एउटै वडामा ३ सय पहिरो ?

रुकुम पश्चिम — लगातारको वर्षाले मुसीकोट नगरपालिका–९ मा करिब ३ सय ठाउँमा पहिरो गएको छ । सडकका साथै गोरेटाहरु समेत पहिरोले क्षतिविक्षत भएका छन् ।

करिब ४ सय घरधुरी रहेको वडामा जताततै पहिरो गएपछि बस्ती जोखिममा परेका वडाध्यक्ष नविन ओलीले बताए । ‘धेरैका घरहरु पहिरोले घेरिएका छन्, सामुदायिक भवन पनि जोखिममा परेका छन्,’ उनले भने, ‘क्षति कति भयो भन्ने अनुमानै गर्न सकिएको छैन, मुचुल्का उठाउने काम भइरहेको छ ।’

वडा कार्यालयले प्रारम्भिक रुपमा संकलन गरेको विवरण अनुसार करिब १ सय ५० परिवारको मकैबालीका साथै कागती, सुन्तला, अमिलो, अलैंची, बेसार, अदुवासमेत बगाएको छ । वडामा रहेका २ वटा विद्युत आयोजनामा पनि ठूलो क्षति पुर्‍याएको छ । पहिरोले स्वास्थ्यचौकी भवन र महिला भवन पुर्नुका साथै २० घर उच्च जोखिममा पारेको उनले बताए ।

स्थानीयबासीले बस्ती स्थानान्तरण गर्न माग गरेका छन् । बर्खाको बेला बर्सेनि जोखिम बढ्न थालेपछि अन्यत्र सर्नुको विकल्प नरेको स्थानीय लालबहादुर ओलीले बताए । वडाध्यक्ष ओली भने १० नम्बर वडा पनि उत्तिकै जोखिममा रहेकोले दुईवटै वडाका बस्तीलाई स्थानान्तरण गर्न छलफल भइरहेको बताउँछन् । मुसीकोट नगरपालिकाको वडा नम्बर ९ र १० साविकको चौखाबाङ गाविस हो ।

१० नम्बर वडाका वडाध्यक्ष गोपेश्वर केसीले सानो ठूलो गरी करिब १ सय स्थानमा पहिरो गएको बताए । उक्त वडामा रहेको विद्युत आयोजनामा पनि क्षति पुगेको छ । ७ घर परिवारले विस्थापित भएका छन् । ‘गाउँमा खनिएका सडक र भूक्षयको कारण ठूलो समस्या देखिएको छ,’ उनले भने, ‘बरु यो क्षेत्रलाई निकुन्ज बनाएर यहाँको बस्तीलाई अन्यत्र सार्नुको विकल्प छैन ।’





error: Content is protected !!