पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

सुशीला रेग्मी

रामपुर (पाल्पा), ११ भदौ ः पाल्पामा आयुर्वेद औषधी उपचार सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा धाउन थालेका छन् ।

आयुर्वेद औषधीमा विश्वास कम गर्ने र मेडिकल तथा अन्य अस्पतालमा सेवा लिन धाउने बिरामीहरु हिजोआज आयुर्वेद औषधालयमा सेवा लिने गरेको पाइएको छ ।

विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिको रुपमा रहेको चिकित्सा पद्धति आयुर्वेद चिकित्सा पद्धति मानिन्छ । यसले गर्दा पनि पछिल्लो समय आयुर्वेद उपचारमा धेरैको आकर्षण बढ्दो छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा ४० हजार ३३४, आ.व. ०७५÷०७६ मा ४८ हजार ९६२ र आ.व. ०७६÷०७७ मा ३० हजार १७५ जना बिरामीले विभिन्न सेवा लिएको पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज निरिक्षक माधवप्रसाद बस्यालले बताउनुभयो ।

गत आर्थिक वर्षमा कोरोना भाइरस सङ्क्रमणको कारणले गर्दा चार महिनाको अवधीमा सेवा लिन आउने बिरामी संख्या भने अन्य समयको तुलनामा कम रहेको उहाँले बताउनुभयो ।

“संख्यागत रुपमा गत आर्थिक वर्षमा कम रहेपनि बिगतका वर्षहरुमा आयुर्वेद औषधी उपचार कमैले गराउने गर्थे भने पछिल्ला वर्षमा आयुर्वेद औषधी उपचारमा सेवा लिने बढ्दो रहेको छ” उहाँले भन्नुभयो ।

पाल्पामा छ वटा आयुर्वेद औषधालयका शाखा र एक सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् । जसअन्र्तगत रामपुर नगरपालिका भित्र दुई वटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक÷एक वटा रहेका छन् ।

रामपुर आयुर्वेद औषधालयमा दैनिक २० देखि २५ जना बिरामी सेवा लिन पुग्ने गर्छन् । एक पटक सेवा लिन पुगेका बिरामी एक÷दुई महिनाको अन्तरालमा पुनः सेवा लिन आउने गरेको रामपुर नगरपालिकाका आयुर्वेद शाखा प्रमुख तथा कविराज चेमनप्रकाश पोखरेलले बताउनुभयो ।

पेट, ग्याष्ट्रिक, खाना मन नलाग्ने, गानोगोला जस्ता समस्या लिएर बिरामीहरु अस्पतालमा जाने गरेको उहाँको भनाई छ । आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेट सम्बन्धी समस्या लिएर आउने गरेका छन् ।

औषधालयमा ओपिडि, जनरल, स्तनपायी आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिक लगायतका सेवा प्रवाह भइरहेको छ । नेपाल सरकारको विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधीमध्ये आयुर्वेद औषधालयबाट २३ प्रकारका औषधी पाइन्छ ।

पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजित लगायतका विभिन्न वानस्पति वस्तुहरु मिसाएर बनाइएको औषधी स्वास्थ्यका लागि हित मानिन्छ । औषधालयमा कविराज र बैध एक÷एक, प्राबिधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ ।

विभिन्न अस्पताल तथा मेडिकलमा पुगेर औषधी उपचार गरेका बिरामी अहिले आयुर्वेद औषधालयबाट नियमित औषधी सेवन गरिरहेका छन् । गाउँघरमा पाइने बहुमुल्य वनस्पतिबाट तयार पारिएको आयुर्वेद औषधीको सेवन स्वास्थ्यका लागि राम्रो मानिएकाले अहिले नियमित रुपमा आयुर्वेद औषधी सेवन गरिरहेको हरिकला ढकाल बताउनुहुन्छ ।

“एउटा रोगको आयुर्वेदको औषधी खाएपछि अर्को रोग भएमा पनि त्यसले कुनै असर नगर्ने र नियमित आयुर्वेद औषधी प्रयोग गर्न थालेपछि मज्जाले खाना खान रुच्ने, शरीर नै स्वस्थ बनेको छ” उहाँले भन्नुभयो ।





error: Content is protected !!