जनचाहना र जनाकाङ्क्षानुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा तीजले सार्थक भूमिका खेल्ने अपेक्षा – पुर्वमन्त्री पहाडी


काठमाडौँ ः पुर्व शान्ति तथा पुर्ण निर्माणमन्त्री एवं प्रतिनिधिसभा सदस्य सत्य पहाडीले तीज जस्ता पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले पारिवारिक रुपमा मात्रै मनाउन आग्रह गर्नुभएको छ । हरितालिकाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै पुर्व शान्तिमन्त्री ले कोभिड—१९ को जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको पूर्णतः पालना गरेर अघि बढ्न आग्रह गर्दै उहाँले कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको तीज विगतमा झैँ भव्य ढङ्गले मनाउन सकिने बताउनुभयो ।
जनचाहना र जनाकाङ्क्षानुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा तीजले सार्थक भूमिका खेल्ने अपेक्षा गर्दै उहाँले विगतका सङ्घर्षबाट प्राप्त उपलब्धिको सही प्रयोग गरेर समतामूलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा जुट्न आग्रह गर्नुभएको छ ।
“यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका हुन्छन् भन्ने मेरो विश्वास छ”, सन्देशमा भनिएको छ, “हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक छ ।”
तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक र जातीय विभेद लगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभएको छ ।










