाहन्छु । साथै नयाँ उर्जा हौसलाका साथ जुनिचाँदे गाउँपालिका निर्माणको अभियानमा जुटन सबै गाउँपालिकाबासीलाई हार्दिक आव्हान गर्दछु । जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्दछ । गाउँका नागरिक पनि हरेक विकास निर्माणका काममा सचेत हुनुपर्दछ । साथै विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सबै नागरिकहरु सजग रहनसमेत म हार्दिक अनुरोध गर्दछु । धन्यवाद !








