पुल निर्माण नहुँदा सास्ती

रुकुम – पश्चिम जिल्लालाई राप्ती लोकमार्गले जोडेको झण्डै २ दशक पुग्यो । तर लोकमार्गअन्तर्गत सिम्रुतु–सोलाबाङ खण्डमा पर्ने पितिवाङखोलामा पुल नबन्दा यात्रुले हरेक वर्षामा ठूलो सास्ती भोग्दै आएका छन् ।

विशेषगरी साउनदेखि कात्तिक नलागेसम्म पितिवाङखोलाले यात्रु तथा मालबाहक गाडीलाई रोक्छ । खोलामा पुल नबन्दा घर नजिकै पुगिसकेका र जिल्लाबाहिर जानुपर्ने यात्रुहरु लामो समय खोला किनारमै बस्नुपर्ने बाध्यता भएको छ । ‘डोजर लगाएर गाडी नतारिएसम्म यात्रुहरु खोला किनारमै बस्छन्,’ स्थानीय कमल बुढाथोकीले भने, ‘बटुवाहरु पनि जोखिम मोलेर खोला तर्न बाध्य छन् ।’

वर्षायाममा खोला बढेसँगै स्थानीय युवाको किनारमा भीड लाग्छ । उनीहरुले मोटरसाइकल र स्कुटर तारेबापत प्रतिसवारी ५ सय रुपैयाँ लिने गरेका छन् ।

पितिवाङखोलाका कारण दैनिक सयौं यात्रुले दुस्ख पाइरहेको स्थानीय छवि केसीले बताए । ‘जिल्ला अस्पताल जाने र अस्पतालबाट बाहिर रिफर गरेका बिरामीले समेत खोलाकै कारण ज्यान गुमाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘सडक कालोपत्रे भएर पनि उप्किसक्यो, पुल भने अझैं बनेन ।’

पुल निर्माणमा ढिलाइ

पितिवाङखोलामा सडक सँगसँगै पुल पनि बन्नुपर्ने हो । सडक बनेको झण्डै १७ वर्षपछि पुल निर्माणको ठेक्का लाग्यो । तर पुलको काम अझैं सुरु नहुँदा यात्रुले यो वर्षामा पनि दुस्ख पाएका हुन् ।

सडक डिभिजन कार्यालय, चौरजहारीले गत वर्ष मोटरेबल पुल निर्माणका लागि संरक्षण निर्माण सेवासँग सम्झौता गरेको थियो । २०७८ वैशाख ८ गतेभित्र पुल निर्माण गर्ने गरी ५ करोड २८ लाख रुपैयाँमा सम्झौता गरिएको कार्यालयले जनाएको छ । ठेकेदार कम्पनीलाई पुल निर्माणलाई तीव्रता दिन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए ।





error: Content is protected !!